३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

पोखरा महानगरलाई ‘ल्याण्डफिल साइट’ को सकस

जहाँ प्रस्ताव, त्यही विरोध

पोखरा–१४ को बाच्छेबुडुवामा सहरको फोहर व्यवस्थापन गरिरहेको ल्याण्डफिल साइट। तस्बिरः नागरिक

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोचमा पर्ने पूर्वपट्टिको रिठ्ठेपानी डाँडा कटानको बाटो खुलिसकेको छ। हवाई क्षेत्रको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र वन विभागबीच डाँडा र त्यहाँका रुख कटानका लागि गत मंगलबार मात्रै सहमति पनि भईसकेको छ। तर, विमानस्थल संचालनका लागि अर्काे मुख्य बाधक मानिएको ‘ल्याण्डफिल साइट’ सार्ने विषय भने झनै जटिल बन्दै गएको छ।  

पोखरा–१४ को बाच्छेबुडुवामा अहिले पोखरा सहरको फोहर व्यवस्थापन भईरहेको छ। पोखरा महानगरपालिकाले विगत १७ वर्षदेखि त्यहाँ फोहर व्यवस्थापन गरिरहेको छ। अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि मुख्य बाधक मानिएका मुख्य दुईमध्ये रिठ्ठेपानी डाँडा कटानको समस्या समाधान हुने भएको छ। तर, अर्काे बाधक मानिएको ल्याण्डफिल साइटको समस्या भने झनै जटिल बन्दै गएको छ। किनकी ल्याण्डफिल साइट नसारेसम्म विमानस्थल संचालनमा ल्याउन नसकिने प्राविधिकहरुले बताईरहेका छन्। तर, ल्याण्डफिल साइट सार्ने काममा निरन्तर अवरोध खडा भईरहेको छ।

महानगरपालिकाले विमानस्थल संचालनका लागि बाधक मानिएको ल्याण्डफिल साइट स्थानान्तरणका लागि विभिन्न नयाँ ठाउँ खोज्दै गएपनि सबैतिरबाट विरोध निम्तिदा नयाँ ल्याण्डफिल साइट पहिचान महानगरका लागि चूनौतीपूर्ण बन्दै आएको छ। अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेको ल्याण्डफिल साइट करिब दुईकिलोमिटर दूरीमा पर्छ। विमानस्थल नजिक फोहाेर व्यवस्थापन गर्दा त्यसले चरा आकर्षित गर्ने र त्यसका कारण हवाई उडान र अवतरणमा जोखिम निम्तिने विज्ञहरुले बताईरहेका छन्। त्यसले गर्दा ल्याण्डफिल साइट अन्यत्र सार्नुपर्ने बाध्यता महानगरलाई छ। तर महानगरले सार्ने भनिएको सबै ठाउँमा स्थानीयको विरोध भईरहँदा विमानस्थल संचालनको दिन पनि धकेलिँदै गएको छ।  

महानगरले गरेको अध्ययनले पोखरा आसपासका विभिन्न तीनवटा ठाउँ नयाँ ल्याण्डफिल साइटका लागि प्रस्तावित गरेको थियो। ती मध्ये पहिलो प्राथमिकतामा पोखरा–२० र १६ को सिमानामा पर्ने पस्मराङ परेको थियो। दोश्रो प्राथमिकतामा पोखरा–३३ को पुणिटार क्षेत्र र तेश्रो विकल्पमा पोखरा–१३ को काहुँखोला र विजयपुर बीचको खण्डमा पर्ने ढाँडबेसी प्रस्तावित थियो। तर, पम्मराङका बासिन्दाले ल्याण्डफिल साइट बनाउन नदिने बताएपछि पुणिटारमा सार्न प्रयास भएपनि त्यहाँ पनि विरोध सुरु भएको छ। कुनैपनि हालतमा पुणिटारमा ल्याण्डफिल साइट सार्न नदिने अडानमा स्थानीय छन्। ल्याण्डफिल साइटको बिरोधमा उत्रेका स्थानीयले आइतबार मात्र महानगरका मेयर धनराज आचार्यलाई भेटेर ज्ञापनपत्र बुझाएका छन्।  

पोखरा–३३ का बासिन्दाको तर्फबाट अगुवाई गरेका किरण थापाले बाच्छेबुडुवाको ल्याण्डफिल साइट पोखरा–३३ को टिमुरपाटा (पुणिटार क्षेत्र)मा सार्ने भनेर प्रस्तावसहित बजेट विनियोजन भएकोमा स्थानीयको असन्तोष रहेको बताए। वडा कार्यालय, स्थानीय राजनीतिक दल र स्थानीयबासिसँग समन्वय नै नगरि ल्याण्डफिल साइट आफ्नो गाउँ नजिक सार्न थालेकोमा आफुहरुको असन्तोष रहेको उनले बताए।  

‘हामी त्यो क्षेत्रलाई आवास र पर्यटन क्षेत्र बनाउन चाहन्छौ। पर्यटन क्षेत्रको रुपमा घोषणा गरेर पूर्वाधार बनाईरहेको बेला ल्याण्डफिल साइट बनाउन दिन्नौ,’ उनले भने, ‘ल्याण्डफिल साइटले यहाँको बस्तीलाई असर गर्छ। कुनै पनि छलफल नगरि एकाएक बजेट छुट्याइएको छ। हाम्रा लागि त्यो मान्य हुँदैन।’ ल्याण्डफिल साइट सार्दा पर्ने प्रभाव समेत मुल्यांकन नभएको उनले बताए। जनस्वास्थ्यमा असर पर्ने भएकोले कुनै हालतमा ल्याण्डफिल साइट सार्न नदिने उनले बताए।  

‘ठाउँको हिसाबले पनि उपयुक्त होईन। कृषि पर्यटन क्षेत्रको रुपमा त्यहाँ विकास भएको छ। वातावरण राम्रो भएको, दृष्यावलोकन गर्न सकिने, खानेपानी, बाटो, पुगेको र होटल बनिरहँदा त्यहाँ पर्यटकीय सम्भावना छ। हाइकिङ, पदमार्ग, दृष्यावलोकनका पूर्वाधार पनि बनिरहेका छन्,’ उनले भने, ‘पर्यटकीय पूर्वाधार बनिरहेकोमा ल्याण्डफिल साइट सार्ने काम उपयुक्त होईन।’ पोखरा–३३ टिमुरपाटामा ल्याण्डपिल साइट सार्दा त्यहाँका गैरीगाउँ, सुरपानी, सिंगारेबास, डाँडागाउँ लगायतका गाउँका बासिन्दा बढी प्रभावित हुने उनले बताए।  

‘कास्की, तनहुँ र स्याङजाको संगमस्थल पर्छ। तिनवटै जिल्लाका बासिन्दा प्रभावित हुन्छन। पानीको मुल भएको क्षेत्र भएकोले त्यो ठाउँ हाम्रा लागि मान्य हुँदैन,’ उनले भने, ‘ल्याण्डफिल साइट कहाँ सार्ने भनेर अब पोखरा–३३ ले जवाफ दिन सक्दैन। ठाउँ नदिए तेरो आँगनमा फोहाेर फाल्छु भनेर मिल्दैन।’ फोहर कहाँ फाल्ने भन्ने समस्या समाधानका लागि महानगर जिम्मेवार हुनुपर्ने उनले बताए।  

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य भने वातावरणीय प्रभाव मुल्यांकन नभईसकेको अवस्थामा पोखरा–३३ को प्रस्तावित क्षेत्रको अध्ययन गर्ने बताउँछन्। ल्याण्डफिल साइट सार्दा कस्तो प्रभाव पर्छ भनेर अध्ययन गर्ने उनले बताए। उनले ल्याण्डफिल साइटसम्मको पहुँचको लागि आगामि आर्थिक वर्षका लागि १० करोड रुपैयाँ छुट्याएको पनि बताए। ‘वातावरणीय प्रभाव मुल्यांकन गर्दा नमिल्ने भएमा पोखरा–३३ मा ल्याण्डफिल साइट नसर्न पनि सक्छ। सम्भावनाको रुपमा एउटा ठाउँ मात्र हेरिएको हो,’ मेयर आचार्यले भने, ‘ल्याण्डफिल साइट सार्ने भन्ने सुनेकोले स्थानीयले चाँसो दिएका हुन। अहिले नै निर्णय भएको छैन। तर, अध्ययन आवश्यक छ।’

छिटो भन्दा छिटो अध्ययन गरेर ल्याण्डफिल साइटको ठाउँ पहिचान गर्ने उनले बताए। उनका अनुसार अहिलेको ल्याण्डफिल साइटमा जस्तो सबैखाले फोहर एकैठाउँमा बिसर्जन हुँदैन। फोहरको वर्गीकरण गरेर मात्र बिसर्जन गर्ने हुँदा सानो ठाउँ भएपनि पुग्ने उनले बताए। ‘फोहरको वर्गीकरण गरेर मात्र बिसर्जन गर्ने हुँदा निकै नै कम परिणाम हुनेछ,’ उनले भने, ‘कुहिने जति फोहरको अर्कै रुपमा उपयोग हुन्छ। नकुहिने फोहर मात्र बिसर्जन हुने भएकोले थोरै ठाउँमा पनि सहज हुन्छ।’ उनले फोहरको बिसर्जन कसरी र कहाँ गर्ने भन्ने विषयमा तत्कालै अध्ययन थाल्ने पनि बताए।  

‘काठमाडौंको बञ्चरेडाँडाको जस्तो बुझाई हुँदा समस्या भएको हो। तर, अबको ल्याण्डफिल साइटमा नकुहिने शिशाजन्य बस्तु फ्याक्ने मात्र ठाउँ हुनेछ। त्यसका लागि धेरै क्षेत्रफल पनि चाहिँदैन,’ मेयर आचार्यले भने, ‘तर, अब अध्ययन गरेर कामलाई तदारुकता दिन्छौ।’ पोखरा महागरपालिकाले दिनमा सहरभित्रबाट करिब पाँचसय टन फोहर संकलन गर्छ। महागनरले २७ वटा सवारीमार्फत दिनहुँ फोहर उठाउँछ। अहिले दुइसय रोपनी सरकारी जग्गामा महानरगरले फोहर व्यवस्थापन गरिरहेको छ।

प्रकाशित: १९ असार २०७९ १०:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App