२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तारा एयर दुर्घटनाः अहिलेसम्म १५ जनाको शव फेला

पोखराबाट जोमसोमका लागि उडानको क्रममा दुर्घटनामा परेको तारा एयरको जहाजका १५ जना यात्रुको शव फेला परेको उद्धारकर्ताले बताएका छन्।

जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ ल्याङखु खोलाको मुहान नजिकै सानोसरे भन्ने ठाउँको पहाडमा ठोक्किएर दुर्घटनामा परेको अवस्थामा जहाज सोमबार बिहान फेला परेको थियो। आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडान भरेको केहीबेरमा जहाज सम्पर्कविहीन भएको थियो।

दिनभर खोजी गर्दा पनि जहाज फेला परेको थिएन। सोमबार बिहान स्थानीयले दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला पारेका थिए। जहाज फेला पारे लगत्तै स्थानीयले उद्धार सुरु गरेका थिए। स्थानीय इन्द्रशिंह शेरचनका अनुसार अहिलेसम्म १५ जना यात्रुको मात्र शव फेला परेको छ।

केही शव भने खोचमा रहेका कारण उद्धारमा कठिनाइ भएको छ। संकलित शव सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाउने भनिएको छ। पोखराबाट जोमसोमका लागि आइतबार बिहान ९ बजेर ५५ मिनेटमा उडेको तारा एयरको ९एन एइटी, डिएचसी–६, ट्वीनअटर जहाज जोमसोम पुग्न नपाउँदै बीचैबाट सम्पर्कविहीन भएको थियो।

जहाजको अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग १० बजेर ७ मिनेट जाँदा घोरेपानीको आकाशबाट सम्पर्क भएको थियो, त्यसपछि  जहाजबारे कतै पत्तो लागेको थिएन। जहाजमा चालक दलका तीनजना सदस्यसहित १३ जना नेपाली, ४ जना भारतीय र २ जना जर्मन नागरिक गरी २२ जना रहेका छन्।

दुर्घटनामा परेको विमान सुरुमा भेंडी गोठालेले भेटेका थिए। त्यसपछि उनीहरुले फोटो खिचेर प्रहरी र स्थानीयलाई खबर गरेका थिए। उद्धारकर्ताका अनुसार जहाजमा आगो लागेको छैन। तर जहाज भिरमा ठोक्किएर क्षतविक्षत अवस्थामा छ। जहाजमा यात्रुहरु मृत अवस्थामा भेटिएका छन्। शेरचनका अनुसार शवहरु सकुशल छन तर कोही पनि जिवित भेटिने सम्भावना छैन।

‘आगो नलागेकाले शव पहिचान गर्न सकिने अवस्थाका छन,’ उनले भने। मौसम बदली भईरहँदा भेटिएका शव पनि तल झार्न समस्या भएको थासाङ गाउँपालिका–२ का अध्यक्ष गौतम शेरचनले बताए। उनका अनुसार घटनास्थल करिब ४५ सय मिटरको उचाइमा पर्छ। बादल लाग्ने र खुल्ने गर्दा हेलिकप्टर पनि आउजाउ गर्न असहज भएको उनले बताए।

‘बादलका कारण बेलाबेला हेलिकप्टर जान सकेको छैन। उद्धारका सामाग्री लिएर गएपछि फर्केर तल आउने गरेको छ,’ उनले भने, ‘स्थानीयले शव संकलन गरेर राखेका छन। तर, तल झार्न सकिएको छैन। प्लाष्टिक, डोरी लगायतका सामाग्री लैजान समस्या भएको छ।’

जहाज दुर्घटनामा परेको ठाउँ गतवर्ष हिमपहिरो झरेको ठाउँ नजिकै पर्छ। जहाँ भिरालो घाँसेमैदान र चट्टाने पहरो रहेको उनले बताए। ‘हिउँदमा चौरी चर्ने ठाउँ हो। जहाँ मानवीय पहुँच निकै नै कम छ,’ उनले भने, ‘पैदल जान सकिन्न। त्यही भएर हेलिकप्टरको विकल्प छैन।’

प्रकाशित: १६ जेष्ठ २०७९ ०७:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App