१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

मोरङमा भएको छुट्टाछुट्टै घटनामा ३ जना महिलाको मृत्यु

मोरङको छुट्टाछुट्टै ३ स्थानमा भएको घटनामा ३ जना महिलाको मृत्यु भएको छ। विराटनगरमा करेन्ट लागेर, पथरीशनिश्चरे र सुन्दरहरैँचामा दुर्घटना परी ३ जना महिलाको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। 

विराटनगर महानगरपालिका–१२ बखरीमा करेन्ट लागेर बुधबार दिउँसो एक जना महिलाको मृत्यु भएको हो। सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लाग्दा ३३ वर्षीया सुनीता चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। को १ ह ३०३ नम्बरको सफारी चार्जमा लगाउने क्रममा करेन्ट लागेको थियो।  

करेन्ट लागी घाइते भएकी चौधरीलाई उपचारका लागि कोसी अस्पताल ल्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि कोसी अस्पतालमै राखिएको र घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

त्यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका–२ मा मोटरसाइकलको ठक्करबाट पैदल यात्री सोही स्थानकी ५० वर्षीया विमला खड्काको मृत्यु भएको हो। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४७ प ००१५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी खड्काको उपचारका क्रममा मंगलबार राति विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।  

मोटरसाइकल चालक भोजपुरको अरुण गाउँपालिका–७ का ३५ वर्षीय सचिन राईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धानका क्रममा सवारी चालक अनुमति पत्र (लाइसेन्स) पनि नभएको पाइएको प्रहरीले  जनाएको छ। त्यसैगरी, सुन्दरहरैँचा नगरपालिका–११ मा मोटरसाइकलबाट लडेर स्थानीय ३० वर्षीय देवकुमारी श्रेष्ठको मृत्यु भएको छ। 

भित्री सडकखण्डमा को ३३ प ४२३१ नम्बरको मोटरसाइकलले साइकललाई जोगाउने क्रममा अनियन्त्रित हुँदा मोटरसाइकलबाट हामफाल्ने क्रममा लडेर उनी घाइते भएकी थिइन्। श्रेष्ठ सोही मोटरसाइकलको पछाडि सवार रहेकी थिइन् भने उपचारका लागि नोबेल अस्पताल ल्याउना साथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ।  

प्रहरीका अनुसार मोटरसाइकल उनकै पति ३१ वर्षीय सन्देश श्रेष्ठले चलाएको र घटनाको बारे अनुसन्धान भइरहेको छ।

प्रकाशित: ८ असार २०७९ १०:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App