६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

मधेसमा ‘भरदुतिया’ पर्व उल्लास

लहानमा बहीनीले दाजुलाई र दिदीले भाइलाई सप्तरंगी टीका लगाइदिँदै भाइबाट न्यौत ग्रहण गर्दै।

मधेसमा बिहीबार ‘भरदुतिया’ पर्व उल्लासका साथ मनाइएको छ। मधेसमा तिहारको अन्तिम दिन भरदुतिया (भ्रातृद्वितीया) मनाइन्छ। पहिलो दिन दियावाती (दीपावली), दोस्रो दिन हुराहुरी मनाइएको थियो। तेस्रो दिन भरदुतिया (भ्रातृद्वितीया) मधेसभरी उल्लासपूर्वक मनाइएको छ।

यस पर्वलाई भाइदुज, भरदुतिया, भ्रातृद्वितीया, भाइटीकाका नामले मधेसी समाजमा मनाइदै आइएको छ। दिदीबहिनीले दाजुभाइको गलामा मखमली माला र निधारमा सप्तरंगी टीका लगाइदिएपछि दाजुभाइले दिदीबहिनीलाई नगद, कपडा लगायतका उपहार दिन्छन्। यस दिन दाजुभाइ दिदीबहिनीको घरमा भार (मिठो पकवानसहितका सनेस) लिएर पुग्ने चलन अझै मधेसी समाजमा कायमै छ।

भरदुतीयामा दिदीबहिनीले घरआँगन लिपेर चोख्याउँछन्। आँगनमा पिर्का राखेर त्यसमाथि अरिपन (माटो घोलेर बनाइने मैथिली चित्र) बनाएर सिन्दूरको थोपा लगाइन्छ। दिदीबहिनीले दाजुभाइको गोडा पानीले धोइदिन्छिन् र अरिपन दिएको पिर्कामा बसाउँछन्। त्यसपछि दाजुभाइको अञ्जुलीमा पानको पात, सुपारी, फलफूल राखिदिन्छन्। अनि पानी चुहाउँदै परिक्रमा गर्छन् जसलाई न्यौत (निमन्त्रण दिनु) भनिन्छ।

त्यसपछि दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरंगी टीका र माला लगाइदिएर दीर्घायुको कामना गर्छन्। ‘गंगा नोतय छैथ यमुना के, हम नोतय छी भाई कें जहिना जहिना गंगा–यमुना केँ धार बहय, तहिना हमर भाय सबहक औरदा बढ्य’ आफ्नो दाजुभाइको दीर्घायुको कामना यसरी नै गर्दै दिदीबहिनीले यो पर्व मनाउने गर्छन्।

यमराजलाई आफ्नी बहिनी यमुनाकहाँ जाने साइत जुरिरहेको थिएन्। एक दिन यमुनाले निमन्त्रणा दिई यमराजलाई आफ्नो घर बोलाइन्। र, मीठा–मीठा परिकारहरु बनाएर खुवाइन्। यो दिन कात्तिक शुल्क पक्षको द्वितीया तिथि थियो। यमुनाद्वारा गरिएको आतिथ्यबाट प्रसन्न हुँदै यमराजले यमुनालाई वरदान माग्न भने। यमुनाले प्रत्येक वर्ष यो तिथिमा आफ्नो घर आउनका लागि भनिन्।

उनले दिदी बहिनीले यो दिनमा आफ्नो दाजु भाइलाई आदर सत्कार गरी टीका लगाउने गरे तपाईंको भय नहुने वरदान मागिन्। यमराजले तथास्तु भनेर यमुनालाई अमूल्य वस्त्राभूषण दिएर यमलोक फर्केको किंदन्तीहरुमा उल्लेख छ। सोही दिनबाट यो पर्व मनाउने परम्परा सुरु भएको मानिन्छ। त्यही परम्पराअनुसार भरदुतियाका दिन दाजुभाइले दिदीबहिनीलाई गच्छे अनुसार रुपैयाँ, गरगहना, लुगा सनेस (उपहार) दिएर भरदुतिया पर्व मनाउँदै आएको छ।

प्रकाशित: १० कार्तिक २०७९ ०८:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App