५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

पोखराका चारठाउँमा छठ मनाउने तयारी

पोखरामा यस वर्ष चार ठाउँमा सामुहिक छठ पूजा गरिने भएको छ। नेपालको तराई तथा भारतको विभिन्न ठाउँमा स्थायी घर भई पोखरामा बसोबास गर्दै आएकाहरुले फरकफरक चार ठाउँमा सामुहिक छठ पूजा गरिने भएको हो।  

उनीहरुले पर्यटकीय प्रमुख आकर्षक गन्तव्य फेवाताल, सेती नदी, कालीखोला र भद्रकाली मन्दिर नजिक रहेको माछापोखरी किनारमा छठ मनाउने तयारी गरेका हुन । यसअघिका वर्षहरुमा फेवाताल, सेती नदी र कालीखोलामा मात्रै सामुहिक छठ पूजा गर्ने गरिएको थियो। तर यस वर्ष छठ पूजा स्थल माछापोखरी थप भएको हो। 

यसअघि फेवातालमा नेपाल–भारत (एनवी) व्यवसायी समितिको आयोजनामा पोखराको फेवा किनारमा रहेको केदारेश्वर महादेवमणी परिसर, निलकण्ठ महादेव छठपूजा समितिको आयोजनामा सेती नदी किनार र त्रिवेणी घाट छठ पूजा समितिको आयोजनामा कालीखोला किनारमा छठ पूजा गरिदै आएको थियो। तर यस वर्षदेखि चार वटै स्थानमा संयुक्त रुपमा पोखरा छठ पूजा समितिको नामबाट छठ पूजा ब्यबस्थापन गरिएको समितिका अध्यक्ष रामआधार गुप्ताले जानकारी दिए। छठ पूजालाई उत्सव मात्र नभई महोत्सव बनाउन चाहन्छौं,’ उनले अगाडि भने, ‘पोहोरसम्म हामी छुट्टाछुट्टै रुपमा व्यवस्थापन गथ्र्यौं तर यस वर्षदेखि सबै ठाउँमा संयुक्त रुपमा व्यवस्थापन गर्दैछौं।’ छठ पूजा व्यवस्थापनमा पोखरा महानगरपालिकाकोपनि साथ र सहयोग रहेको उनले बताए।

पूजाको तयारी अन्तर्गत बुधबार र विहीबार चार वटै पूजा स्थल वरपर सरसफाई गरिएको थियो। व्रतालुलाई बस्न मिल्नेगरी पूजा स्थलमा टेन्ट हाल्नुका साथै बिजुली वत्ती, पानीको ब्यबस्था गरिएको समितिका कोषाध्यक्ष दीनेश चौधरीले जानकारी दिए। साथै पूजा स्थल वरपर ध्वजापताकाले पूजा स्थललाई झिलिमिली पारिएको उनले बताए। पोखरा बजारबाट केहि टाढा दुलेगौंडा, गगनगौंडा, भरतपोखरीलगायतका क्षेत्रबाटपनि व्रतालु आएर बस्ने भएकाले बस्न मिल्नेगरी पूजा स्थल बनाइने गरिएको छ । व्रतालुलाई सुत्ने र खानेको प्रबन्धसमेत गरिएको समितिले जनाएको छ।

 पोखरामा शुरुमा सेती किनार नारायणस्थान मन्दिर परिसरबाट छठ पूजा शुरु भएको हो। तर पछिल्लो क्रममा भीड बढ्दा अन्य ठाउँहरुमा छठ पूजा स्थल बिस्तार गर्दै लगिएको हो। खास गरेर फेवाताल किनारमा भारतीयहरुको बाक्लो सहभागिता रहन्छ भने सेती नदी र कालीखोला किनारमा नेपालको तराई मूलका व्रतालुको बाक्लो सहभागिता रहने गरेको छ । पोखराका विभिन्न ठाउँमा छठ पूजा गर्न थालेपछि पछिल्लो क्रममा छठका लागि घर फर्कनेको संख्या ह्वात्तै घटेको छ। पहिलेपहिले छठका लागि अधिकांश तराईबासी तथा भारतीय घर जाने भएपनि अहिले ७० प्रतिशतले पोखरामै छठ मनाउने गरिएको दाबी गरिन्छ। 

चारदिनसम्म मनाइने छठ पर्वको पहिलो दिन शुक्रबार अर्वाअवाईन, दोश्रो दिन शनिबार खरना, तेश्रो दिन आईतबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिईन्छ भने चौथो दिन सोमबार उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व समापन हुन्छ।  पोखरामा तराई र भारतीय मूलका बाहेक पहाडी मूलकाहरुले पनि छठ पूजा गर्ने गरेका छन् । यद्वपी यो संख्या ज्यादै न्यून रहेको छ।  सूर्यको उपासना गरिने छठ पूजामा फलफूल, कन्दमूल, ठेकुवा, कसारलगायत चढाउने गरिन्छ।

प्रकाशित: १२ कार्तिक २०७९ ०९:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App