१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

१८ महिने बालिकाको करणीपछि हत्या

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ की १८ महिने बालिकाको जबरजस्ती करणीपछि हत्या गरेको आरोपमा २ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।

मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले आइतबार पत्रकार सम्मेलन गर्दै बालिका हत्या घटना सार्वजनिक गरेका छन्। १८ महिनाकी बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा सुन्दरहरैँचा–७ का २८ वर्षीय मिथुन चौधरी र २५ वर्षीय अजय चौधरी पक्राउ परेका हुन्। पक्राउ परेका दुवै जना सहोदर दाजुभाइ भएको एसपी जिसीले बताए।

फागनु २७ गते शुक्रबार साँझ साढे ५ बजेतिर घरमा खेल्दै गरेकी बालिका अचानक हराएपछि खोज्ने क्रममा करिब १ घण्टापछि साढे ६ बजेतिर घरदेखि करिब डेढ सय मिटर उत्तर पश्चिममा रहेको सानो झाडीमा अचेत अवस्थामा उनकै आमाले फेला पारेकी थिइन्। नग्न अवस्था, टाउकोको दाया बाँया सुन्निएको र योनीमा रगत बगेको अवस्थामा बालिका भेटिएकी थिइन्। अचेत अवस्थामा भेटिएकी बालिकालाई तत्कालै गछियास्थित स्थानीय अस्पतालमा उपचार गर्न लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो।  

बालिकाको उपचारका क्रममा शुक्रबार राति साढे १२ बजेतिर मृत्यु भएको बताएका एसपी जिसीले भने, ‘घटनाको अनुसन्धान गर्न आफैं पुगेको र घटनाको प्रकृति हेर्दा निकै दर्दनाक देखिएको थियो। त्यस घटनाको प्रकृति हेर्दा जबरजस्ती करणी गरी हत्या गरिएको आधारमा हाम्रो टोलीले अनुसन्धान थालेको र तुरुन्तै घटनामा संलग्नहरुलाई पक्राउ गर्न सफल भएका हौं।’

शुक्रबार दिउँसो ३ बजेतिर गछिया खोलामा बालुवा चाल्दै गरेका दाइ मिथुनसँग अजयको भेटघाट भई केरा बगानमा गएर दुवै जनाले गाँजा खाए। गाँजा खाएपछि दुवै जनाको सल्लाह भएपछि अजयले बालिकालाई पहिला पनि घरमा एक्लै देख्ने गरेको हुँदा दाइलाई त यहाँ बस्दै गर सो घरमा गएर बच्चा भेटे भने लिएर आउँछु भनेर हिँडेका रहेछन्। घर नजिक एक्लै खेल्दै गरेको देखेपछि बच्चालाई १० रुपैयाँ र चकलेट दिएर बोकी झाडीमा ल्याएको देखिएको छ। यसरी ल्याएपछि अजयले करणी गर्न थालेपछि बालिका रुन थालेको र उनको टाउकोमा बियरको बोतल तथा ढुंगासमेतले प्रहार गरेको प्रहरीले जनाएको छ।  

अजयले करणी गरेपछि मिथुनलेसमेत करणी गरेपछि सोही झाडीमा बालिकालाई छाडेका थिए। उक्त घटना स्थलमा बियरको बोतल छाडेको र २ वटा ढुंगा अजयले केही पर उत्तर पश्चिममा फालेको पाइएको प्रहरीले जनाएको छ। दुवै जना लागुऔषध प्रयोगकर्तासमेत रहेको खुलेको छ। घटना भएपछि दुवै जना नजिकै रहेको रक्सी भट्टीमा गई अजयले रक्सी र मिथुनले चाउचाउ खाएका थिए। त्यसपछि मिथुन आफ्नो मामा घर गएको र केही समय अजय भट्टीतिर बसेर उ पनि मामा घर गएर बसेको अवस्थामा शनिबार बिहान दुवै जनालाई त्यहीँबाट पक्राउ गरिएको एसपी जिसीले जानकारी दिए।

अजय २ वर्षअघि २ वर्षीया बालिका अपहरण तथा शरीर बन्धक आरोपमा पक्राउ परी मुद्दा खेप्दै २०७८ मंसिर १८ गते जेलमुक्त भएका हुन्। ‘मृतक बालिकाको घर बस्तीको अन्तिममा रहेको र त्यसपछि गछिया खोला सुरु हुने हुँदा सुनसान रहेछ,’ एसपी जिसी भने, ‘पक्राउ परेकालाई कर्तब्य ज्यान र जबरजस्ती करणी मुद्दामा म्याद थपेर थप अनुसन्धान अघि बढाएका छौं।’

प्रकाशित: २९ फाल्गुन २०७८ १३:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App