२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

चैतन्य सुब्बाको निधन

आदिवासी विषयका ज्ञाता, योजनाविद् तथा अधिकारकर्मी डा. चैतन्य सुब्बाको मंगलबार राति ७५ वर्षको उमेरमा निधन भएको छ। उनको निधनपछि जनजाति क्षेत्रका बौद्धिक व्यक्तिहरूले गहिरो रिक्तता महसुस गरेका छन्।

डा. सुब्बा सामाजिक लोकतान्त्रिक पार्टीका संस्थापक अध्यक्षसमेत रहिसकेका थिए। उनी राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा आदिवासी जनजाति प्रतिष्ठानका पूर्वअध्यक्षसमेत रहेका थिए। 

मुटुको शल्यक्रियापछि उपचारका क्रममा उनलाई शिक्षण अस्पताल महाराजगन्जमा राखिएको थियो। उनको पशुपति आर्यघाटमा बुधबार अन्त्येष्टि गरिएको थियो।

छोरी सृजनाका अनुसार, डा. सुब्बा लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित हनुहुन्थ्यो। जीवनको पछिल्लो समय याक्थुङ मुन्धुम, युमासाम्योक दर्शनको अध्ययन तथा अनुसन्धानमा व्यस्त सुब्बाको निधनले विषेशगरी आदिवासी एवम् लिम्बु समुदायलाई अपुरणीय क्षति पुगेको मदन पुरस्कारविजेता भागीराज इङनाम लिम्बुले बताए। उनका अनुसार डा. सुब्बाको मुन्धुमसम्बन्धी व्याख्या, लेखरचना आदि सार्वजनिक छन्। मुन्धुम दर्शनशास्त्री डा. सुब्बाका बारेमा कमै अध्ययन भएको छ।

त्यस्तै डा. सुब्बा आदिवासी जनजाति आन्दोलनलाई योजनाबद्ध ढंगले अगाडि बढाउने अग्रज बौद्धिक व्यक्तित्वमध्ये एक रहेको डा. अमृत योञ्जन तामाङले बताए। उनले राजनीतिक र प्रशासनिक पक्षबाट राष्ट्र र शैक्षिक तथा सांस्कृतिक पक्षबाट जनजाति समुदायलाई महत्वपूर्ण योगदान गरेका थिए।

डा. सुब्बाकै पहलमा पहिलोपटक राष्ट्रिय योजना आयोगको तीनबर्से योजनामा आदिवासी अनुच्छेद समावेश भएको थियो। ‘डा. सुब्बाको निधनले सम्पूर्ण जनजाति समुदायमा ठूलो क्षति पुगेको छ’, डा. तामाङले भने। दर्जनभन्दा बढी पुस्तक लेखिसकेका उनको ‘द कल्चर एन्ड रिलिजन अफ लिम्बुज’ पुस्तक लोकप्रिय छ। यो पुस्तक लिम्बु संस्कृतिको एक दस्ताबेजका रूपमा लिइन्छ। उनले लिम्बु जातिको संस्कृति, धर्म र दर्शनसम्बन्धी विभिन्न खोज–अनुसन्धानमूलक वैचारिक लेख प्रकाशन गरिसकेका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठानका आमन्त्रित विशेषज्ञका रूपमा समेत उनले काम गरेका थिए। २००३ सालमा ताप्लेजुङमा जन्मेका डा. सुब्बाका श्रीमती, एक छोरी र दुई छोरा छन्।

प्रकाशित: २२ वैशाख २०७९ ०६:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App