२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

सक्कली सुन धितो राख्दा बैंकले नक्कली फिर्ता दिएको गुनासो

आफूलाई बैंकले फिर्ता दिएको सुन (सिक्री) नक्कली भएको गुनासो पत्रकारहरूसमक्ष राख्दै इलाम नगरपालिका–८ की बिना चेम्जोङ। तस्बिर: भीम/नागरिक

सुन धितो राखेर सरकारी बैंकबाट ऋण लिएकी एक महिलाले बैंकले आफूलाई नक्कली सुन फिर्ता दिएको गुनासो गरेकी छिन्। बैंकले आफूबाट सक्कली सुन (सिक्री) लिएको तर ऋण चुक्ता गरेपछि भने सुनको जलप लगाएको सिक्रीमात्र फिर्ता दिएको ती महिलाको गुनासो छ।  

इलाम नगरपालिका–८ की बिना चेम्जोङले सदरमुकामस्थित राष्ट्रिय वाणिज्य बैंकबाट गत असार १० मा सुन धितो राखेर ऋण लिएकी थिइन्। उनले सुनको अन्दाजी ७ आनाको औंठी, ४ आनाको पञ्चरत्न चुरा, अन्दाजी २ तोला ४ आनाको २ थान सिक्री र अन्दाजी १ तोलाको एउटा सिक्री बैंकमा राखेर १ लाख ४७ हजार रुपैयाँ ऋण लिइन्। लिएको ऋणको पहिलो किस्ता ३ हजार ८ सय ८० र दोस्रो किस्ता ३ हजार ५ सय ३५ रुपैयाँ तिरिन्। गत फागुन १ गते तेस्रो किस्तामा १ लाख ४९ हजार ४ सय ६० रुपैयाँ तिर्दा उनको ऋण चुक्ता भयो।  

ऋण चुक्ता गरेकै दिन उनले गहना फिर्ता माग्दा उनलाई करिब २ घन्टापछि आउन भनियो। उनी भनिएको समयमा बैंक पुगिन्। बैंक कर्मचारीले उनलाई पहिला धितो राखेका गहना फिर्ता पनि दिए। ‘तर, मलाई बैंकले दिएको एउटा सिक्री चाहिँ मेरो होइन भन्ने लाग्यो र तत्कालै सुन फिर्ता दिने कर्मचारीलाई यो सिक्री चाहिँ मेरो होइन भनें,’ बुधबार पत्रकारहरूसँग कुरा गर्दै चेम्जोङले भनिन्, ‘ती कर्मचारीले मलाई यो तपाइँकै हो, तपाइँलाई बैंकप्रति नै विश्वास लाग्दैन ? भनेर हप्काए पनि। त्यसरी कर्मचारीले कडा स्वर गरेपछि चुप लागेर घर फर्किएँ।’  

उनले बैंकले आफूलाई ती गहना दिनुअघि नै लाहाछाप खोलेर ल्याएको बताइन्। ‘मैले राख्न दिएको सामान फिर्ता दिँदा मेरैअगाडि लाहाछाप खोल्नुपर्नेमा अघि नै खोलिएको थियो,’ उनले भनिन्, ‘त्यस दिन घरै लगेर थन्क्याएको सिक्री पछि (फागुन २४ मा) निकालेर लगाउन खोज्दा पो हुकसमेत नभएको सिक्री फिर्ता दिइएको रहेछ।’  

त्यसपछि उनी सिक्रीमा हुक लगाइमाग्न ज्वेलरीमा गइन्। ज्वेलर्सले उनको सिक्रीलाई सुन नभई सुनको जलपमात्र लगाइएको भनेपछि झन् छाँगाबाट खसेको बिनाले सुनाइन्। ‘मलाई यो सिक्री मेरो होइन भन्ने त बैंकले फिर्ता दिएकै दिन शंका थियो,’ उनले भनिन्, ‘शंका लागेर सोध्दा उल्टै गाली खाएपछि बैंकले धोका दिएन होला भन्ने ठानेकी थिएँ। तर, ज्वेलर्सले सुन नै होइन भनेपछि म साँच्चीकै अन्यायमा परेको थाहा भयो।’  

त्यसपछि सिक्री बोकेर उनी बैंक नै पुगिन्। बैंक म्यानेजरले उनलाई ‘आफूले जिम्मा बुझेर लगेको सामान फिर्ता ल्याउन नमिल्ने’ जबाफ दिए। ‘हस्ताक्षर गरेर बुझिसकेको सामान फिर्ता हुँदैन, तपाइँ जे गर्नुहुन्छ, गर्नुस् भनेर म्यानेजरले फर्काए,’ उनले पत्रकारहरूसँग भनिन्, ‘त्यसपछि प्रहरी र सिडिओकहाँसमेत गएँ, त्यहाँबाट पनि हेरौंला, बुझौंला भन्ने आश्वासनबाहेक केही नपाएपछि पत्रकारहरूको सहयोग लिनुपरेको हो।’ उनले आफूले बैंकमा सिक्री फिर्ता लिएकै दिन प्रतिवाद गरेको, त्यसपछि पनि पटक–पटक बैंकमा गएर गुनासो गरेको बताइन्। धितो राखेर फिर्ता पाएका अरू सिक्री र पञ्चरत्न भने आफ्नै रहेको उनले सुनाइन्।

बैंकका शाखा प्रबन्धक इन्द्र कार्कीले बैंकबाट आफ्नो सामान (सुन) बुझेर लिएपछि २५ दिनपछिमात्र ‘यो सामान मेरो होइन’ भन्ने गुनासो आफूले सुनेको बताए। तर, उनले बिनाले सामान फिर्ता लिएको, लिएका बेला बैंक कर्मचारी (सर्मिला ढुंगाना)सँग संवाद गरेको चाहिँ सिसी टिभी फुटेजले पनि देखाएको बताए। ‘उहाँ (बिना)ले त्यतिबेला बैंक कर्मचारीसँग संवाद गरेजस्तो चाहिँ देखिन्छ तर मसँग चाहिँ २५ दिनपछि यो गुनासो आएको हो,’ कार्कीले भने, ‘मलाई सिडिओ साबले समेत यो विषयमा फोन गर्नुभएको थियो तर फिर्ता भएको सामान त्यसै दिन नभएर २५ दिनपछि आउँदा बैंकले के गर्न सक्छ र?’  

उनले बैंकमा दिनहुँ १८–२० जनाले सुन धितो राखेर ऋण लिइरहेको भन्दै सुनको कारोबार बढेको पनि बताए। ‘उहाँ (बिना)ले आफ्नो सुन आफूले चिन्नुपर्ने हो, त्यसै दिन मलाई गुनासो गर्नुपर्ने र ज्वेलर्सकहाँ लगेर देखाउनुपर्ने हो,’ कार्कीले भने, ‘समय धेरै बितिसकेकाले पनि भेरिफाई गर्न गाह्राे भो।’ कार्कीले लाहाछाप चाहिँ सुन फिर्ता दिने बेलैमा खोलिने र ऋण चुक्ता गरेपछि पनि राखेको ठाउँबाट (धितो) सुन झिकेर फिर्ता दिन केही समय लाग्नसक्ने बताए। ‘लाहाछाप त त्यतिबेलै खोलेर दिने हो, सम्भवतः ५–७ मिनेटअघि खोलिएको थियो होला र ऋण तिर्नेबित्तिकै सुन फिर्ता दिन केही समय लाग्नसक्छ, जुन हामीले भनेअनुसार समयमा फिर्ता पनि दियौं। अब के गर्न सकिन्छ र!’

प्रकाशित: २ चैत्र २०७८ १२:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App