१ पुस २०८१ सोमबार
image/svg+xml
समाज

खोटाङमा निर्वाचन सामग्री ढुवानी सुरु

निर्वाचन सामग्री बुझ्दै मतदान अधिकृतहरु। तस्विरः महेश्वर चामलिङ राई।

पहाडी जिल्ला खोटाङका मतदात अधिकृतहरुले निर्वाचन सामग्री बुझेका छन्। मंसिर ४ गते हुन गईरहेको आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि आवश्यक चुनावी सामग्री मतदान अधिकृतहरुले बुझेका हुन्।

जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालय खोटाङले जिल्लाका सबै मतदान अधिकृतलाई बोलाएर मंगलबारदेखि निर्वाचन सामग्री बुझाउन थालेको जनाएको छ। यो क्रम बुधबार पनि जारी रहेको र बिहीबारसम्म बितरण गर्ने कार्यालले जनाएको छ। सामग्री बुझेका मतदान अधिकृतहरुले आ आफ्नो केन्द्रतर्फ ढुवानी गर्न थालेको पनि कार्यालयले जनाएको छ।

जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले हरेक मतदान केन्द्रमा लानका लागि ६२ प्रकारका सामग्री हस्तान्तरण गरिएको बताए। उनका अनुसार पहिलो दिन मंगलबार जिल्लाका जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकाका मतदान अधिकृत तथा सहायक अधिकृतलाई बोलाएर निर्वाचन सामग्री बुझाइएको छ। उनीहरुलाई निर्वाचन सम्पन्न गर्न चाहिने मतपेटिका, छेका बार, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छाप, स्टाम्प प्याड, त्यसमा लाग्ने मसी, मार्कर पेन, स्केल मेटल, कैँची, ग्लुस्टिक, पँचिङ मेसिनलगायत ६२ प्रकारका सामग्री हस्तान्तरण गरिएको छ।

बुधबार पनि सामग्री बितरण गरेको निर्वाचन कार्यालयले बिहीबारसम्म सबै मतदान केन्द्रलाई सामग्री हस्तान्तरण गरिसक्ने जनाएको छ। बुझाइएको निर्वाचन सामग्री जिम्मा लिएका मतदान अधिकृतहरुले सम्बन्धित केन्द्रतर्पm हिडाईसकेको पनि गौतमले बताए। सदरमुकाम र आसपासका नजिकमा रहेका केन्द्रहरुलाई भने बिहीबारभित्र सामग्री बितरण गरिसक्ने कार्यालयको योजना छ। १ मंसिरभित्र सबै मतदान केन्द्रका लागि आवश्यक निर्वाचन सामग्री पुगिसक्ने गरी पठाइने उनको भनाई छ।

निर्वाचन कार्यालयका अुनसार खोटाङमा १ लाख ४२ हजार ७ सय ९२ मतदाता रहेका छन्। जसमा पुरुष ७४ हजार ९ सय २७ र महिला ६७ हजार ८ सय ३५ रहेका छन्। जिल्लाभरी १ सय ३६ मतदानस्थल र २ अस्थायीसहित १ सय ९६ मतदान केन्द्र रहेको गौतमले बताए।

शान्तिपूर्ण चुनाव गराउने उदेश्यले निर्वाचन कार्यालयले नमूना मतदान कार्यक्रम पनि सम्पन्न गर्दैछ। जस अनुसार जिल्लाका विभिन्न स्थानीयतहमा पालैपालो नमूना मतदान कार्यक्रम सञ्चालन गरेको जनाएको छ। मतदान गर्ने तरिका, मत बदर हुन नदिन सचेत गराउन र सुरक्षाकर्मीलाई मतपत्र, मतपेटिका र मतदाताको सुरक्षा गर्न अभ्यासको रुपमा १० वटै स्थानीयतहमा नमूना मतदान कार्यक्रम सञ्चालन गरिरहेको कार्यालयले जनाएको छ।

त्यसका लागि सदरमुकाम दिक्तेलमा मंगलबार नमूना मतदान कार्यक्रम गरिएको छ। यसअघि जिल्लाका बाराहपोखरी, जन्तेढुंगा, खोटेहाङ, दिपुङ चुईचुम्मा, साकेला, रावाबेंशी, केपिलासगढी र ऐसेलुखर्क गाउँपालिकामा नमुना मतदान गराईसकेको गौतमले बताए। बिहीबार हलेसी तुवाचुङ नगरपालिकामा नमुना मतदान गराउने कार्यक्रम रहेको कार्यालयले जनाएको छ। 

मंसिर ४ को चुनावलाई लक्षित गरी नमूना मतदान कार्य सञ्चालन गरिएको हो। जसमा मतदान अधिकृत, सहाययक मतदान अधिकृत, सुरक्षाकर्मी, कर्मचारी र अन्य सरोकारवालाहरुलाई सहभागी गराइएको छ। नमूना मतदानले निर्वाचनमा आउने प्राविधिक समस्या पहिचान गरी समाधानको उपाय निकाल्नुका साथै स्वतन्त्र, निश्पक्ष र भयरहित चुनाव सम्पन्न गर्न सहयोग पुग्ने अपेक्षा निर्वाचन कार्यालयले गरेको छ।

प्रकाशित: ३० कार्तिक २०७९ १७:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App