१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

चामुण्डाले नगर प्रमुख नागरिक सुरक्षा कार्यक्रम सञ्चालन गर्ने

चामुण्डा विन्द्रासैनी नगरपालिकाले ६० देखि ६७ वर्ष उमेर समूहका नागरिकहरुका लागि ‘नगर प्रमुख नागरिक सुरक्षा कार्यक्रम’ ल्याएको छ। यो उमेर समूहका नागरिकहरु सरकारले सञ्चालन गर्ने रोजगारमूलक कार्यक्रममा सहभागी हुन नपाउने तथा सामाजिक सुरक्षा भत्ता पनि नपाउने भएकाले ‘नगर प्रमुख नागरिक सुरक्षा कार्यक्रम’मार्फत सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइने जनाएको छ।  

नगर प्रमुख गणेशकुमार शाहीले रोजगारमूलक काममा पनि सहभागी हुन नपाउने र सरकारबाट सामाजिक सुरक्षा भत्ता पनि नपाउने भएकाले ६० देखि ६७ वर्ष उमेर समूहका नागरिकहरुलाई समेट्ने गरेर नगर प्रमुख नागरिक सुरक्षा कार्यक्रम ल्याइएको बताए। ‘तत्कालै नगर प्रमुख नागरिक सुरक्षा कार्यक्रमको कार्यविधि निर्माण गरेर कार्यान्वयन गछौं,’ नगर प्रमुख शाहीले भने, ‘पालिकाभर ६० देखि ६७ वर्षका नागरिकहरुको तथ्याङ्क पनि संकलन गछौं।’

उनले नगर क्षेत्रभित्रै बसोबास गर्नेहरुलाई मात्रै यो कार्यक्रमभित्र समेट्ने बताए। ‘नगरपालिकाभित्रको ठेगाना राखेर नागरिकता लिएका तर, बाहिर बस्दै आएकाहरुलाई यो कार्यक्रममा समेट्दैनौं,’ उनले भने, ‘नगरभित्रै बसोबास गरिरहेकाहरु मात्रैलाई समेट्ने गरेर कार्यविधि निर्माण गछौं।’  

नगरपालिकाले जेष्ठ नागरिकका साथै दलित, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक र पिछडिएको वर्गका लागि समावेशी कार्यदल गठन गर्ने जनाएको छ। ‘उल्लेखित समुदाय र वर्गलाई राहत र समतामूलक अवसरका कार्यक्रमहरु सञ्चालन गर्न कार्यदल गठन गर्ने निर्णय गरेका हौं,’ उनले भने। नगरपालिकाले सहाराविहीन बालबालिकाको शिक्षा र पालनपोषणका लागि ‘बेसहारासँग नगर प्रमुख’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। ‘नगरपालिकामा स्थायी रुपमा बसोबास भएका र आमा–बाबु गुमाएका, आमा–बाबु मध्ये कुनै एक नभएका र अरुको सहारामा बाँचिरहेका सहाराबिहिन बालबालिकाहरुका लागि बेसहारासँग नगर प्रमुख कार्यक्रम सञ्चालन गरिनेछ,’ शाहीले भने, ‘यसको मुख्य उद्देश्य बेसहारा बालबालिकालाई संरक्षण गर्दै शिक्षा प्रदान गर्नुहो।’

नगरपालिकाले युवाहरुलाई रोजगार बनाउनका लागि ‘एक युवा, अनेक उद्यम’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। ‘बेरोजगार युवाहरुलाई कुनै न कुनै उद्यममा संलग्न नगराउनका लागि यो कार्यक्रम ल्याएका हौं,’ उनले भने, ‘युवाहरुको सीप, क्षमता, दक्षताका आधारमा उद्यमी बनाउन नगरपालिकाले सहयोग गर्नेछ।’ नगरपालिकाले गर्भवती महिलाहरुलाई घरमै भिडियो एक्सरे सेवा प्रदान गर्ने भएको छ। ‘पेटमा बच्चा बोकेर स्वास्थ्य संस्थामा धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने नीति हामीले लिएका छौं,’ उनले भने, ‘अव गर्भवतीकै घरमा पुगेर गर्भजाँच गर्ने, भिडियो एक्सरेमार्फत बच्चाको अवस्थाको बारेमा जानकारी दिने काम गर्नेछौं।’

नगरपालिकाले सामुदायिक विद्यालयबाट नगरस्तरीय परीक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्र–छात्रा, प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समिति अध्यक्ष र शिक्षक अभिभावक संघका एक–एक जनालाई सम्मान र पुरस्कृत गर्ने भएको छ। ‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा यो कार्यक्रम प्रभावकारी हुने अपेक्षा हामीले लिएका छौं,’ उनले भने, ‘नगरस्तरीय परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने एक छात्र, एक छात्रा, एक प्रधानाध्यापक, एक जना विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र एक जना शिक्षक अभिभावक संघका अध्यक्षलाई प्रोत्साहन तथा पुरस्कृत गर्ने नीति लिएका छौं।’

नगरपालिकाले सबै वडामा एक–एक वटा नमूना विद्यालय निर्माण गर्ने भएको छ। ‘निजी विद्यालयप्रतिको अभिभावकको आकर्षण हटाउन नगरभित्रका सबै शिक्षण संस्थाहरुको गुणस्तर सुधारमा ध्यान दिइनेछ,’ नगर प्रमुख शाहीले भने, ‘आगामी दश वर्षभित्र सबै सामुदायिक विद्यालय निजीभन्दा भौतिक र शैक्षिक हिसावले उत्कृष्ट बनाउनेछौं।’

प्रकाशित: १० असार २०७९ ०५:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App