८ वैशाख २०८१ शनिबार
समाज

ताप्लेजुङमा जेष्ठ नागरिक दुर्व्यवहार विरुद्धको दिवस मनाइयो

सम्मान,स्वास्थ्य परीक्षण, स्वास्थ्यमा हुने समस्या र समाधानका उपाय बारे जानकारी प्रेषित गर्दै ताप्लेजुङ सदरमुकाम फुङलिङमा बुधबार जेष्ठ नागरिक प्रति हुने दुर्व्यवहारविरुद्धको १७औं दिवस मनाइएको छ। 

फुङलिङ नगरपालिकाको आयोजनामा यो दिवस मनाइएको हो। दिवसमा अवसरमा जेष्ठ नागरिकहरुलाइ सम्मान,स्वास्थ्य परीक्षण,स्वास्थ्य सचेतना र जेष्ठ नागरिकप्रति परिवारका सदस्यदेखि राज्यका निकायको  भूमिकामा केन्द्रित रहेर कार्यपत्र प्रस्तुति समेत भएको फुङलिङ नगरपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख सीतादेवी गुरुङले जानकारी दिइन्। 

कार्यक्रममा ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सुरेन्द्र लिम्बू र नेपाल नेत्र ज्योति संघ ताप्लेजुङद्धारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका फिल्ड वर्कर काजीमान थेबेले मानव स्वास्थ्य र आँखा स्वास्थ्यको क्षेत्रमा देखिने समस्या र समाधानका उपाय बारे बताएका थिए। कार्यक्रममा जेष्ठ नागरिक प्रति हुने दुर्व्यवहार, दुर्व्यवहार रोक्नका लागि राज्यका निकायदेखि परिवारका सदस्य सम्मको भूमिका समेटिएको कार्यपत्र प्रस्तुत गरिएको थियो। 

जेष्ठ नागरिक समाज ताप्लेजुङका अध्यक्ष टामन सिग्देलले कार्यपत्र प्रस्तुत गरेका थिए। दिवसकै अवसर पारेर ताप्लेजुङ जिल्ला अस्पताल,फुङलिङ नगरपालिका र नेपाल नेत्र ज्योति संघ ताप्लेजुङद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रबाट जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण र आँखा परीक्षण तथा औषधि वितरण गरिएको नगरपालिकाले जनाएको छ। 

कार्यक्रमलाई सम्बोधन गर्दै फुङलिङ नगरप्रमुख अमिर मादेनले जेष्ठ नागरिक अनुभव र सीपका भण्डार भएकोले सीप र अनुभवको उचित प्रयोगमा नगपालिकाले उच्च महत्व दिने बताए। नगर उपप्रमुख भीमादेवी ओझाले जेष्ठ नागरिक समाजको सम्पत्ति भएको बताउँदै जेष्ठ नागरिकको संरक्षणमा राज्यका अंग र परिवारका सदस्यको भूमिका सबैभन्दा बलियो हुने बताइन्।  

फुङलिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले हिजोका युवापुस्ता आजका जेष्ठ नागरिक र आजको युवापुस्ता भोलिका जेष्ठ नागरिक हुने भएकोले जेष्ठ नागरिकलाई दुर्व्यवहार नभइ असल संस्कारसहितको संरक्षण जरुरी रहेकोमा जोड दिए। जेष्ठ नागरिक भनेको जीवनको उत्तरार्धमा पुगेको व्यक्ति हो। यसलाई एक प्राकृतिक अवस्थाको रुपम लिने गरिन्छ। जेष्ठ नागरिक ऐन २०६३ ले ६० वर्ष उमेर पूरा भएको नागरिकलाई जेष्ठ नागरिक मानेको छ। जेष्ठ नागरिकले शारीरिक,मानसिक तथा भावनात्मक,यौनजन्य,आर्थिक र तिरस्कृत दुर्व्यवहार भोग्दै आएका छन्। 

जेष्ठ नागरिकलाई सामाजीकरण गर्ने,उचित सम्मान गर्ने गराउने संस्कृतिको विकास गर्ने,जेष्ठ नागरिकप्रति राम्रो व्यवहार गर्नेलाइ सम्मान र हेलाहिची गर्नेलाइ सजायको व्यवस्था गर्ने,परिवारका सबै सदस्यलाइ जेष्ठ नागरिकप्रति सम्मान गर्न सिकाउने, हैसियत अनुसार जेष्ठ नागरिकलाइ खुसी जीवन यापनको व्यवस्था गर्ने, सुख–दुःखका कुरा सुनिदिने र जेष्ठ नागरिकको अनुभव लिने, सम्मानजनक भाषा प्रयोग गर्ने,जेष्ठ नागरिकका राम्रा कुरालाइ हौसला दिने,असहमतिका कुरालाइ धैर्य गरी अनुशासनका साथ यस्तो पो हन्छ होला त भनेर सम्झाउने, सभा सम्मेलनमा सहभागी गराउने जस्ता कार्यले जेष्ठ नागरिकप्रतिको दुर्व्यवहार न्यूनीकरण हुँदै जाने विज्ञहरुले बताएका छन्।

प्रकाशित: १ असार २०७९ ११:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App