१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

सडक पीच भएपछि नाचे नेपाल गाउँका गाउँले

भक्तपुरको सुडालस्थित एक सडक कालोपत्र(पीच) भएपछि स्थानीय सडकमै नाचेका छन्।

चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालको थलीटारको सडक पीच भएको खुसीयालीमा स्थानीय सडकमै नाचेका हुन्। वि.सं.२०६५ सालमा ट्रयाक खोलिएको सो सडक चालू आर्थिक वर्षमा कालोपत्र भएपछि स्थानीयहरुले खुसी व्यक्त गरे। उनीहरुले सो सडकको ट्रयाक खोलेदेखि पीच नहोञ्जेलसम्म थुप्रै दुःख झेलेको समेत सम्झे।

‘पहिला एम्बुलेन्स नछिर्ने गाउँमा अहिले सरर गाडी गुड्ने पीच सडक बनेको छ’, स्थानीय गणेशबहादुर नेपालले भने, ‘यसले हाम्रो गाउँमा विकास भएको भान भएको छ, त्यही खुसीयालीमा हामी नाचेका पनि छौं।’

यस्तै स्थानीय नवराज नेपालले पनि नेपाल गाउँको मुहार फेर्ने गरी सडक कालोपत्र भएपछि आफूहरु दंग परेको बताए। ‘बाटो बनाउँदा यो अवस्थासम्म पुग्ला भन्ने सोचेका थिएनौं, अहिले बाटो फराकिलो समेत भएको छ, यसले गाउँ नै अर्को बनेको छ, ’ उनले भने।

सडक पीच भएसँगै सो सडक भएर चाँगुनारायण नगरपालिकाको ताथली, काभ्रेको बनेपा, नाला आवतजावत गर्न निक्कै सहज भएको उनीहरुको भनाइ छ। उनीहरुका अनुसार सो सडक पीच भएसँगै स्थानीय ६० घरधुरीका स्थानीय लाभान्वित भएका छन्।

सडक पीच भएको खुसीयालीमा स्थानीय सालिकराम नेपाल, केदारनाथ नेपाल, कमल नेपाल, रामकुमार नेपाल, सुदिप नेपाल, रोहन नेपाल, निश्चल नेपाल, राजेश नेपाल, गणेशबहादुर नेपाल, नवराज नेपाल र जीतबहादुर नेपाल लगायत नाचेका थिए। स्थानीयले सडक विस्तार भएसँगै स्थानीय नयाँ पुस्ता र पुरानो पुस्ता सँगै नाचेको बताए।

‘ट्रयाक खोल्दा गाली गरेका स्थानीयले समेत अहिले खुसी व्यक्त गरेका छन्, उनीहरुले स्थानीय जीतबहादुर नेपालको योगदान र पहल सम्झिरहेका छन्’, स्थानीय एवं निर्माण व्यवसायी आर्यन नेपालले भने।  

उनले सो सडक निर्माणका लागि स्थानीय तह र संघीय सरकारबाट समेत पहल भएको बताउँदै सुडालमा पनि विकासको लहर आएको बताए। सो सडकका लागि विभिन्न निकायबाट ४ करोड लगानी भएको उनको भनाइ छ।

‘पहिला विकास नभएर काठमाडौँको झोर र भक्तपुरको सुडाल भन्ने उखान नै बनेको थियो, अहिले सुडालको भित्री सडक समेत पीच भएर चिटिक्क बन्न थालेको छ’, उनले भने, ‘गाउँटोलमा आएको विकासले स्थानीय खुसी छन्।’

प्रकाशित: २ मंसिर २०७८ १०:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App