१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

भ्रष्टचार मुद्दामा वीपीका पूर्व उपकुलपति डा.रौनियारले पाए सफाई

पूर्व उपकुलपति प्रा.डा.आरके रौनियार। तस्बिर: नागरिक

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपति प्रा.डा.राजकुमार (आर.के.) रौनियारले भ्रष्टचार मुद्दामा सफाई पाएका छन्।

बिशेष अदालतले बुधबार मुद्दाको अन्तिम सुनुवाई गर्दै डा.रौनियार र उनका भतिज डा.रामहरि रौनियारलाई सफाई दिएको हो। बिशेष अदालतको १ नम्बर इजलाशमा न्यायधिश श्रीकान्त पौडोल, यमुना भट्टराई र डा.खुशीप्रसाद थारुको इजलाशले दुवैलाई सफाई दिएका हुन्।

अख्तियारले करिब २ वर्षअघि स्टिङ अप्रेशन गर्दै घुस लिएको रकमसहित काका र भतिजालाई  प्रतिष्ठानबाटै नियन्त्रणमा लिएको थियो। एक ठेकेदारसँग भुक्तानी दिदा बार्गेनिङ गरेर ८ लाख रुपैया घुस लिएको अख्तियारको दाबी थियो। अख्तियारले पूर्व उपकुलपति डा.रौनियार र उनका भतिज डा.रामहरिविरुद्ध २०७६ साउन १९ गते भ्रष्टचार (घुस, रिसवत)को अभियोगमा मुद्दा दर्ता गरेको थियो। अख्तियारले मुद्दा दायर गरेसँगै उपकुलपति पदबाट रौनियार निलम्बित भएका थिए।

हाल विशेष अदालतबाट सफाई पाए पनि पूर्व उपकुलपति डा.रौनियार उपकुलपति पदमा पुर्नवहाली हुने मौका भने गुमाइसकेका छन्। उनको पदावअधि गत फागुनमा नै सकिएको छ। डा.रौनियारविरुद्धको मुद्दाको पटक पटक पेशी स्थगित र हेर्न नभ्याउने भएर सर्दै आएको थियो। अख्तियारले आफै पैसा लगेर गर्ने स्टिङ अप्रेशनलाई सर्वोच्च अदालतले मान्यता नदिने फैसलापछि डा.रौनियारले पनि सफाई पाउने अनुमान गरिएको थियो। तर, उनको मुद्दाको फैसला हुन ढिलाई भएपछि उनी पदमा पूर्नवहाली हुन पाएनन्।

अदालतबाट सफाई पाएका डा.रौनियारले ढिलो गरेर भएपनि आफूले न्याय पाएको प्रतिक्रिया दिए। उनले धरानमा आएर पत्रकार सम्मेलन गरेर आफ्नो कुरा राख्ने पनि नागरिक संवाददातासँग फोन सम्पर्कमा बताए। उनले भने,‘मलाई अन्याय भएको थियो। ढिलो भएपनि मैले न्याय पाए। धरान आएर कुनै दिन प्रेस कन्फ्रेन्स गरेर कुरा राख्छु।’

सफाइ पाएपछि मुद्दा चलिरहेको समयलाई शुन्य समय मानेर उपकुलपतिमा पुर्नवहालीको माग गर्दै डा.रौनियार अदालत जाने चर्चा पनि छ। तर, उनले यो बिषयमा अहिल्यै निर्णय नलिएको बताए। आफ्ना वकिलहरुसँग सल्लाह गरेर मात्र थप कदम चाल्ने डा.रौनियारले बताए। उनले भने,‘त्यसबारे सोचेको छैन। वकिलहरुले जे भन्छन्, म त्यही गर्छु।’ डा. रौनियार दक्षिण एसियाकै चर्चित रेडियोलोजिष्ट हुन्। उनी उपकुलपति हुनुअघि प्रतिष्ठानको रेडियोलोजि विभागका प्रमुख पनि थिए।

प्रकाशित: २६ जेष्ठ २०७९ ०५:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App