३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

अविरल वर्षाका कारण मधेस जलमग्न

जलमग्न जनकपुरधामका घरहरूबाट मोटर लगाएर पानी बाहिर फाल्दै स्थानीय। तस्बिर: नागरिक

दुई दिनदेखि परिरहेको अविरल वर्षाका कारण मधेस प्रदेशका अधिकांश जिल्लाका पालिका जलमग्न भएका छन्। वर्षाको पानीको निकास थुनिएर सहरहरू जलमग्न बनेका हुन्।

मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरमा भएका ढल तथा नालाबाट वर्षाको पानी निकास नहुँदा पानी मानिसको घरघर पसेर डुबान भएको छ। उपमहानगरभित्रका नालाहरूको मर्मतसम्भार नहुँदा वर्षाको पानी नालामा नगएर मानिसको घरभित्रैै पसेको स्थानीयले बताए। जनकपुरधाम उपमहानगरपालिका–१० स्थित उपमहानगरपालिका उपप्रमुखसमेत रहेका किशोरी साहको घरमा पनि दुई फिट पानी जमेको छ। सो वडाका अधिकांश घरमा पानी जमेको छ भने वडा १, ४, १३ र १६ का कतिपय घरमा पनि पानी पसेको छ।

त्यसैगरी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय, हुलाक कार्यालयलगायत सरकारी कार्यालय परिसरमा पनि पानी जमेको छ। पानी निकासको समस्याबारे निवर्तमान उपमहानगर प्रमुखलाई पटक–पटक सुनाउँदासमेत कुनै सुनुवाइ नभएकाले आफूहरूले बर्सेनि यस्तो समस्या व्यहोर्दै आएको उपमेयर साहले बताए। आफूहरू भर्खरै निर्वाचित भएकाले पानी निकासको ठोस उपाय गर्न नसकिए पनि अब यसको दिगो समाधानका लागि प्रयास गर्ने उनको भनाइ छ। अविरल वर्षाका कारण बजारमा चहलपहल घट्दा जनकपुरसहितका बजारहरूको व्यापार व्यवसायसमेत प्रभावित भएको छ भने सरकारी कार्यालयमा आउने सेवाग्राहीसमेत घटेका छन्।

वर्षाका कारण जनजीवन प्रभावित भए पनि अहिलेसम्म मधेस प्रदेशमा कुनै मानवीय क्षति नभएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए। बाढीजन्य विपद्का कारण जोखिमयुक्त क्षेत्रको पहिचान गरी सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको उनले बताए।

जिल्ला प्रशासन कार्यालय धनुषाले अविरल वर्षा जारी रहेकाले नदी आसपासका स्थानीयवासीलाई सचेत रहन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडलले कमला नदी र रातुखोलामा पानीको सतह बढ्न सक्ने भएकाले नदी आसपास क्षेत्रका स्थानीयलाई समेत सचेत हुन आग्रह गरेका छन्।

अव्यवस्थित विकासका कारण सडकभन्दा घर तल पर्दा अधिकांश घरहरू डुबानमा परेका छन्। जनकपुरधामको पिराडी चौक, रामानन्द चौक, जिरोमाइल, क्याम्पस चौक, वकिल टोल र पुल चौक जलमग्न बनेको छ। पानी उचित निकास नहुँदा प्रत्येक साल वर्षायाममा घरमा पानी पस्ने र बाटोमा पानी जम्ने गरेको छ।

लगातार वर्षाका कारण बजारमा मान्छेको चहलपहल घट्दा व्यापार व्यवसायसमेत प्रभावित भएको छ। निरन्तर वर्षाका कारण सरकारी कार्यलयमा आउने सेवाग्राहीको संख्या घटेको छ।

वर्षाको मौसममा प्रत्येक वर्ष यहाँका घरहरूमा पानी पस्ने गरेको पिराडी चौकका स्थानीय धर्मेन्द्र यादव बताउँछन्। ‘सरोकारवला निकाय गम्भीर नहुँदा यहाँका बासिन्दाले समस्या खेप्दै आएका छन्। नयाँ घरमा पानी पस्ने समस्या छैन। किनकि उनीहरूले सडकभन्दा अग्लो घर बनाएका छन्।’ सास्ती भने पुराना घरधनीहरूलाई बेहोर्नु परेको उनले बताए।  

धनुषाको सहिदनगर नगरपालिका, कमला नगरपालिका, सबैला नगरपालिका नगराइन नगरपालिका, धनौजी गाउँपालिका, मुखियापट्टी मुसहरनियाँ गाउँपालिका र जनकनन्दनी गाउँपालिका बाढीजन्य विपदको हिसाबले जोखिममा रहे पनि कुनै किसिमको क्षति नभएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए। यसैगरी रौतहटका नदी किनारका बासिन्दा सम्भावित बाढीको खतराले त्रसित देखिएका छन्। वाग्मती र बकैया नदीकाकिनारमा रहेको गाउँका बासिन्दामा बाढीको त्रास देखिएको छ।

वर्षाले देशको विभिन्न भागमा डुबान र कटानको समाचार आइरहँदा रौतहटको वाग्मती नदीको किनारका गढीमाई, माधवनारायण र राजदेवी नगरपालिकाका साथै यमुनामाई गाउँपालिकाका बासिन्दामा त्रास देखिएको छ। यसै गरी बकैया नदीको किनारका गौर, राजपुर, ईशनाथ, परोहा, देवाही गोनाही नगरपालिकाका स्थानीय बासिन्दामा पनि त्रास देखिएको छ। रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले सम्भावित बाढीको जोखिमबाट त्रसित नभई सतर्क रहन नदीतटीय किनारका बासिन्दालाई आग्रह गरेका छन्। बाढी आउने सम्भावना भएको क्षेत्रका सुरक्षा निकायलाई सचेत गराइसकिएको र विपद् व्यवस्थापन समितिले पनि बाढीको जोखिमको पूर्व तयारी गरिसकेको बताउँदै प्रजिअ शाहीले स्थानीय तहसित पनि समन्वय भइरहेको जानकारी गराएका छन्।

रौतहटमा बाढीबाट कटान हुने क्षेत्रको प्रजिअ शाहीले आफैँले स्थलगत निरीक्षण गरेर आवश्यक सावधानी अपनाउन निर्देशन पनि दिइसकेका छन्। यसै गरी स्थानीय सुरक्षा निकायले पनि बाढीबाट उद्धारको नियमित अभ्यास गरिरहेका छन्। बुधबार पनि नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको संयुक्त टोलीले सदरमुकाम गौरस्थित बरहवा तालमा संयुक्त अभ्यास गरेको छ।

सबैभन्दा बढी डुबानमा पर्ने सदरमुकाम गौरले पनि डुबान तथा कटानबाट जोगिन आवश्यक तयारी गरेको छ। बकेया नदीको किनारमा बनाइएको तटबन्ध कमजोर भएको ठाउँमा गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहको पहलमा मर्मतसम्भारको काम तीव्र गतिमा भएको छ।

यसैगरी राजदेवी नगरपालिकाका प्रमुख भिखारी यादवले पनि वाग्मती नदीकिनारको तटबन्धलाई हरेक वर्ष कटान गर्ने ठाउँमा मर्मत कार्यलाई तीव्र गतिमा अगाडि बढाएका छन्।

अन्य स्थानीय सरकार पनि स्वाभाविक गतिमा सक्रिय रहेकाले बाढीबाट डुबानको जोखिम कम भएको तर पूर्ण सतर्क रहन आवश्यक भएको गौरका नगर प्रमुख शम्भु साहले बताएका छन्।

बकैया नदीको जलस्तर बढिरहँदा देवाही गाउँका मानिसमा त्रास रहेको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख प्रेमलाल साहले बताएका छन् तर बाढीबाट जोगिनका लागि सम्भावित सबै सतर्कताको उपाय अपनाउन निर्देशन दिएको र नगरपालिका तयार रहेको नगर प्रमुख साहले बताएका छन्। बाढी धेरै आउँदा वाग्मती र बकैया नदीको किनारका मानिस नै बढी जोखिममा पर्ने गरेकाले यसपटक पूर्व तयारीमा बढी जोड दिइएको रौतहटका प्रजिअ शाहीको भनाइ छ।

प्रकाशित: १६ असार २०७९ ०३:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App