१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

बाढी प्रभावित बस्तीमा छैन चाडबाडको उल्लास

कञ्चनपुरको लालझाडी गाउँपालिका–३ नन्दगाउँका लोकबहादुर बडायकलाई दसैँले छोएको छैन। उनलाइ भदौ ३१ गते दोदा नदीमा आएको बाढीले क्षति पुर्‍याएको धानबाली काट्नमा व्यस्त छन्। “बाढीले धान पूरै ढलाएर माटो भरियो, अहिले काटेर घाममा सुकाउँदै छौँ”, उनले भने, “बाढीले कच्ची घर ढल्ने जस्तो भइसक्यो, त्रिपालमुनि रात काट्छौँ, चाडबाड आएजस्तो लागेको छैन।” 

बाढीले विस्थापित बनेका शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका १५ परिवार गाउँ नजिकैको जनजागरण सामुदायिक वनमा त्रिपालमुनि आश्रय लिएर बसेका छन्। बाढीले गर्दा यस वर्षको चाडबाड खल्लो भएको एकान्त टोलका हरिकृष्ण भट्ट बताउछन्। “वर्षमा एक दिन आउने चाडबाड आउँदा खुसी हुनु पर्ने हो, यसपटक बाढीले चाडबाड खल्लो बनाएको छ”, उनले भने, “बाढीपछि घर फर्किनै पाएका छैनौँ, जङ्गलमा त्रिपालमुनि रात काटिरहेका छौँ।” घरभित्रका लत्ताकपडा, खाद्यान्न सबै बनहरा नदीमा आएको बाढीले बगाएको उनको भनाइ छ।

“बाढीले खेत र घरभित्रको सबै बाली सखाप पार्‍यो, खान–बस्नलाई समस्या छ, यसपालि इष्टमित्र कसैलाई बोलाउँदैनौँ”, उनी भन्छन्, “आए भने पनि कहाँ बसाल्ने र के खुवाउने भन्ने चिन्ता छ।” नेपालीहरुको महत्वपूर्ण ठूलो चाड दसैँको चहलपहल सबैतिर बढेको छ। वर्षमा एक पटक आउने चाडबाडले गाउँ–सहरमा उत्साह ल्याएको छ। तर कञ्चनपुरका बाढी प्रभावित बस्तीमा भने दसैँमा सुनसान छ।

 भदौ ३१ गते बनहरा, स्याली, मछेली, दोदालगायत नदीमा आएको बाढीले कञ्चनपुरको शुक्लाफाँटा, लालझाडी, बेलौरी र पुनर्वास नगरपालिकाका पाँच सयभन्दा बढी परिवार प्रभावित भएका थिए। अझै बाढीको डरले गाउँमा फर्किन नसकेको एकान्त टोलका मेघु बोहरा बताउछन्। “अझै पानी पर्ने भनिरहेका छन्, फेरि के पो हुन्छ भन्ने डरले त्यहाँ गएका छैनौँ”, उनले भने, “बिहान बेलुकाका छाक टार्न मुस्किल छ, चाडबाड कसरी मनाउने ?” विगतका वर्षमा हर्षोल्लासका साथ चाडबाड मनाउने गरेको उनले बताए। यस वर्ष बाढीले पीडा दिएको छ।

“पहिले त जसोतसो चाडपर्व त राम्रोसँग बनाउँथ्यौँ, अहिले मन हुँदाहुँदै पनि चाडपर्व मनाउन सक्ने अवस्था छैन”, उनले भने, “मीठो–मसिनो पकाउने त टाढाको कुरो, बिहान बेलुकीको छाक टार्न पनि मुस्किल छ।

प्रकाशित: १७ आश्विन २०७९ १४:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App