१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

कुटपिटपछि लम्बियो कामदार छनोट प्रक्रिया विवाद

अघिल्लो साता फाकफोकथुममा भएको तोडफोड।

फाकफोकथुम गाउँपालिकामा मौसमी कामदार कोरिया पठाउने विषयमा उत्पन्न विवाद कुटपिटको अवस्थासम्म पुगेपछि मिल्नुको सट्टा झन् पेचिलो बनेको छ।

सहमतिका लागि भएको वार्तापछि गाउँपालिका उपाध्यक्ष सरस्वती राई (सरु)ले एक युवकलाई कुटपिट गरेपछि सहमतिको प्रयास गिजोलिएको हो। गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठ, उपाध्यक्ष राई, वडाध्यक्षहरू र असन्तुष्ट युवाबीच शुक्रबार अपराह्न वार्ता भएको थियो।

वार्तामा सहमति हुन नसकेपछि दुवै पक्ष अर्काे चरणको वार्ता गर्नेगरी बाहिरिएका थिए। अर्काे चरणको वार्ताका लागि गाउँपालिकाले वडाध्यक्ष टेकवीर नेम्बाङको नेतृत्वमा वार्ता टोलीसमेत गठन गरेको थियो। अर्काे चरणको वार्ता सुरु हुनुअघि उपाध्यक्ष राईले वडा १ का कृष्णबहादुर खड्कालाई अनुहारमा प्रहार गरी घाइते बनाएको असन्तुष्ट पक्षका युवक दीपक योङहाङले बताए।

‘वार्तामा भएको विषयलाई झिकेर उपाध्यक्ष राईले खड्कालाई प्रहार गर्नुभएको हो,’ योङहाङले भने, ‘असन्तुष्ट युवकमाथि भौतिक आक्रमण भएपछि सहमति हुन लागेको वार्ता पनि बिथोलिएको छ।’ कुटपिटको घटना भएपछि स्थानीय प्रहरी चौकीमा घटनाबारे छलफल भएको थियो।

तर, राति अबेरसम्म पनि दुबै पक्षबीच सहमति हुन नसकेको प्रहरीले जनाएको छ। त्यही विषयमा जानकारी लिन जिल्ला प्रहरी कार्यालयका डिएसपी गंगाबहादुर थापा नेतृत्वको टोली शनिबार फाकफोकथुम पुगेको छ।

‘उपाध्यक्षले आफूमाथि कुटपिट गरेको भन्दै एक युवकले प्रहरीमा ठाडो निवेदन दिनुभएको छ,’ डिएसपी थापाले भने, ‘घटना के भएको रहेछ भन्नेबारे जानकारी लिन म पनि फाकफोकथुम पुगेको छु।’

नेपाली कांग्रेस फाकफोकथुम गाउँ कार्य समितिले आफ्ना सदस्य खड्कालाई गाउँपालिका उपाध्यक्षले कुटपिट गरी घाइते बनाएको भन्दै घटनाको निन्दा गरेको छ। यो घटनाको बेवास्ता गरिए आन्दोलन गर्न बाध्य हुनेसमेत जनाएको छ। उपाध्यक्ष राईले खाफूले खड्कामाथि प्रहार गरेको स्वीकारिन्।

‘ममाथि अश्लील शब्दसमेत प्रयोग गरेर तथानाम आरोप लगाइएपछि मैले हात थाम्न नसकेकी हुँ,’ उनले नागरिकन्युजसँग भनिन्, ‘मैले भन्दै नभनेको विषयसमेत मैले भनेको हो भनेर आरोप लगाइयो, गल्ती गर्ने अर्कै भएपनि दोषजति ममाथि जबर्जस्त थोपर्ने प्रयास भएपछि मैले आवेशमा आएर थप्पड हानेकै हो।’

चुनावको मुखमा आएर ‘भए/नभएका अरूका कमजोरी’ आफूमाथि लाद्ने प्रयास गरिएको र अश्लील शब्दसमेत प्रयोग गरिएकाले आफूले प्रतिकार गरेको उपाध्यक्ष राईको भनाइ छ। गत १५ गते जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा गाउँ कार्यपालिका बैठक बोलाएर समस्या समाधान गर्ने सहमति भएको थियो।

गाउँपालिका अध्यक्ष र असन्तुष्ट युवाले गाउँपालिकामै चैत १८ गते छलफल गरी समाधान निकाल्ने सहमति गरेका थिए। त्यही सहमतिअनुसार गाउँपालिकामा अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष राई, वडाध्यक्षहरू र असन्तुष्ट युवाबीच वार्ता भएको थियो।

वार्तामा युवाले कुनैपनि हालतमा प्रक्रियाबिना कामदार छनोट नगर्न अडान राखेका थिए। गाउँपालिकाले भने सहमतिबाटै समस्या समाधान गर्ने प्रस्ताव गरेपछि पहिलो चरणको वार्ता निष्कर्षमा पुग्न नसकेको योङहाङले बताए।

‘हामी मिलेर जानेभन्दा पनि प्रक्रिया पुर्‍याएरमात्र कामदार छानिनुपर्छ भन्ने अडानमै छौं,’ उनले भने, ‘तर, गाउँपालिका भने प्रक्रियामा जानुपर्छ भन्नेमा अझै स्पष्ट छैन, बरु यो कार्यक्रम नै खारेज गर्नेतिर सोच्दैछ।’

उपाध्यक्ष राईले प्रक्रिया नपुर्‍याइ कामदार छानिनु आफूहरूको कमजोरी नै भएको यसअघि नै पटक–पटक बताइसकेकी छिन्। ‘म अहिले पनि कामदार छनोटमा प्रक्रिया पुगेको छैन, पालिकाले प्रक्रिया पुर्‍याउनुपर्छ भन्नेमै अडिग छु,’ उपाध्यक्ष राईले भनिन्, ‘तर, प्रक्रिया नपुग्नुमा मेरो के दोष छ र ममाथि गम्भीर आरोप लगाइन्छ?’

फाकफोकथुम गाउँपालिका र दक्षिण कोरियाको इन्जे काउन्टीबीच गत पुस २४ मा सम्झौता भइ यहाँबाट मौसमी ट्रेनी कामदार कोरिया लैजाने सहमति भएको थियो। गाउँपालिकाले गत फागुन १६ मा सूचना निकालेर मौसमी कामदारका रूपमा कोरिया जान चाहने युवाबाट आवेदन आह्वान गरेको थियो।

कोरिया जान चाहने ४ सय ७७ युवाले युवाले गाउँपालिकामा आवेदन दिएका थिए। तिनीहरूमध्ये एक सय ५ जना छानिने गाउँपालिकाले बताएको थियो। तर, त्योभन्दा बढी संख्याका युवालाई गाउँपालिका अध्यक्षसहितले सुटुक्क फोन गर्दै मेडिकल जाँचमा बोलाइएको भन्दै अन्य युवा आन्दोलित बनेका थिए।

आफू छनोटमा परेको सूचना पाएको भन्दै आवेदकमध्येका साढे ३ सय युवाले कोरिया जान मेडिकल जाँचसमेत गराइसकेका छन्। आक्रोशित युवाले चैत ४ गते गाउँपालिकाको कार्यालयमा नाराबाजी गर्दै विरोध जनाएका थिए। नाराबाजीपछि चैत ७ गते वार्ता गर्ने सहमति भएको थियो।

सहमतिअनुसार चैत ७ मा वार्ता हुन नसकेपछि उनीहरूले कार्यालयमा तोडफोड गरी तालाबन्दी गरेका थिए। तर, सिडिओ माधवप्रसाद ढुंगानाले अध्यक्षलाई जिल्ला प्रशासनमै बोलाएर छलफल गर्ने आश्वासन दिएपछि गाउँपालिकाको तालाबन्दी गत १३ गते खुलाइएको थियो।

प्रकाशित: १९ चैत्र २०७८ ११:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App