२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

निजी गाडीको दुर्घटनाः चालक नै निदाउँदा बढी जोखिम

बिहीबार मध्यरातको दुर्घटनामा तीनजना बेपत्ता

२०६७ असोज ६ गते काठमाडौंबाट पोखरा फर्कदै गरेको निजी गाडी पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा दुर्घटनामा पर्‍यो । त्यो दुर्घटनामा परेर चारजनाले ज्यान गुमाए । अरु दुईजना घाईते भए । कांग्रेस महाधिवेशनमा सहभागि भएर फर्किदै गरेको त्यो टोली सवार गाडी मध्यान्हको समयमा त्रिशुलीमा खसेको थियो ।  

त्यस्तै झन्डै दशक अघि पोखराबाट काठमाडौं जाँदै गरेको एकैपरिवार सवार गाडी पनि पृथ्वीराजमार्गमै दुर्घटनामा पर्‍यो । कुरिनटार क्षेत्रमा भएको दुर्घटनामा पोखराका व्यवसायीको एकै परिवारका पाँच सदस्यले ज्यान गुमाएका थिए । बिहीबार मध्यरात काठमाडौंबाट पोखरा फर्किदै गरेको एक निजी गाडी चितवनकै इच्छाकामना गाउँपालिका ५ स्थित नाग्दी खोलाबाट त्रिशुली नदीमा खस्दा तीनजना वेपत्ता भएका छन् । अर्का एकजना घाईते भएका छन् । घाइतेको अहिले उपचार भईरहेको छ ।  

मुग्लिन प्रहरीका अनुसार ग २ च ४९१८ नम्बरको कार विहीबार राती १२ बजेतिर अनियन्त्रित भई त्रिशुलीमा खस्दा पोखरा महानगरपालिका–१७ का प्रेमबहादुर भुजेल, लेखबहादुर भुजेल र इश्वरी भुजेल बेपत्ता भएका छन् । लेखबहादुर र इश्वरी दम्पत्ति हुन् । प्रेम पोखरा चेम्बर अफ कमर्सका उपाध्यक्ष हुन् । दुर्घटनामा घाइते भएका रुद्र सुवेदीलाई थप उपचारका लागि चितवनबाट पोखरा ल्याँइदै छ । सुवेदीलाई उद्धारपछि उपचारको लागि चितवन पठाइएको थियो ।  

विहीबार दुर्घटनामा परेका प्रेमका आफन्त डिबी भुजेलका अनुसार उनीहरु व्यवसायिक कामका लागि काठमाडौं गएका थिए । बिहीबार दिनभर काम सकेर बेलुकी पोखरा फर्किने क्रममा दुर्घटनामा परेका हुन् । उनीहरुले पोखराका कपडा पसल संचालन गरिरहेका छन् । दसैं नजिकिएकोले आवश्यक कपडा किन्नका लागि काठमाडौं गएर फर्किँदा दुर्घटनामा परेको भुजेलले बताए ।

‘रातीमा गाडी चलाएको अनुभव थिएन । मध्यरातमा त्यहाँ आइपुग्दा सायद चालक नै निदाउँदा दुर्घटना भएको हुनसक्छ,’ भुजेलले भने, ‘नत्र दुर्घटना हुनुको अरु कारण छैन ।’ उनका अनुसार काठमाडौंमा उनीहरुले दिनभर किनमेलको काम गरेका थिए । ‘आराम गर्नुपर्ने बेला फर्किदा दुर्घटना भयो,’ उनले भने । गाडी प्रेमले चलाएका थिए ।  

...

पृथ्वी राजमार्गमा भएका निजी गाडी दुर्घटनाका यी केही उदाहरण मात्र हुन् । राजमार्गमा दैनिकजसो सानाठूला दुर्घटना भईरहन्छन् । निजी गाडीमा ढुक्कसँग यात्रा गर्नेले किन दुर्घटनामा ज्यान गुमाउँछन् ? निजी गाडी हुनेका अनुभवमा राजमार्गमा गाडी चलाएको अनुभव कम हुन, तनावमा गाडी हाक्नु, प्रतिश्पर्धा गर्नु, रातको समयमा यात्रा गर्दा निदाउनु जस्ता कारणले दुर्घटना हुने गरेको छ । त्यसैले उनीहरु भन्छन्, रातको समयमा गाडी चलाउँदा झनै धेरै नै जोखिम छ । सहरभित्र मात्र गाडी चलाइरहेका चालकले रातको समयमा राजमार्गमा गाडी गुडाउँदा उत्तिकै जोखिमपूर्ण हुनसक्छ । त्यस्तै थकित अवस्थामा गाडी हाक्दा पनि दुर्घटनाको जोखिम हुन्छ ।  

यस्तै अनुभव छ, पोखराका पर्यटन व्यवसायी शैलेन्द्र रावतसँग । २०७५ साउन ११ गते एशियन गेमको तयारी गरेर पोखरा फर्किदै गर्दा रावतसहितका तीनजना सवार गाडी त्रिशुलीमा खसेको थियो । त्यो दुर्घटनामा परेर एकजनाको ज्यान गुमाएका थिए । रावत र अर्का पर्यटन व्यवसायी सानोबाबु सुनुवार भने गाडीको शिशा फुटाएर बाहिरिएका थिए । रावतको अनुभवमा राजमार्गमा गाडी चलाउँदा निदाउने डर हुन्छ । अझ रातीको समयमा त १२ देखि २ बजेसम्म गाडी चलाउँदा त कुनैपनि बेला जोखिम हुन सक्ने उनको अनुभव छ ।  

‘हामीसँग दिउँसोमा गाडी चलाएको अनुभव छ । तर रातीमा गाडी चलाउने गर्दैनौ । आक्कलझुक्कल चलाए मात्रै हो, नत्र रातीमा सुत्ने भएकोले त्यो समयमा गाडी गुडाउँदा निद्राले च्याप्ने गर्छ,’ उनले भने, ‘पृथ्वी राजमार्गमा रातीमा गाडी चलाउँदा पटक पटक म झस्केको छु । दिनभर काम गर्दा थकित हुन्छौ, रातीमा चलाउँदा स्वभाविक रुपमा निद्राले च्याप्छ । म पनि आत्तिन्छु । त्यसैले सकेसम्म रातीमा लामो दूरीमा गाडी हाक्दिन ।’ 

निजी  भन्दै कतिपय व्यक्ति राती अबेर गरेर यात्रा गर्ने गर्छन् । रातीमा गाडी चलाउने अनुभव कतिपयसँग हुँदैन । दिनमा पनि आराम नपुगेको अवस्थामा गाडी चलाउँदा पनि जोखिम हुने उनको बुझाई छ ।  

रावतको अनुभवमा सहमत छन मधु बास्तोला । बास्तोला २०६७ असोज ६ गते को घटनाका साक्षी हुन । बास्तोलाका अनुसार काठमाडौंबाट फर्किदै गर्दा उनीहरु दिउँसोमा दुर्घटनामा परेका थिए । तर, उनीहरु राती सुत्नै पाएका थिएनन । ‘राती अनिदो थियौ, महाधिवेशनमा गएकोले नेताहरुको रिजल्ट कुरेर बस्दा सुत्न पाएनौ । अनि दिउँसो गाडीमा फर्किदा चालक नै निदाएको अनुभव अहिले भएको छ,’ उनले भने, ‘रातभरको अनिदोमा बिहान खाना खाएपछि यात्रा गर्दै थियौं । सायद त्यही बेला चालक नै निदाएको अनुमान हाम्रो हो । चालक पनि राती सुत्न पाएका थिएनन् ।’ थकान र निद्रा नपुग्द्या आफूहरु दुर्घटनामा परेको उनको अनुमान छ । बास्तोला भन्छन्, ‘हामी राती सुत्न पाएका थिएनौ, बिहान उठेर हिँड्यौ । बाटोमा खाना खाएपछि एक्कासी निदाए जस्तो लाग्छ,’ उनले भने ।  

निद्रा नपुग्नु, राजमार्गमा गाडी चलाएको अनुभव नहुनु, तनावमा यात्रा गर्नु, सडक खालि देखेर गति बढाउनु, थकित अवस्थामा सवारी हाँक्दा दुर्घटना हुने जोखिम रहेको प्रहरीको भनाई छ । मुग्लिन प्रहरी चौकीका इन्स्पेक्टर सुर्यबहादुर रानामगर भन्छन, ‘रातीको समयमा अधिकांश दुर्घटना चालक निदाउँदा र तिब्र गतिले हुने गरेको छ । कतिपय दुर्घटना खानपिनमा पनि भर पर्छ ।’ उनका अनुसार रातीमा सकेसम्म निजी गाडी नचलाएकै राम्रो हो । किनभने रातभर गाडी चलाउने अनुभव निजी गाडीका चालकलाई हुँदैन ।  

‘सानो सहरभित्र मात्र गाडी हाँकिरहेका चालकले रातको समयमा राजमार्गमा गाडी हाँक्दा कहाँ के छ भनेर पनि हेक्का पाउँदैन,’ उनले भने, ‘त्यही भएर दुर्घटना हुनसक्छ ।’ त्यसबाहेक निजी गाडी नै हो, राती जतिखेर हिडेपनि हुन्छ भनेर हिँड्डुल गर्दा पनि दुर्घटना बढ्न सक्छन । ‘रातीको समयमा बढी दुर्घटना हुने गरेको छ । निद्रा र गति मुख्य कारण हो । अलिकति गति बढी भयो भने चालकले घुम्तिको भेउ समेत पाउँदैनन्,’ उनले भने, ‘बिहीबारको घटना पनि त्यस्तै हो । दिनभर काम गरेर मध्यरातमा नहिडेको भए दुर्घटना टर्न सक्थ्यो ।’ दिनभर आराम गरेर रातमा हिँड्दा समस्या नहुने भएपनि राजमार्गमा अभ्यस्त नहुँदा कुनैपनि ठाउँमा जोखिम आइपर्न सक्ने उनले बताए । 

प्रकाशित: ८ आश्विन २०७८ १०:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App