२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

आज जन्माष्टमी पर्व मनाइँदै

हिन्दु धर्मशास्त्रअनुसार आज (शुक्रबार) आराध्य देव श्रीकृष्ण भगवान्को पूजा-आराधना गरी ‘जन्माष्टमी’ पर्व मनाइँदै छ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापर युगको अन्त्यमा भाद्रकृष्ण अष्टमीका दिन भएकाले प्रत्येक वर्ष यसै तिथिमा यो पर्व मनाउने गरिएको छ।

धार्मिक मान्यताअनुसार चार रात्रि (कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि) मध्ये यस दिनलाई ‘मोहरात्रि’ पनि भनिन्छ। भगवान् श्रीकृष्णको जन्म भाद्र कृष्णपक्ष अष्टमी तिथि, बुधबार, रोहिणी नक्षत्रमा आधुनिक भारतको मथुरा सहरमा वसुदेवकी धर्मपत्नी देवकीको गर्भबाट राजा कंशको कारागारभित्र भएको थियो। मथुराका राजा उग्रसेनका पुत्र कंश देवकीका दाजु र श्रीकृष्णका मामा थिए।

कंशले आफ्ना आत्मीय मित्र वशुदेवसँग बहिनी देवकीको विवाह गरिदिएका र आफैं रथ हाँकेर पुर्‍याउन जाँदा बाटोमा ‘जसलाई तिमी आफ्ना बहिनीज्वाइँ भनेर पुर्‍याउँदै छौ, उनीहरूकै आठौं गर्भबाट जन्मेको बालकका कारण तिम्रो मृत्यु हुनेछ’ भन्ने आकाशवाणी भएको थियो। यो सुनेका कंशले वसुदेव र देवकीलाई मार्ने योजना बनाए पनि नारदमुनिले उपाय बताइदिएपछि उनीहरूलाई कारागारमा राखे। कंशले उनीहरूका सन्तान जति जन्मिँदै गए, सबैलाई मार्दै गए।

अन्त्यमा आठौं गर्भबाट श्रीकृष्णको जन्म भएको र उनले कंशको वध गरेको श्रीमद्भागवत महापुराणमा उल्लेख छ। भगवान् श्रीकृष्णको जन्म द्वापर युगको अन्त्यमा भएको थियो। उनको जन्म कलियुगको आगमनभन्दा ५ सयदेखि १ हजार वर्षबीच भएको अनुमान रहेको छ।

युगावतार भगवान् श्रीकृष्णको युगसँगै द्वापर युगको अन्त्य र कलियुगको प्रारम्भ भएको बताइएको छ। महाभारत र श्रीमद्भागवत महापुराणको विवरण अनुसार श्रीकृष्णलाई सर्वप्रथम ईश्वरुका रूपमा चिन्ने एकजना दृष्टिविहीन गोठालो साथी थिए। माटो खाएर मुख देखाउँदा यशोदालाई पनि उनले त्यो रूप देखाएका थिए तर उनले बुझिनन्।

उनी गोप र गोपिनीका नायक थिए। उद्धव, भीष्मपितामह र विदुरले उनको अवतारी रूप वा विराट रूप पत्ता लगाइसकेका थिए तर उनी जहाँ पनि जहिले पनि असामान्य मानिसका रूपमा परिचित थिए। भीष्मपितामहले उनको रूप थाहा पाएरै विष्णु सहस्रनाम रचना गरेका थिए। दुर्योधन र अर्जुनले पनि उनको विराट रूपको दर्शन गर्न पाएका थिए भनी महाभारतमा उल्लेख छ।

भगवान् श्रीकृष्णले गोकुल, वृन्दावन र व्रजमा रहँदा कैयों बाललीला रचेर सानैदेखि सबैलाई मन्त्रमुग्ध पारेका थिए भनेर शास्त्रमै बताइएको छ। उनी कहिले माखन चोर्ने त कहिले गोठालाहरूसँग वनमा गाई चराउने गर्थे। कहिले राधा र गोपिनीसँग रासलीला रच्ने त कहिले माता यशोदालाई भए नभएका माग राखेर वाक्कदिक्क पार्ने, चोरी गर्ने लगायत बदमासी गरेका विचित्र लीलाबारे श्रीमद्भागवतमा उल्लेख छ।

उनले बाल्यकालमै पुतना, बकासुर, प्रलम्बासुर आदि ठूलाठूला वीर असुरहरूको वध गरेको उल्लेख छ। देवेन्द्रको घमण्ड चुर गर्न उनले गोवर्द्धन पर्वत उठाएर गोप र गाईको रक्षा गरेको चामत्कारिक क्रियाकलाप पनि शास्त्रमा उल्लेख छ। जन्माष्टमीका दिन कृष्ण मन्दिर तथा नारायण मन्दिर मा भगवान् श्रीकृष्णको पञ्चोपचार, षोडषोपचार   वा यथोपचार पूजा-आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै व्रत बस्ने चलन रहेको छ। यस दिन राति बाह्र बजे श्रीकृष्णको जन्म भएको आधारमा रातभर जाग्राम बस्ने प्रचलन समेत रहेको छ।

प्रकाशित: ३ भाद्र २०७९ ०१:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App