५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

सम्बन्ध विच्छेद मुद्दाको ग्राफ बर्षेनि बढ्दै, न्यायक्षेत्र भन्छ: यो पारिवारिक बिग्रहको भयानक रुप

ताप्लेजुङ जिल्ला अदालतमा दर्ता भएका सम्बन्ध विच्छेदका मुद्दाको ग्राफ वर्षेनि बढ्दो मात्रामा रहेको पाइएको छ। कूल मध्ये आव २०७७/०७८ मा करिव ३४ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदका रहेकोमा आव २०७८/०७९ मा बढेर करिब ४१ प्रतिशत पुगेको छ। 

न्यायक्षेत्रले यसलाई ‘पारिवारिक बिग्रहको भयानक रुप’ भनेको छ। जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मीका अनुसार जिम्मेवारी सरी आएका र नयाँ लगत दर्ता भएका गरी आव २०७८।०७९ मा कूल ५ सय २२ थान मुद्दा रहेकामा २ सय १० थान मुद्दा सम्बन्ध विच्छेदका रहेका थिए। यो करिब ४१ प्रतिशत हुन आउँछ। सम्बन्ध विच्छेदका २ सय १० मध्ये १ सय ७३ थान मुद्दा फस्र्यौट भएको छ भने ३७ थान मुद्दा चालू आवका लागि जिम्मेवारी सरी आएको जिल्ला अदालतले जनाएको छ। 

ताप्लेजुङ जिल्ला अदालतका न्यायाधीस प्रकाश राउतले सम्बन्ध विच्छेदका मुद्दा वर्षेनि बढ्दै जानुलाई पारिवारिक बिग्रहको संज्ञा दिएका छन्। सम्बन्ध बिच्छेदले मानिसको घरबारमा समस्या सृजना हुने, बालबच्चाको भबिष्यमा असर गर्ने र पारिवारिक तनाव बढ्ने जस्ता समस्या देखा पर्ने भन्दै राउतले यसले समाजलाइ सकारात्मक छाप छाड्न नसक्ने बताए। जिल्ला अदालतमा दर्ता भएकामध्ये सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदकै रहेको अदालतले जनाएको छ। 

७९ प्रतिशत मुद्दा फस्र्यौट

ताप्लेजुङ जिल्ला अदालतले २०७८/०७९ मा करिव ७९ प्रतिशत मुद्दा फस्र्यौट गरेको छ। जिल्ला अदालतका श्रेष्तेदार रेग्मीका अनुसार कूल ५ सय २२ थानमध्ये आव २०७८/०७९ मा ४ सय १२ थान मुद्दा फस्र्यौट भएको छ। अदालतमा ३ सय ८३ थान मुद्दा नयाँ लगतकोरूपमा दर्ता भएका थिए भने १ सय ३९ थान मुद्दा आव २०७७/०७८ बाट जिम्मेवारी सरी आएका थिए।

अब चालू आवका लागि १ सय १० थान मुद्दा जिम्मेवारी सरी आएका छन्। जिम्मेवारी सरी आएकामध्ये ६ महिनाभित्रका १ सय ६ थान,६ महिना देखि एक वर्षभित्रका ३ थान र १८ महिनादेखि २ वर्षभित्रको एकथान मुद्दा रहेका छन्। अदालतमा २ वर्ष नाघेका मुद्दाको संख्या शून्य रहेको छ। आर्थिक वर्ष २०७७।०७८ मा जिल्ला अदालतले ७० प्रतिशत मुद्दा फस्र्यौट गरेको थियो।

प्रकाशित: २ श्रावण २०७९ १०:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App