३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

धनको लोभमा आफन्तद्वारा बालकको अपहरणपछि हत्या

सर्लाहीको मलंगवामा एक अबोध बालकको अपहरणपछि हत्या भएको घटनामा प्रहरीले गहन अनुसन्धान थालेको छ। मलंगवा नगरपालिका १२ गम्हरिया गाउँकी महासुन्दर देवीले १० वर्षको छोरा आकाश ठाकुरको उज्ज्वल भविष्यको लागि व्रत बसेकी थिइन्।

आमाले जुन छोराको सुन्दर भविष्यको लागि व्रत बसेकी थिइन्, साँझदेखि त्यही छोरो हरायो। व्रतको प्रसादको रुपमा खीर खाएर खेल्न निस्केको छोरो अबेरसम्म घर फर्केर नआउँदा सुरुमा त छिमेकी, आफन्तदेखि गाउँटोलमा खोजिन् तर रात परेपछि पनि कतै पत्तो नपाउँदा छोरो हराएको भनेर प्रहरीलाई जानकारी गराइन्।

घटना गत चैत २० गते साँझको हो। सोही दिन जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रहरी प्रमुखको रुपमा एसपि प्रवीण पोखरेल हाजिर भएका थिए। जिल्लामा सुरक्षा चुनौती धेरै भएको जानकारी पहिलेदेखि नै रहेका एसपिले साँझ बालक हराएको घटना थाहा पाउनासाथ प्रहरीको एउटा युनिटलाई खोजी कार्यमा परिचालन गरिहाले।

२१ चैतका दिन अपहरणकारीले राकेश शर्माको नामबाट नक्कली फेसबुक आइडी बनाएर अपहरित बालकको मामा पर्ने मुकेश शर्मालाई दीपेन्द्र शर्माको छोरा आकाश ठाकुर अपहरण भएको जानकारी गराउँदै १५ लाख रुपैया फिरौती माग गरे। अपहरित बालकका बुबा हुन दीपेन्द्र शर्मा।

विदेशमै रहेका मुकेश शर्माले विदेशमा नै रहेका अपहरित बालकका बुबा दीपेन्द्र शर्मालाई छोरो आकाश ठाकुर अपहरित भएको र अपहरणकारीले १५ लाख रुपैयाँ माग गरेको खबर दिए। शर्माले सोही खबर परिवारजनको सहयोगमा सर्लाही प्रहरीलाई उपलब्ध गराएपछि प्रहरीले अनुसन्धानको केन्द्र सोही नक्कली फेसबुक आइडीलाई बनाएर अनुसन्धानलाई अगाडि बढाए।

जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी निरीक्षक जटाशंकर यादवले राकेश शर्मा फेसबुक आइडीलाई अनुसन्धान गर्दै जाँदा कृष्ण शर्माको भएको पत्ता लाग्यो। जसको फेसबुक हो, उसको नामबाट नभएपछि नक्कली फेसबुक आइडीबाट फिरौती माग गर्ने अन्यथा छोराको हत्या गर्ने खबर दिएको प्रहरीले बुझेपछि प्रहरी कृष्ण शर्माको खोजीमा जुट्यो।

बालक अपहरण घटनामा कृष्ण शर्माको संलग्नता रहेको विषयमा प्रहरी ढुक्क भएपछि शर्मासित अन्य को को संलग्न छन् भन्ने अनुसन्धान अन्तिम चरणमा पुग्दा २३ गते बुधवार साँझ मलंगवामा गोली चल्यो। गोली लागेर भारतीय नागरिक इन्दल महतोको ज्यान गएको घटनामा सर्लाही प्रहरी राति ११ बजेसम्म व्यस्त भयो।

भारतीय नागरिकलाई गोली लागेको घटनालाई तत्कालको लागि एउटा किनारमा पर्‍याएपछि सर्लाही प्रहरी प्रमुख एसपि पोखरेल र अनुसन्धानमा जुटेका प्रहरी निरीक्षक यादव बालक अपहरणको घटनातिर गम्भीर बनेर लागे। बालक अपहरणमा प्रहरीले अभियुक्त ठानेको कृष्ण शर्मालाई नियन्त्रणमा लिन मध्यरातमा प्रहरीको टोली गम्हरिया पुग्यो।

प्रनि जटाशंकर यादवको नेतृत्वको प्रहरी टोलीले शर्मालाई नियन्त्रणमा लिएर सोझै जिल्ला प्रहरी कार्यालय पुर्‍यायो । घटनाबारे प्रहरीले शर्मासित अनुसन्धान अगाडि बढाउँदा शर्माले आफ्ना दाजु कमलेश ठाकुरले बालकको अपहरण गरी हत्या गरेर घरबाट फरार भएको रहस्य खोल्यो।

कमलेश ठाकुरले बालकको हत्या गरी फरार भएपछि आफू, आफ्नी श्रीमती र घरका अन्य सदस्यहरु मिलेर बालकको शवलाई प्लास्टिकको बोरामा हालेर सेफ्टी ट्यांकीमा हालेको शर्माले प्रहरीसमक्ष स्वीकार गरेको प्रहरीको भनाइ छ।

घटनामा संलग्न रहेका एकै परिवारका ६० वर्षीय जगदीश ठाकुर, कृष्ण ठाकुर, कृष्ण ठाकुरकी श्रीमती निरुता शर्मा, कमलेश ठाकुर र निजकी श्रीमती संगीता शर्मा, सुनील ठाकुर, नेवा ठाकुर र राजेश ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ।

घटनाको विषयमा अनुसन्धान अगाडि बढाइएको सर्लाही प्रहरी प्रमुख एसपि पोखरेलले बताएका छन्। घटनाका मुख्य अभियुक्त कमलेश ठाकुरको खोजी प्रहरीले गरिरहेको छ। ठाकुर भारतमा फरार भएको अनुमान प्रहरीको छ। बालकको शवलाई प्रहरीले दश फिट गहिरो ट्यांकीबाट निकालेको छ।

बालकको अपहरणपछि हत्या भएको खबर सुन्नासाथ बालककी आमा महासुन्दर देवी बेहोस छिन्। उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ । महासुन्दर देवीको काखमा एक वर्षको छोरा रहेको छ। गम्हरियाकै एम्थ बोर्डिङमा कक्षा २ मा अध्ययनरत बालकको अपहरणपछि हत्या भएको कुराले विद्यालयका साथै पूरा गाउँ नै शोकमा डुबेका छन्।

प्रकाशित: २४ चैत्र २०७८ १३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App