२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

मजदुरको रकम नदिइ ठेकेदार सम्पर्कविहीन

कपिलवस्तुको सबै भन्दा ठूलो सिंचाई आयोजना बाणंगा सिंचाई आयोजनाको मर्मत र निर्माणको ठेक्का लिएका रुपन्देहीको पंगेनी निर्माण सेवाले मजदुरहरुको ज्याला र अन्य खर्च नदिई सम्पर्कविहीन भएका छन्। 

सिद्धार्थ नगरपालिका – ९ बेलहिया स्थित पंगेनी निर्माण सेवाका ठेकेदार सानु गैरेले मजुदुरहरुको ज्याला सामाग्री ढुवानी र राशनपानीको लागेको खर्च नदिई फरार भएका हुन्। बाणगंगा सिंचाई व्यवस्थापन कार्यालय अन्तर्गत आर्थिक वर्ष २०७८/०७९ मा सो ठेकेदार कम्पनीले बाणगंगा सिंचाई शाखा उपशाखा माईनर क्यानलको केही ठाउँमा पक्की नाली निर्माण तथा मर्मत कार्यका लागि काम पाएका थिए। गत चैत बैशाखमा सो काम सम्पन्न भएको थियो। सो ठेकेदार कम्पनीले मिस्त्री मजदुरको ज्याला र राशन पानी व्यवस्थापन गर्न  बर्दियाका बाबुराम चौधरीलाई खटाएको थियो। 

ठेकेदार सम्पर्कविहीन भएपछि आफूहरुले अहिलेसम्म ज्याला र मजदुरी बापतको कूल रकम २ लाख ७ हजार रुपैयाँ नपाएको भन्दै उनीहरुले प्रशासन कार्यालयमा उजुरी दिएका छन्। १६ जना पीडीतहरुले प्रशासनमा सो रकम ठेकदारबाट असुल गराई दिन उजुरी गरेका हुन्। ढुवानी भाडा, रासन पानी र मिस्त्री र लेबर वापतको रकम कुल २ लाख ७ हजार रुपैयाँ ठेकेदारले नदिई सम्पर्कविहीन बनेको कपिलवस्तु नगरपालिका वडा नम्बर ६ का जगदीश प्रसाद यादवले बताए। आफूले निर्माण सामाग्री ढुवानी गरे बापत पाउनुपर्ने रकम ६२ हजार ५ सय रुपैयाँ अझै सम्म नपाएको उनले बताए।  ‘ठेकेदार र व्यवस्थापक दुवै सम्पर्कविहीन बनेका छन्’, यादवले भने ‘ हामीले धेरै पटक सम्पर्क गर्न खोज्यौंं तर अझै सम्म भेटन सकेका छैनौं ’। यसबारेमा प्रजिअ धर्मेन्द्र कुमार मिश्र र बाणगंगा सिंचाई व्यवस्थापन कार्यालयका प्रमुख कोफिला श्रेष्ठलाई पटक पटक ध्यानाकार्षण गराएका उनले बताए। 

कपिलवस्तु नगरपालिका वडा नम्बर ६ का ज्वाला प्रसाद कोहारले आफूले ढेड महिना मजदुरी गरे बापतको १८ हजार रुपैयाँ अझै सम्म नपाएको दुःखेसो पोखे। मिहिनेत मजदुरी गरेर परिवारको पेट पाल्र्दै आएका कोहारले ठेकेदारले अहिले सम्म पैसा नदिँदा आफूलाई खान लाउन समेत समस्या भएको बताए। प्रजिअ मिश्रले यस बारेमा प्रशासन कार्यालयमा  संयुक्त निवेदन आएको बताए। उनले ठेकेदार कम्पनी र व्यवस्थापक बाहिरी जिल्लाको भएकाले समस्या भएको बताए। उनले यसका समाधान सम्बन्धित कपिलवस्तु नगरपालिकाले गर्नुपर्ने बताए। उनले सम्बन्धित कार्यालय प्रमुख श्रेष्ठलाई समेत समस्या समधान गर्न निर्देशन दिएको बताए। उनले मजदुररुको बक्यौता ठेकेदारबाट दिलाउन रुपन्देही र बर्दियाका प्रजिअसँग समन्वय गर्ने बताए। उता बाणगंगा सिंचाई व्यवस्थापन कार्यालयकी प्रमुख श्रेष्ठले ठेकेदारलाई यस बिषयमा अवगत गराएको बताइन्। 

उनले आफूहरुले निर्माण कम्पनीलाई ठेक्का दिएको र कोसँग कसको कारोबार भएको त्यसबारे अवगत नहुने बताए। उनले ठेकेदार कम्पनीलाई समस्याको समाधान गर्न टेलिफोन माफर्त जानकारी गराएको बताए। ठेकेदार सानु गैरेले आफू सम्पर्कविहीन नभएको बताए। उनले आफू नियमित फोन सम्पर्कमा रहेको तर लुम्बिनी प्रदेशको अरु ठाउँमा गरेको कामको भुक्तानी नपाउँदा समस्या भएको बताए। उनले आफुले यही महिना भित्र तिर्नुपर्ने रकम उपलब्ध गराउने दाबी गरे।

प्रकाशित: १६ भाद्र २०७९ ०५:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App