६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

इटहरी क्षेत्रबाट तीन जनाको शव भेटियो, अझै तीन जना बेपत्ता

दुई दिनअघि आएको बाढीले इटहरीबाट बगाएकामध्ये तीन जनाको शव फेला परेको छ। इटहरी वडा नं. २ को पानीपियाबाट डुबेर बेपत्ता भएका एक जना युवाको बिहीबार बिहान वडा नं. १ को आपगाछीमा शव फेला परेको हो।

इटहरी वडा नं. २ शान्तिनगरका २९ वर्षे योगेन्द्र तिवारी आँपगाछी नजिकैको नालामा मृत फेला परेका हुन्। इटहरीबाटै बाढीले बगाएका इटहरी–५ तुलसाटोलका ७१ वर्षीय चन्द्रमणि काफ्लेको पनि बुधबार शव भेटिएको थियो। यस्तैगरी, इलाम सूर्योदय वडा नं. ७ घर भई इटहरी वडा नं. २ मा मामाघर बस्दै आएका २१ वर्षे रोशन बुढाथोकीको पनि शव फेला परेको छ।

इटहरी क्षेत्रबाट छ जनालाई बाढीले बगाएको प्रहरीमा निवेदन परेकामध्ये तीन जनाको शव भेटिएपनि अझै तीन जना बेपत्ता भएको प्रहरी निरीक्षक केशव कट्वालले बताए। प्रहरी कार्यालयमा परेको निवेदनका आधारमा मोरङ सुन्दरहरैँचाका रत्न राई, इटहरी वडा नं. ९ का बिनोद पराजुली र वडा नं. ७ का कैलाश मण्डल अझैसम्म भेटिएका छैनन्।

इटहरीमा वर्षेनी वर्षातको पानीको निकास नहुँदा वस्तीका घरहरुमा पानी छिरेर क्षति गर्ने गरेको छ। अर्कातिर अविरल रुपमा परेको वर्षासँगै आएको बाढी बुढी र टेङ्ग्रा खोलाको पानी ओभरफ्लो भएर बस्तीमा प्रवेश गर्ने गरेको छ।

इटहरी वडा नं. ४ मा रहेको सबैभन्दा ठूलो बुढी खोला नजिकैको गैरीगाउँ र इटहरी वडा नं. ३ का सुनौलो बस्तीमा पनि वर्षेनी बाढीले पिरोल्दै आएको छ।

पछिल्लो समय २०७४ साउन २७ गते राति आएको बाढीले इटहरी वडा नं. ३, ४, ९ र १० मा तहसनहस पारेको थियो। नदीमा आएको बाढीले इटहरी क्षेत्रमा मात्र नौ जनाको मृत्यु नै भएको थियो।

इटहरीमा २०४३ सालमा आएको बाढीले टेङ्ग्रा खोलाको सतह पुरेको थियो। त्यसबाट साविक इटहरी १, ४ र ८ नं. वडाको भू–भागको जमिन कम्तिमा १० फुटसम्म डुवानमा परेको थियो। यस्तै, २०५३ सालमा आएको बाढीले पुनः इटहरी क्षेत्र डुबान गरेको थियो। त्यति बेला पनि इटहरीमा दुई फुुटसम्म जमिन पाङे माटोले पुरेको थियो। विसं २०७० भदौ २१ गते इटहरी क्षेत्रमा पानी परेन। तर, त्यस दिन इटहरीका मानव बस्तीमा बाढी प्रवेश गरेको थियो।

२०४० को दशकमा इटहरीको भूगोलमा मानव बस्ती पातलो थियो। यहाँको सम्पूर्ण जमिन खेतीमा प्रयोग हुन्थे। जताततै खोला पैनी वा पानी बग्ने निकाशका ठाउँहरु खुला थिए। जसले गर्दा सहजै पानी निकास हुने गथ्र्याे। तर, पछिल्लो समय खेतीयोग्य जमीनलाई टुक्राटुक्रा पारेर प्लटिङ गरी कंक्रिटका घरहरु निर्माण गर्दा निकासको समस्या रहेकाले केही घण्टा पानी पर्दा नै बस्ती डुबानमा पर्ने गरेको छ।

यसैबीच, बाढीले बगाएका भोक्राहा नरसिंह वडा नं. ७ का करन मण्डलको पनि बिहीबार शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय सुुनसरीका अनुसार बेमौसमी बाढीले गर्दा पहिरोले पुरिएर र बाढीले बगाएर अहिलेसम्म आठ जनाको शव भेटिइसकेको छ।

प्रकाशित: ४ कार्तिक २०७८ १२:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App