१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

गोठालालाई रेडियो

धार्चे गाउँपालिका–४ लाप्राकका गोठालाहरूलाई देशविदेशको घटनाबारे जानकारी लिन सहज होस् भन्ने उद्देश्यले रेडियो उपलब्ध गराइएको छ। गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ र हाम्रो सहारा फाउन्डेसन नेपालकी अध्यक्ष कल्पना श्रेष्ठले ५० जना गोठालालाई गोठमै पुगेर रेडियो वितरण गरेका हुन्।

सोलारबाट चल्ने र घाम नलागेका बेला ब्याट्रीबाट पनि चल्ने रेडियो हातहातै पाएपछि गोठालाहरू निकै खुसी भएका धार्चे–४ लाप्राकका वडा अध्यक्ष राज गुरुङले बताए। ‘गोठमा बस्ने सबैसँग रेडियो हुँदैन, जिल्लामा, देशमा, विदेशमा कहाँ के भइरहेको छ धेरैलाई थाहा नै हुँदैन,’ वडा अध्यक्ष गुरुङले भने, ‘रेडियो भएपछि अब केही सजिलो हुने भयो।’ गोठालाहरू रेडियो साथी आफ्नो भएको बताउँदै खुसी भएका उनले बताए।

रेडियोमा जडित सोलार पाताले ब्याट्री फेरिरहनुनपर्ने, गोठमा विद्युत् नहुँदा पनि ब्याट्री चार्ज गर्न मिल्ने, बत्ती पनि बाल्न सकिने सुविधा हुँदा सजिलो भएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए। ‘गाउँपालिकाले गरेको गतिविधिबारेमा पनि रेडियो सुनेर गोठालाले थाहा पाउन भन्ने उद्देश्य हो,’ उनले भने। अभिभावक मात्र नभएर विद्यालय बन्द भएका बेला गोठमा बस्ने बालबालिकाले पनि रेडियोबाट पढ्न सक्ने, ज्ञानगुनका कुरा सिक्नसक्ने उनले बताए।

सधंै गोठमा बस्ने स्थायी गोठालालाई रेडियो दिने गाउँपालिकाको कार्यक्रम राम्रो लागेर फाउण्डेसनले सहयोग गरेको अध्यक्ष कल्पना श्रेष्ठले बताइन्। ‘रेडियोको राम्रोसँग उपयोग गर्नुहुनेछ भन्ने लागेको छ,’ उनले भनिन्, ‘अन्यत्रका गोठालालाई पनि सहयोग गर्न हामी तयार छौं।’

धार्चे गाउँपालिकाले यसअघि पनि अन्य वडाका गोठालालाई रेडियो सँगै सोलार पनि वितरण गरेको थियो। सूचना र संचारको पहुँच कम भएकाले सबैलाई यसभित्र समेट्ने गरी गाउँपालिकाले नीति तथा कार्यक्रममा यस्ता योजना समेटेको अध्यक्ष सन्तोष गुरुङ बताउँछन्।

प्रकाशित: १० माघ २०७८ ०१:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App