४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

जुवाडे भगाएको घटनाः पाँच प्रहरी निलम्बित

अन्य थप संलग्नलाई पनि कारबाही गरिने

पैसाको प्रलोभनमा परि जुवाडेलाई भगाएकाे अभियाेगमा ५ प्रहरी निलम्वनमा परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह(आरआईटी) को संयुक्त टोलीले छापा मारेर पैसाको प्रलोभनमा परि जुवाडेलाई भगाएको घटनामा ५ प्रहरी निलम्वनमा परेका छन्। वरिष्ठ प्रहरी उपरीक्षक जनकराज पाण्डेयको नेतृत्वको छानबिन टोलीको प्रतिवेदनका आधारमा ५ प्रहरीलाई निलम्वन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक बिक्रम चन्दले बताएका छन्।

निलम्वन पर्नेमा आरआईटीका प्रहरी हवल्दार नैना चन्द्र धामी, प्रहरी जवान ऐकेन्द्र खड्का, प्रहरी जवान प्रेम सिंह धामी र जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान कृष्णप्रसाद जैशी, राम सिंह कुंवर रहेका छन्। छानबिन समितिको प्रतिवेदनमा ८५ हजार मात्र बरामद गरेर जुवाडे भागेको घटनामा प्रहरीको गम्भीर त्रुटी रहेको निष्कर्ष रहेकाे उनले बताए।

प्रतिवेदनको सुझावका आधारमा जुवाडे भगाउने घटनाको थप अनुसन्धान प्रदेश प्रहरी कार्यालयले गर्नेछ। थप अनुसन्धानका आधारमा संलग्न अन्य प्रहरी अधिकारीलाई पनि कारवाही गरिने र थप अनुसन्धान गर्नुपर्ने भएकाले छानबिन समितिले बुझाएको प्रतिवेदन अहिले सार्वजनिक नगरिने उनले बताए।

जुवाडे भगाउने घटनामा संलग्न प्रहरी अधिकारीलाई कारवाही होला ?

साउन १८ गते दिउँसो धनगढी उपमहानगरपालिका वडा नं ३ बडहरा स्थित एएफसी रेस्टुरेन्टमा जुवा खेलिरहेकाे सूचनाका आधारमा पाएर जिल्ला प्रहरी कार्यालय र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आर आई टी) को संयुक्त टोली सिभिल पोशाखमा छापा मार्न गएको थियो। प्रहरी नायव निरीक्षक केशव राज जोशी पनि छापा मार्ने क्रममा गएका थिए। प्रहरी देख्ने बित्तिकै भागेका जुवाडेलाई प्रहरीले फिर्ता ल्याएर उनीहरु सँग भएको सवै पैसा असुलेर भगाएको सहभागीले नै बताएका छन्। प्रहरीले भाग्न दिएकाले उनीहरु मोटर साईकल समेत लगेर गएका थिए। 

पछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी निरीक्षक दानवहादुर रोकायको नेतृत्वमा गएको प्रहरी टोलीले ८५ हजार मात्र रकम बरामद गरेको मुचुल्का बनाएको थियो। जिल्ला प्रहरी कार्यालयले पठाएर आफू मुचुल्का बनाउन घटनास्थलमा गएको उनले नागरिकलाई बताएका थिए। जुवाडेसँग भएको ५ लाख भन्दा बढी रकम प्रहरीले लिएको आरोप प्रहरी माथि छ। जिल्ला प्रहरी कार्यालयले जुवाको खालमा छापा मारेर ठूलो परिमाणमा रकम लिएर सवै जुवाडे भगाएको घटना गुपचुप राखेको थियो। १  लाख भन्दा बढी नगद बोकिराख्ने ठूला जुवाडेहरु रहेकाले उनीहरुसँग ठूलो रकम थियो। आफूसँग भएको पैसा लगि आफूलाई छोडिदिन जुवाडेहरुले गरेको आग्रह मानेर एक जना पनि पक्राउ नगरि ८५ हजार मात्र भेट्टाएको र जुवाडे भागेको मुचुक्ला बनाएर प्रहरी टोली फर्केको थियो।

ठूलो जुवाको खालमा छापा मारी प्रहरीले पैसाको प्रलोभनमा परेर सवै जुवाडे भगाएको घटनाको समाचार दुई दिन पछि नागरिकमा प्रकाशित भएको थियो। समाचार प्रकाशित भैसकेपछि पनि कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्ट र जिल्ला प्रहरी प्रमुखले प्रहरीले पैसा असुलेर जुवाडे भगाएको समाचार गलत भन्दै समाचारको खण्डन गर्न सक्दो प्रयास गरेका थिए। प्रहरी नायव उपरिक्षक बिष्टले जुवा भैरहेको सुचना पाएपछि प्रहरी पठाएको र प्रहरीले जुवाडेलाई भगाएर रकम लिएको भन्ने कुरा सत्य नभएको नागरिकलाई बताएका थिए।

संचार माध्यममा घटना प्रकाशित भएपछि स्थानीयको व्यापक बिरोध र प्रहरी केन्द्रीय विभागको चासोका कारण पछि होटल संचालक सहित ५ जना जुवाडेलाई प्रहरी पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालयमा पक्राउ परेका ५ जनालाई सार्वजनिक गर्दै र सिसी क्यामेराको दृष्य देखाउदै प्रहरीले छापा मारेर जुवाडेलाई नभगाएको र पैसा नलिएको प्रष्टीकरण समेत दिएका थिए। अन्य ५ जना जुवाडे अझै पक्राउ परेका छैनन्।

छानबिन समितिले गरेको छानबिनको प्रहरीले छापा मारेर जुवाडे भगाएको घटनामा प्रहरीको त्रुटी रहेको निष्कर्ष छ। प्रहरीले पैसाको प्रलोभनमा परेर जुवाडे भगाएको घटनामा छानबिन समितिले त्रुटी भएको निष्कर्ष निकालेपछि सूचना पाएर प्रहरी टोलीलाई घटनास्थलमा पठाउने, मुचुल्का बनाउन प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली पठाउने, घटनाको ढाकछोप र बचाउ गर्ने प्रहरी अधिकारीलाई पनि कारवाही हुनुपर्ने एक प्रहरीले बताए। 

‘सधै तल्लो स्तरका प्रहरीलाई मात्र मोहडा बनाइनु हुँदैन’, उनले भने,‘फिल्डमा खटिनेको मात्र दोष हुने निर्देशन दिने दोष नहुने कसरी हुन्छ ?’ छानबिन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गरिएको छैन। छानबिन समितिका संयोजक वरिष्ठ प्रहरी उपरीक्षक पाण्डेयले तल्लो स्तरका ५ जना प्रहरी निलम्वन गरिएपनि यसमा संलग्न प्रहरी अधिकारीलाई पनि कारवाहीका लागि प्रतिवेदनमा सिफारिस गरिएको बताए। तर कुन कुन प्रहरी अधिकारीको संलग्नता रहेको भनेर उनले खुलाएनन्। 

छानबिन समितिकै एक अधिकारीले घटनामा एस पी, डिएसपि, ईन्सेपेक्टर जस्को जे भूमिका देखिएको छ, त्यो भूमिका प्रतिवेदनमा स्पष्ट उल्लेख गरेर बुझाएको र प्रदेश प्रहरी कार्यालयले तेहि अनुसार कारवाही गर्ने बताए। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता चन्दले छानबिन समितिको प्रतिवेदनको सुझावका आधारमा थप अनुसन्धान हुने र संलग्न कुनै प्रहरी अधिकारी पनि नजोगिने बताएका छन्। ‘थप अनुसन्धान गर्नुपर्ने देखिएको छ, हामी सवै माथि अनुसन्धान गर्छौ र संलग्नता देखिएका कोही पनि जोगिदैन।’

संचार माध्यममार्फत घटना सार्वजनिक भएपछि प्रहरी केन्द्रीय बिभागको निर्देशनमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेलले वरिष्ठ प्रहरी उपरीक्षक पाण्डेय संयोजक, प्रहरी उपरीक्षक दिलिप सिंह देउवा र प्रहरी निरीक्षक हिक्मत वोहरा सदस्य रहेको छानबिन समिति गठन गरेको थियो।  

प्रकाशित: २९ श्रावण २०७८ ११:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App