५ असार २०८१ बुधबार
image/svg+xml
समाज

धुलो र धुँवाले बिथोल्छ दैनिकी

काठमाडौं- सरकारी बेबास्ताकै कारण काठमाडौं उपत्यकाको वायु अत्यधिक प्रदूषित बनेको छ। सवारीसाधनको अत्यधिक धुवाँ र धुलोले राजधानीवासीको दैनिकी निकै कष्टकर भएको विज्ञहरूले आरोप लगाएका छन्।सडकमा अनियन्त्रित सवारी, अव्यवस्थित सडक विस्तार, जनतामैत्री विकास हुन नसक्नुलगायत कारण देखाउँदै 'उपत्यका धुले सहर'मा परिणत भएको उनीहरूले बताएका हुन्। 'सडक विस्तार र भूकम्पपछि काठमाडौं उपत्यकाको वायु अत्यन्त प्रदूषित भयो,' त्रिभुवन विश्वविद्यालय, वातावरण विज्ञानको केन्द्रीय विभाग प्रमुख प्राध्यापक डा. केदार रिजालले भने, 'सरकारले विकासका नाममा काठमाडौंमा अलिअलि बाँकी हरियाली पनि नष्ट गर्योर, तर रुखबिरुवा रोप्नेतिर कहिल्यै ध्यान दिएन।'

काठमाडौंको भौगोलिक अवस्था कचौराजस्तो भएकाले उपत्यकामा धुलो लामो समय जम्छ। सामान्यतया मनसुनी वर्षाले उपत्यकामा जमेको धुलो सफा गर्छ। अहिले सुख्खा लागेकाले उपत्यकाको वायुमा अत्यधिक मात्रामा धुलो छ। तर सरकारले वायु प्रदूषण समाधानको उपाय नखोजेको रिजालको आरोप छ। उनले भने, 'कमजोर ट्राफिक व्यवस्थापन र कम गुणस्तरको पेट्रोलियम पदार्थ उपभोग गर्दा पनि समस्या बढेको हो। जैविक इन्धनको साटो विद्युतीय प्रविधि भिœयाउन सरकारले कहिल्यै प्रोत्साहन गरेन।'

गत वर्षको भूकम्पले उपत्यकाको वातावरणीय प्रदूषण अझै बढाएको उनले बताए। 'सवारी, सडक विस्तार मात्र होइन भूकम्पमा भौतिक संरचनाको क्षतिले उपत्यका अत्यधिक असर पार्योउ,' उनले थपे। सरकारले उपत्यका भित्रका इँटा भट्टामात्र व्यवस्थित गरे पनि वायुमा धुवाँको मात्रा बिस्तारै घट्ने सुझाव उनको थियो।

वातावरणविद् भूषण तुलाधर पनि अहिलेको मुख्य समस्या नै सडकको धुलो रहेको भन्दै सरकारले जनतामैत्री विकास गर्न नसक्दा वायु प्रदूषण बढेको बताए। सरकारसमेत संलग्न एउटा अध्ययनले काठमाडौं उपत्यकामा ४० प्रतिशत सर्वसाधारण पैदल हिँड्ने देखाएको बताउँदै तुलाधरले औसतमा एक उपत्यकावासीको दैनिक हिँडाइ करिब ५ किलोमिटर मात्र रहेकाले पैदल हिँड्न सहज वातावरण बनाउनुपर्ने उनले बताए।

उपत्यकाको यातायात प्रणाली सवारीसाधनमैत्री मात्र भएको र फुटपाथ तथा साइकल लेन प्राथमिकतामा नपरेकोमा आक्रोशित छन् तुलाधर। 'यहाँका सडक सवारीसाधनमैत्री छन्,' उनले भने, 'यसो हुनु भनेको वायु प्रदूषण अझै बढ्नु हो। डिजेलको धुवाँ हानिकारक रसायनयुक्त हुने भएकाले डिजेलबाट चल्ने सवारीसाधन घटाउनु पर्छ,' उनले सुझाव दिए।'

त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक साधना प्रधानांगले पनि अव्यवस्थित सडक विस्तारले काठमाडौंमा वायु प्रदूषण चर्किएको आरोप लगाइन्। उनले भनिन्, 'सडक नबनुन्जेल काठमाडौंले ठूलै रोग पालेर बस्नुपर्ने अवस्था छ।' घरमा झ्याल ढोका बन्द गर्दा पनि धुलो धुवाँको समस्या कम नभएको उनले बताइन्। काठमाडौंमा इँटा कारखानाको धुलो र धुवाँ, सडकको धुलो र सवारीसाधनको धुवाँ नै वायु प्रदूषणका मुख्य कारक रहेको उनले बताइन्।

सवारीसाधनबाट हुने वायु प्रदूषण न्यून पार्न सरकार अक्षम भएको उनको आरोप छ। 'ग्रिन स्टिकर'को प्रभावकारी कार्यान्वयन नहुनुमा सरकार नै मुख्य दोषी उनले देखाइन्।

सहर र सडक व्यवस्थापनमा सरकारले आँखा चिम्लनु नै वायु प्रदूषण बढेको उनको आरोप छ। 'सडक विस्तारबाहेक सरकारले केही गरेन। सडकको धुलोले नै काठमाडौंवासी बिरामी बनाएको छ,' उनले दोष लगाइन्, 'सहर व्यवस्थित गर्न सरकार अग्रसर नहुन्जेल केही हुँदैन।'

पुतलीसडक, सोह्रखुट्टे र महाराजगन्जचोकमा सडक विस्तारले अत्यधिक वायु प्रदूषण भएको क्लिन इनर्जी नेपाल र क्लिन एयर नेटवर्क नेपालको दुई वर्षअघिको अध्ययनले देखाएको थियो। राजधानीका मुख्य तीन चोकमा गरिएको अध्ययनकै बेला सरकारले विस्तारका लागि सडक भत्काएको थियो।

तीनमध्ये पुतलीसडक सबैभन्दा बढी प्रदूषित भएको अध्ययनले देखाएको थियो। त्यहाँको वायु प्रदूषण माप गर्दा मापदण्डभन्दा ७ गुणा र विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ६ गुणा बढी प्रदूषित भएको पाइएको थियो। काठमाडौंमा अहिलेसम्म २ सय ४० किलोमिटर सडक विस्तार भइसके पनि सबैतिर कालोपत्रे छैन।

काठमाडौंमा अहिले अत्यन्त साना अर्थात् २.५ माइक्रोमिटर (पिएम २.५) भन्दा सानो आकारका धुलोकण रहेको अध्ययनहरूले देखाएका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यस्ता कणले जाडो मौसममा बढी प्रभावित पार्ने सार्वजनिक गरेको थियो।

अमेरिकास्थित येल विश्वविद्यालयको वातावरणीय अवस्था सूचकांक २०१४ ले काठमाडौंको वायु बंगलादेशपछि सबैभन्दा प्रदूषित औंल्याएको थियो। आन्तरिक सवारीसाधन वृद्धिलाई पनि धुलो बढ्नुको एउटा कारण देखाइएको छ। पछिल्लो एक दशकमा राजधानीमा मोटरसाइकल, बस, ट्रक, जिप, कारलगायत सवारीको संख्या तेब्बर वृद्धि भएर करिब ७ लाख पुगेको छ।

नेपाली विद्यार्थी अनोभा गुरुङ र येल विश्वविद्यालयका प्राध्यापक मिचेल एल बेलले गरेको अध्ययनले तीव्र सहरीकरण र अत्यधिक सवारी चापले प्रदूषण बढेको निष्कर्ष निकालेको थियो। अध्ययनमा २.५ माइक्रोमिटरका कण धेरै पाइएको गुरुङले बेलायती अखबार गार्जियनसँग बताएकी थिइन्।

प्रकाशित: २७ वैशाख २०७३ २०:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App