५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

गाउँपालिका अध्यक्षले बोलाएको बैठक बहिस्कार

आन्तरिक विवादका कारण कार्यापालिकाको बैठकसमेत बस्न नसकेको गजुरी गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट समेत ल्याउन सकेको छैन। लामो समयपछि शुक्रबार बस्ने भनिएको बैठक पनि बहुमत सदस्यले बहिस्कार गरेका छन्। जिल्लाको गजुरी गाउँपालिकाका अध्यक्षले रिसोर्टमा बोलाएको कार्यपालिका बैठक बहुमत सदस्यले बहिस्कार गरेका हुन्।

गाउँपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले बिनाएजेण्डा रिसोर्टमा बोलाएको बैठक गाउँपालिका उपाध्यक्ष सीता ढुंगानासहित बहुमत सदस्यले बहिस्कार गरेका हुन्। सिद्धलेक गाउँपालिकामा पर्ने रिभरपार्क बिच रिसोर्टमा गाउँपालिका अध्यक्षले बैठकका लागि बुक गरेको थियो। रिसोर्टका कर्मचारीका अनुसार गाउँपालिका अध्यक्ष बस्नेतले भदौ १८ र १९ गते लागि २ दिनका लागि रिसोर्ट बुक गरेका थिए।

यसअघि गाउँपालिका क्षेत्रभित्रैै तथा पालिकाकै बैठक हलमा हुने गरेपनि यसपाली गाउँपालिका क्षेत्रभन्दा बाहिर बैठक राखेकाले बहिस्कार गरेको गाउँपालिकाका उपाध्यक्ष सीता ढुङगानाले बताइन्। ‘गाउँपालिकाको सरकारी कार्यालय नै बैठक बस्ने ठाउँ छ, त्यहाँ नभएर श्रोतकेन्द्रको हल पनि छ’, उपाध्यक्ष ढुंगानाले भनिन् ‘आफ्नो पालिका छोडेर अन्यत्र रिसोर्टमा राखिएको बैठकमा सहभागी हुन उपयुक्त नठानेर रिसोर्टको बैठक बहिस्कार गरेका हौं।’

बैठकका लागि गाउँपालिका अध्यक्ष बस्नेत र १ नं. वडा अध्यक्ष राजकुमार पण्डित रिसोर्टमा पुगे पनि बाँकी ७ जना वडा अध्यक्ष र कार्यपालिका अन्य सदस्यहरु कोही पनि रिसोर्ट पुगेनन्। गाउँपालिका अध्यक्षले आफू रिसोर्टमा पुगेर बैठकमा सहभागीहरुलाई लिन स्कुल बस गाउँपालिका कार्यालयमा पठाएका थिए  तर उपाध्यक्षसहित वडा अध्यक्ष र कार्यापालिका सदस्यहरुले त्यो बस रित्तै फर्काइदिएका थिए।

गाउँपालिका अध्यक्षले भने कार्यपालिका सदस्यहरुकै सल्लाहमा कार्यालय बाहिर बैठक राखेको बताए। ‘बैठकमा गहन छलफल गर्नुपर्ने भएकोले एउटै विषयमा मात्रै लगनशील भएर काम गरौं भनेर पालिका बाहिर बैठक राखिएको हो, अध्यक्ष बस्नेतले भने, उहाँहरु सहभागी हुनुभएन।’ रिसोर्टमा दैनिक भ्याटबाहेक प्रतिव्यक्ति २५ सय रुपैयाँको दरले ३५ जनाका लागि बुक गरिएको थियो।

गजुरी गाउँपालिकाले अघिल्लो आर्थिक वर्षको खर्च अनुमोदन गर्न नसक्दा यो वर्षको बजेटसमेत ल्याउन सकेको छैन। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश घिमिरेले आफू केही दिन बिदामा बसेको र पालिकाकौ बैठक भनेर आउदाँ स्थगित भएको बताए।

प्रकाशित: १९ भाद्र २०७८ १०:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App