२ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

अत्यधिक गर्मीले नेपालगन्जमा ‘लू’

विद्यालय बन्द, जनजीवन प्रभावित, अस्पतालमा बिरामीको संख्या बढ्न थाल्यो

गर्मीमा ठेलाबाट सामान ओसार्दै मजदुर। तस्बिरः गणेश/नागरिक

नेपालगन्जमा एक सातायता गर्मी बढेसँगै ‘लू’ (तातो हावा) चल्न थालेको छ। यहाँ पछिल्ला तीन वर्षयताकै बढी गर्मी महसुस गरिएको छ।  

शुक्रबार नेपालगन्जको तापक्रम ४०.४ डिग्री सेल्सियस पुग्यो। यो तापक्रम देशका अन्य क्षेत्रभन्दा धेरै हो। सुदूरपश्चिमको दिपायलमा ४० डिग्री सेल्सियस पुगेको छ भने धनगढीमा ३९.६ डिग्री सेल्सियस पुगेको छ। पूर्वभन्दा तुलनात्मकरुपमा पश्चिमका जिल्लामा गर्मी धेरै महसुस भएको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले जनाएको छ।

एक सातायता यहाँको तापक्रम घट्न सकेको छैन। शुक्रबार नेपालगन्जमा देशका सबै क्षेत्रभन्दा बढी गर्मी महसुस भएको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले जनाएको छ। दैनिक दिउँसो १२ बजेदेखि ४ बजेसम्म तातो हावा लाग्ने गरेको छ। तातो हावा चल्न थालेपछि यहाँको जनजीवन प्रभावित हुँदै गएको छ।  

‘तातो हावा सुरु भइसकेको छ,’ जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख विनोद पराजुलीले भने। उनका अनुसार दैनिक चार/पाँच घण्टा तातो हावा चल्यो भने लू भन्न मिल्छ। गर्मी बढेसँगै सावधानीपूर्वक घर बाहिर निस्किनुपर्ने उनी बताउँछन्। ‘तातो हावा चल्न सुरु भएको छ,’ उनी भन्छन्, ‘यस्तो अवस्थामा अत्यावश्यक कामबाहेक अरू बेला घर बाहिर निस्किनु हुँदैन। निस्कनै परे सावधानीपूर्वक हिँड्डुल गर्नुपर्छ।’

‘दिउँसो घरभित्र पंखा लगाउँदा पनि तातो हावा आउँछ,’ नेपालगन्जका विक्रम श्रेष्ठले भने, ‘तातो हावा चल्न थाल्दा समस्या भएको छ।’

लू सुरु भएपछि बालबालिका, वृद्धवृद्धा, बिरामी, दैनिक ज्यालादारी गरेर खाने वर्ग बढी प्रभावित भएका छन्। ‘दिउँसो लू लागेर काममा जानै सकिँदैन,’ राप्तीसोनारीका श्याम चौधरीले भने, ‘काम नगर्दा दैनिकी चलाउन समस्या हुन्छ। जाऔँ भने गर्मीले काम गर्न सकिँदैन।’ गर्मीकै कारण केही मानिसहरु बिरामी हुन थालेका छन्। गर्मीका कारण बिरामीको संख्या बढ्न थाले पनि यहाँका अस्पतालहरुमा बिरामीको चाप पनि बढेको छ।

साथै अत्यधिक गर्मी बढेपछि यहाँका पालिकाले विद्यालय बन्द गरेका छन्। नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले शुक्रबारदेखि पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरु बन्द हुने छन्। गर्मीका कारण पठन पाठनमा प्रभाव परेपछि आउँदो सोमबारअर्थात जेठ ३१ गतेसम्म मंगलबारसम्म नेपालगन्ज उपमहानगरपालिकाका भित्रका विद्यालय बन्द हुने नेपालगन्ज उपमहानगरपालिकाका गोर्खबहादुर थापाले बताए। ‘पछिल्लो समय अत्यधिक गर्मी छ,’ उनले भने, ‘यस्तो गर्मीमा पठन पाठन गर्न सक्ने अवस्था छैन। त्यसैले मंगलबारसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।’

नेपालगन्ज, काेहलपुरलगायत बाँकेका अन्य पालिकामा गर्मी बढ्दै गएको छ। केही दिन भए पनि विद्यालय बन्द गर्ने निर्णय सकारात्मक भएको सामुदायिक विद्यालयहरुले जनाएका छन्। जिल्लाका अधिकांश विद्यालय जस्तापाताले निर्माण गरिएको छ। जस्तापाता तातिँदा शिक्षण सिकाइ क्रियाकलापमा प्रत्यक्ष प्रभाव परेको छ। नेपालगन्जको तापक्रम केही दिनयता ४० डिग्री सेल्सियस पुगेको छ। गर्मीले अनुहारमा घमौरा आउने, ज्वरोलगायतका समस्या देखा पर्न थालेका छन्। बढ्दो तापक्रमका कारण विद्यार्थीलाई विद्यालय आउजाउमा समस्या भएको छ। गर्मीमा तुलनात्मकरुपमा बालबालिकालाई बढी असर गर्ने हुँदा सजगताका लागि विद्यालय बन्द गर्नु परेको नेपालगन्ज उपमहानगरपालिकाले विज्ञप्तिमार्फत जनाएको छ।

अत्यधिक गर्मी भइ दैनिक जीवन कष्टकर हुँदै गइरहेको अवस्थामा पठनपाठन सञ्चालन गर्न समस्या रहेको विद्यालयहरुले नगरपालिकालाई जानकारी गराएपछि सोहीअनुसार नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गरिएको कोहलपुरका शिक्षा शाखा प्रमुख रविलाल मिजारले बताए।

साथै आवश्यकताका आधारमा प्रशासनिक कार्य तथा पूर्व निर्धारित परीक्षाहरु नियमित हुनुका साथै मौसम अनुकूलताका आधारमा बिदामा पुनर्विचार हुन सक्ने उनले बताए। विद्यालय बन्द भएपछि बालिबालिकाले केही राहत पाउने छ। सबै विद्यालयहरुमा पंखाको समेत व्यवस्था नहुँदा पठन पाठनका लागि समस्या हुँदै आएका यहाँका विद्यालयले नगरको ध्यानाकर्षण गराएका थिए।

खजुरा गाउँपालिकाले विद्यालयको स्वास्थ्यलाई ध्यान पाँच दिनका लागि विद्यालय बन्द गरिएको जनाएको छ। गर्मीसँगै लू (तातो हावा) चल्दा दैनिक जीवन कष्टकर भइ नियमित पठनपाठन सञ्चालन गर्न नसकिने अवस्था आउँदा विद्यालय बन्द गरिएको खजुरा गाउँपालिकाका शिक्षा शाखा अधिकृत खगेन्द्रबहादुर मल्लले बताए।

जिल्लाका अन्य पालिकाले पनि हरेक वर्ष गर्मी समयमा विद्यालय बन्द गर्छन। अन्य पालिकाका एक/दुई दिनमै विद्यालय बन्द गर्ने बताएका छन्। गणेश माध्यमिक विद्यालय ढकेरीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनबहादुर ओलीले जनाए। ‘टिनको छानो अति गर्मी हुन्छ,’ उनले भने, ‘कक्षा कोठा बाहिर सम्भवनै हुँदैन। भित्र टिन तातिएर बस्न दिँदैन।’ अन्य बिदासँग मिलाएर केही दिन अझै बिदा दिनुपर्ने उनी बताउँछन्।

प्रकाशित: २७ जेष्ठ २०७९ ११:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App