माई नगरपालिका–८, कलकत्तेको एउटा परिवार ७ वर्षदेखि बेपत्ता बालक सदस्यको खोजीमा छ। एकैपटक बेपत्ता भएका परिवारका ४ जनामध्ये १ बालक र १ बालिका जसोतसो घर आइपुगेका छन्। १ बालकको अझै अत्तोपत्तो छैन। र, बेपत्ता अर्की महिलालाई चाहिँ परिवारजनले खोज्न चाहेका छैनन्।
पति विदेशमा रहेको मौका छोपेर २०७२ वैशाख २८ मा यहाँकी मनमाया राईले आफ्ना ३ छोरा–छोरीसहित घर छाडिन्। १० महिनाअघि विदेश गएका पति यामबहादुर राईले पठाएको ५८ हजार रुपैयाँ समेत लिएर बालबच्चासहित बेपत्ता मनमायाले त्यतिबेला जेठो छोरा १० वर्षे विमल, अर्काे छोरा ६ वर्षे निर्मल र डेढ वर्षकी छोरी स्वस्तिकालाई आफूसँगै बेपत्ता बनाइन्। मनमाया कहाँ छिन् भन्नेबारे परिवारलाई अहिलेसम्म कुनै अत्तोपत्तो छैन। तर, उनीसँगै बेपत्ता पारिएकामध्ये विमल र स्वस्तिका घर आइपुगेका छन्। निर्मलको भने अझै खोजखबर छैन।
८७ वर्षे बर्दमान राई नाति बेपत्ता निर्मलको बाटो हेरिरहेका छन्। ‘बुहारीले सबै झिटिमिटीमात्र लगिनन्, कलकलाउँदा ३ नानीहरूसमेत बेपत्ता बनाएकाले ज्यादै दुःख लागेको थियो,’ उनले भने, ‘तर, भगवानले २ नानीहरू त घर ल्याइदिए, अर्काे एउटा कहाँ छ, के गर्दैछ भन्ने खबर छैन। पक्कै त्यो नाति पनि एक दिन घर आइपुग्छ भनेर बाटो हेरिरहेको छु।’ बुहारी मनमायाले चाहिँ अर्कैसँग बिहे गरेको भन्ने सुनेकाले उसको खोजखबर अब नचाहिएको वृद्ध बर्दमानले बताए।
बेपत्ता मनमायाले आफूसँगै ३ छोराछोरी कहाँ पुर्याइन् भन्ने खबर आएन। उनले त्यतिबेला मलेसिया रहेका पति यामबहादुरलाई चाहिँ आफू घरबाट हिँडेको र अर्कैसँग बिहे गरेको खबर गरेकी थिइन्। तर, छोराछोरी चाहिँ कहाँ के गर्दैछन् भनेर नसुनाइ फोन काटिन्। उनी बेपत्ता भएको डेढ वर्षपछि घरमा खबर आयो– मनमायाले छोरा–छोरी बेचेकी छिन्, उनीहरूलाई अर्काको घरमा गोठालाका रूपमा राखिएको छ।
यस्तो ‘अकल्पनीय’ खबर आउनेबित्तिकै बर्दमान छिमेकीको सहयोगमा बालबच्चाको खोजीका लागि हिँडे। पशुपतिनगरस्थित माइती नेपालको सहयोगमा भारत सिक्किमस्थित कालीखोला भन्ने ठाउँको एक घरमा बालिका स्वस्तिकालाई फेला पारे। ‘मनमायाले केही रकम लिएर नाबालिका छोरी एक घरमा छाडेर हिँडेको थाहा भयो,’ माइती नेपालका कर्मचारीले बताए, ‘हामीले बालिकाको उद्धारमा परिवारलाई सघायौंं।’ बर्दमानले चाहिँ स्वस्तिकालाई घर ल्याउन उनलाई राखिएको घरमा ४ हजार रुपैयाँ तिर्नुपरेको बताए।
त्यतिबेला घर–परिवारलाई आएको अपुष्ट जानकारीअनुसार स्वस्तिकालाई ४ हजार र २ छोरालाई ८ देखि १० हजार भारतीय रुपैयाँ लिएर मनमायाले कामदारका रूपमा अर्कैलाई ‘बेचिसकेकी’ थिइन्। उद्धार गरेर ल्याइएपछि स्वस्तिका हजुरबा बर्दबहादुरसँग घरमै बस्न थालिन्। बर्दमानकी पत्नी मालतीको २०५९ सालमै निधन भयो। घरमा अरू कोही नभएकाले स्वस्तिकाको हेरचाह गर्ने उनै बर्दमान मात्रै थिए। यामबहादुर पत्नी बेपत्ता भएको ४ वर्षपछि विदेशबाट फर्किए र छोरीको लालनपालनमा लागे।
यसरी घर आइपुगे विमल
दिन बित्दै गए। उनीहरूले छोरा विमलसमेत घर आउँछन् भन्ने कल्पना गरेका थिएनन्। एक दिन विमल आफ्नो घर खोज्दै टुप्लुक्क आँगनमा देखिएपछि बर्दमान, यामबहादुर र स्वस्तिकालाई सपना झैं लाग्यो। ‘यो आइपुग्छ भनेर सोचेको थिइनँ,’ छेवैमा रहेका नातिलाई देखाउँदै बर्दबहादुरले भने, ‘यो नाति आएको त अहिले पनि सपनाजस्तो लाग्छ।’
अहिले घरमै रहेका विमललाई बालकै छँदा आमाले कसको घरमा छाडिन् भन्ने थाहा छैन। ‘आफ्नो घर (महमाई) बाट गएपछि एउटा घर पुगियो। त्यहाँ ३ दिन बसेपछि मलाई त्यहीं छाडी आमा भरे आउँछु ल भन्दै हिड्नुभएको थियो तर फर्किनुभएन्,’ उनले सुनाए, ‘म घर छाडेर एक्लै कहिल्यै हिँडेको थिइनँ, पराइको घरमा एक्लै छाडेपछि म कति दिन रोएँ, अहिले कल्पना गर्न सक्दिनँ।’
आमाले आफूलाई ‘भरे आउँछु, यहीं बस्दै गर्नू है’ भनेको बचन अहिले पनि आफ्नो कानमा गुञ्जिरहेको विमल बताउँछन्। ‘आमा फर्केर आउनुहुन्छ भनेर साँझ, राति, भोलिपल्ट बिहान, दिउँसो, पर्सि, निकोर्सी..धेरै दिन बाटो हेरे तर आउनुभएन,’ विमल सम्झिन्छन्, ‘मलाई राखिएको घरमा कोही चिनेका मान्छे थिएनन्। आमा, भाइ र बहिनी पनि हराएपछि म निकै डराएँ, रोएँ तर केही लागेन। अलि दिनपछि सायद बिर्सिएँ होला।’
केही समयपछि अब आमा आफूलाई लिन नआउने भन्ने त्यही घरका मान्छेले उनलाई सुनाए। ‘त्यही घरको काम गर्न लगाए। खान–लाउन दिए तर स्कुल पठाएनन्,’ उनले भने, ‘१–२ महिना बसेपछि त्यो घरमा बस्न मन लागेन, आफ्नै घर आउन हुटहुटी भएपछि भागेर हिँडें।’ त्यसपछि उनी रेल चढेर ‘हासिमारा’ पुगे। हासिमारा भनेको कहाँ हो भन्ने उनलाई अहिले पनि थाहा छैन। तर, पहिला आफू बसेको घरबाट बिहानको समयमा रेल चढेका उनी कहाँ जाने भन्ने टुंगो नभएपछि साँझ हासिमारामा ओर्लिएका हुन्। त्यसपछि उनी हासिमाराकै एउटा घरमा पहिला जस्तै गरी काम गर्न बसे।
यसरी पुगेको दोस्रो घरमा उनी २ वर्ष बसे। ‘मलाई त्यो घरमा पनि राम्रो व्यवहार गरेनन्,’ उनले पीडा सुनाए, ‘कुटपिट त गरेनन् तर कहिल्यै राम्ररी बोलाएनन्, खानेकुरा पनि मीठो दिएनन्।’ त्यहाँबाट पनि आफ्नै घर पुगिन्छ कि भनेर भागे उनी। त्यसपछि हिँडिरहेकै बेला कसैले आफ्नो घर लैजान भनेपछि उनी त्यही व्यक्तिको साथ लागेर उसकै घर गए। ‘त्यो घर भएको ठाउँलाई खयरबस्ती भन्छन्,’ उनले सुनाए, ‘तेस्रो घरमा चाहिँ मेरै उमेरका साथीहरू पनि थिए। उनीहरूसँगै काम गर्न मलाई सजिलो भयो।’
तेस्रो घरमा पुगेपछि पनि उनले आफ्नो घर फर्किने इच्छा सुनाए। तेस्रो घरका मान्छेले चाहिँ उनलाई खर्साङ (भारत)को आफन्तकहाँ राखिदिने भए। ‘त्यो चौथो घरमा चाहिँ बुढी हजुरआमाको हेरचाह गर्नुपर्ने रहेछ, बस्नलाई राम्रै थियो। केही समय बसें पनि। तर, मलाई घर आउनै मन लागेकाले त्यहाँबाट पनि हिँडें,’ उनले सुनाए, ‘त्यहाँबाट हिँडेपछि चाहिँ मकैबारी (खर्साङ)मा चाइल्ड केयर (बालबालिका हेरचाह केन्द्र)ले राख्यो।’
त्यहाँ खान–बस्न राम्रो थियो। तर, उनलाई घरकै सम्झना आइरह्यो। ‘त्यहाँबाट उमेर (१८–१९ वर्ष) नपुगी हिँड्न नपाइने रहेछ, मलाई चाहिँ अब घर पुगिन्छ भन्ने आँट थियो,’ उनले भने, ‘त्यसपछि त्यहाँ पनि नबस्ने र घरै पुग्ने निर्णय गरी निस्किएँ।’
तर, उनलाई आफ्नो घर इलाम कलकत्ते हो भन्नेमात्र थाहा थियो। चाइल्ड केयरमा पनि उनलाई घर कहाँ हो भनेर सोधियो। उनले इलाम र कलकत्तै त भने तर कलकत्ते थाहा पाउने त्यहाँ कोही रहेन छन्।
‘मेरो घर कलकत्ते हो भन्दा मलाई कलकत्ते होइन, हर्कटे होला भन्थे, मलाई चाहिँ हर्कटे भन्ने ठाउँ कहाँ हो भन्ने थाहा थिएन कन्फ्युज बनाइदिन्थे,’ उनले भने, ‘त्यहाँबाट चाहिँ सुरुङ्गा (झापा)का एक साथी (सुदीप) पनि मसँगै आए। म सुरुमा उनकै घर (सुरुङ्गा) पुगें।’ त्यहाँ पुगेपछि थाहा भयो, सुदीपकी आमाले पनि दोस्रो बिहे गरेकी रहिछिन्। सुदीपलाई उसकै घरमा राम्रो व्यवहार गरेनन्। घरको कचकच सहन नसकेपछि सुदीपले एक दिन आत्महत्या गरे।
‘साथीको मृत्युपछि म फगत एक्लो भएँ, त्यो घरमा पनि मलाई बस्न मन लागेन, झनै नराम्रो व्यवहार गरियो,’ उनले सुनाए, ‘त्यसपछि नजिकै डेरा बस्ने चिनेकी दिदीको साथमा अर्कै ठाउँ गएँ।’ नयाँ ठाउँ गएपछि चाहिँ कलकत्ते भनेर खोजी गर्दैजाँदा कलकत्तेबाटै बिहे गरेर त्यहाँ पुगेकी अर्की दिदीसँग चिनजान भयो। उनकै सहायताले विमल घर छाडेको करिब ६ वर्षपछि आफ्नो घर आइपुगेका हुन्। ‘जसले मलाई जन्म दिएर पनि छोरालाई गर्ने माया गर्नुभएन, ती आमाको वास्ता अहिले लाग्दैन,’ विमलले सुनाए, ‘हामीसँगै बेपत्ता भएकी बहिनी (स्वस्तिका) घर आइपुगिन्, म आएँ, अब भाइ (निर्मल) लाई खोजेर ल्याउन पाइयो भने पुग्छ।’
अहिले बर्दमानको घरमा उनका छोरा यामबहादुर, नाति विमल र नातिनी स्वस्तिका छन्। विदेशबाट फर्केका यामबहादुर घरगाउँमै ज्याला–मजदुरी गर्छन्। विमल नजिकैको विद्यालयमा कक्षा ८ मा पढ्छन्।
विमल र स्वस्तिका घर आएपनि बर्दबहादुरलाई भने ढुक्क छैन। ‘त्यो अर्काे नाति (निर्मल)को अहिलेसम्म अत्तोपत्तो छैन, त्यो पनि घर आइदिए मेरो सास सजिलै जानेथियो,’ बर्दबहादुरले गहभरि आँसु पारेर सुनाए, ‘गाउँमा अरूका लालाबाला आमाको काखमा खेल्दै, स्कुल जाँदै–आउँदै गरेको देख्दा मन थाम्न सक्दिनँ अहिले पनि। मेरा नाति–नातिनाको चाहिँ भाग्य नै यस्तै रहेछ भनेर चित्त बुझाउँछु।’ उनले अहिलेसम्म बेपत्ता नाति (निर्मल) पनि ‘फिदिम (पाँचथर)तिर छ अरे’ भनेको हल्ला सुनेको र त्यसभन्दा अरू केही थाहा पाउन नसकेको बताए।
प्रकाशित: १५ असार २०७९ ११:०४ बुधबार