जिल्ला प्रशासन कार्यालय महोत्तरीले भँगाहामा अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ।
बिहीबार बिहान दुई समुदायबीच झडपले साम्प्रदायिक सुरक्षामा खलल पुग्ने वातावरण सिर्जना भएकोले शान्ति सुरक्षाको स्थितिलाई भंग हुन नदिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले भँगाहामा दिउँसो चार बजेदेखि अनिश्चितकालीन कफर््यु जारी गरेको हो।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीद्वारा जारी कर्फ्यु आदेशमा साम्प्रदायिक सद्भाव खलल पुग्ने गरी बिहीबार भँगाहामा दुई पक्षबीच झडप भएको जनाइएको छ। शान्ति सुरक्षाको स्थिति भंग हुने अवस्था सिर्जना भएकाले कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी पहाडीले जनाएका छन्।
जिल्ला प्रशासन कार्यालयका अनुसार दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तर पूर्व ब्रह्मस्थान पररिया र उत्तरमा धर्मपुरभन्दा दक्षिणको भाग, पूर्वमा लोहारपट्टी नगरपालिका वडा नम्बर १ बगडा चोक र पश्चिममा इलाका प्रहरी कार्यालय, लोहारपट्टीनजिकैको पुलसम्म कर्फ्यु आदेश जारी गरिएको छ।
कर्फ्यु जारी भएका स्थानमा भेला, जुलुस, प्रदर्शन, घेराउ, ¥याली र सभा नगर्न प्रशासनको आदेशमा भनिएको छ। कर्फ्यु उल्लंघन हुने कार्य गरेमा कडा कारबाही हुने प्रशासनको आदेशमा उल्लेख छ।
कर्फ्यु आदेशसँगै भँगाहामा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। कर्फ्युको आदेश उल्लंघन नगर्न माइकमा पनि सर्वसाधारणलाई सचेत बनाइएको छ।
कर्फ्यु आदेश जारी भएपछि भँगाहाको स्थिति तनावग्रस्त नरहेको सुरक्षा निकायले जानकारी गराएको छ।
प्रकाशित: ११ कार्तिक २०७९ ०४:०९ शुक्रबार