२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

‘सफा हिमाल अभियान’मा सहयोग गर्ने फक्ताङलुङ सहितका पालिकालाई सेनाको प्रशंसापत्र

‘सफा हिमाल अभियान’मा सहयोग र सहकार्य गर्ने पालिकाहरुलाई नेपाली सेनाले प्रशंसापत्र प्रदान गरेको छ। अभियान अन्तरगत नेपाली सेनाले कञ्चनजंघा हिमालको आधार शिविर तथा माथिल्लो शिविरबाट संकलन गरेको करिब साढे १५ क्विन्टल मध्ये सड्ने र कुहिने प्रकृतिको ३ हजार १७ किलोग्राम फोहोर फक्ताङलुङ गाउँपालिकाबाट व्यवस्थापन गरिएको थियो।  

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मामार्फत यहाँ पठाइएको प्रशंसापत्र फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन (मुक्ति) लाबुङलाई बिहीबार नेपाली सेनाको यहाँस्थित भीमकाली गुुल्मका गुल्मपति अदित श्रेष्ठले हस्तान्तरण गरे। नेपाली सेनाले ‘सफा हिमाल अभियान, २०२२’ अन्तर्गत कञ्चनजंघा सहितका ४ वटा  हिमालबाट ३० हजार ३ सय ४४ किलोग्राम फोहोर संकलन गरेको थियो। सेनाले गत चैत २२ गतेदेखि जेठ ५ गतेसम्मको अवधिमा सगरमाथा, कञ्चनजंघा ल्होत्से, र मनास्लु हिमालबाट उक्त मात्रामा फोहोर संकलन गरेको थियो। कञ्चनजंघा हिमालको आधार शिविर तथा माथिल्लो शिविरबाटमात्रै कूल १५ हजार ३ सय ७३ किलोग्राम फोहोर संकलन भएको थियो।  

उक्त अभियानकै क्रममा कञ्चनजंघा आधार शिविरमा रहेको पहिचान नखुलेको २ वटा मानव अस्थिपञ्जर भने जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा बुझाएको थियो। प्रहरीले अस्थिपञ्जरको सनाखतका लागि सार्वजनिक आवहन गरेपनि कोहिलकसैको दावी परेन। अभियान अन्तरगत क्याम्पिङ लिडर नेपाली सेनाका सेनानी समिरबहादुर बस्नेत  र बेस क्याम्प म्यानेजर सेनानी मुरारी सापकोटा थिए। सफा हिमाल अभियान अन्र्तगत नेपाली सेनाबाट राजदल गणमा कार्यरत सहसेनानी राजु श्रेष्ठ र सैनिक उच्च शिखर शिक्षालयमा कार्यरत अमित थापाले ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजंघा हिमालको सफल आरोहण गरेका थिए। यस्तै शेर्र्पाबाट सोलुखुम्बु कुरिमाका छिरिङजाङ्वु शेर्पा, खुुम्जुङका निमाछिरिङ शेर्पा, सोताङका छेवाङ शेर्पा र संखुवासभाका फुर्वा शेर्पाले सफाइ अभियानका क्रममा हिमालको आरोहण गरेका थिए।

प्रकाशित: २३ भाद्र २०७९ ०९:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App