२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

‘आपराधिक घटना झन्झन् बढिरहेका छन्’

सरकारले आपराधिक घटना रोकथाम गर्ने प्रतिबद्धता जनाइरहँदा पछिल्ला वर्षहरूमा यस्ता घटना झन्झन् जटिल बन्दै गइरहेका छन्। जनचेतना अभाव, अशिक्षा, कुसंस्कारजन्य बेथिति, गरिबी, बेरोजगारी, आर्थिक लेनदेन, बदलाको भाव, रिसइबी, झैझगडालगायत कारणले हत्याहिंसाजस्ता जघन्य अपराध हुने गरेको प्रहरी तथ्यांकले देखाउँछ।

प्रहरी तथ्यांकअनुसार २०७३/७४ मा १ सय २३ जना, २०७४/७५ मा १ सय १६ जना, २०७५/७६ मा १ सय २० जना, २०७६/७७ मा १ सय २२ जनाको हत्या भएको छ। गोली हानेर, कुटपिट गरेर, थुनुवा बनाएर, पानीमा डुबाएर, विषालु पदार्थ ख्वाएर, झुन्ड्याएर लगायत अनेक यातना दिएर हत्या हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरी तथ्यांकअनुसार पाँच वर्षयता हत्या हुनेमध्ये बालबालिकाको संख्या बढी छ। पारिवारिक रिस पोख्न बालबालिकालाई हत्याको निसाना बनाइएको अनुसन्धानले देखाएको छ। 

अधिकांश आपराधिक घटना पारिवारिक लेनदेन तथा रिसइबीका कारण हुने गरेको अनुसन्धानले देखाउँछ। प्रहरी तथ्यांकअनुसार गत आर्थिक वर्षको चैतमा ७५, वैशाखमा ५४, जेठमा ४९ र असार २५ जनाको हत्या भएको छ। हत्या हुनेमा १८ जना बालबालिका मात्र छन्। नेपाल प्रहरीका पूर्वडिआइजी वसन्त कुवँरले पछिल्लो समय आपराधिक घटना बढेको बताए। उनले पछिल्ला वर्षहरूमा भएको अपराधिक घटनालाई हेर्दा पाँच वर्षयता यस्ता घटना तीव्र रूपमा बढेको जानकारी दिए। ‘हामीले अपराध कम भएको जस्तो त ठानेका छौं तर अपराध बढेको छ,’ उनले भने, ‘तथ्यांक केलाएर हेर्दा समाज झन् असुरक्षित बनेको छ।’

नेपाल प्रहरीका प्रवक्ता वसन्त कुवँरका अनुसार तराईका जिल्लाहरूमा हत्याका घटनाहरू बढेका छन्। अभिभावकसँगको रिस साँध्न बालबालिको हत्या भएका घटनाहरू बढेको उनको भनाइ छ। ‘हत्याका घटना कसरी बढिरहेका छन् भनेर भन्न सकिन्न तर पछिल्लो समय केही घटना बढेका छन्, त्यसको निसानामा बालबालिका पनि रहेको देखिन्छ, हत्या भएका अधिकांश घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ, बाहिर आएका केही घटना हत्या भनिए पनि अनुसन्धानपछि त्यसको तथ्य अर्कै हुन सक्छ,’ उनले भने। 

उनका अनुसार हत्याका घटना पुष्टि गर्न समय लाग्छ। गम्भीर अपराध गरेर फरार हुने व्यक्तिलाई प्रहरीले चौतर्फी खोजीकार्य गरेको उनको भनाइ छ। ‘तराईका जिल्लामा भएका हत्याका घटनाको अनुसन्धान गर्दा हत्याराहरू सीमापारि गएर लुक्छन्, त्यसकारण प्रहरीलाई पनि अनुसन्धान गर्न कठिनाइ छ,’ उनले भने, ‘तर ढिलोचाँडो पक्राउ परेका छन्।’  

गत वैशाखमा बारामा एकै परिवारका दुई बालकको हत्या भएको थियो। घरदेखि नजिकै बाख्रा चराउन गएको अवस्थामा मदरसा परिसरमा उनीहरूको हत्या भएको थियो। कलैया उपमहानगरपालिका–७ रंगपुरका नौ वर्षीय उस्मान अन्सारी र सात वर्षीय अमिन अन्सारको घाँटी रेटेर हत्या भएको प्रहरीले पुष्टि गरिसकेको छ। वैशाखमै लमजुङका सात वर्षीय बालक युकेश गुरुङको हत्या भयो। दूधपोखरी गाउँपालिका–३ फुलिङगिरीका युकेशलाई परिवारकै सदस्यले ऐना फुटाएको निहुँमा हत्या गरेका थिए।

यस्तै फुलिङगिरी प्रावि कक्षा २ मा पढ्ने उनी वैशाख १ गते साँझ घरनजिकै मृत अवस्थामा भेटिए। चिर्पट प्रहार गरेर उनको हत्या भएको प्रहरी अनुसन्धानपछि पुष्टि भयो। जेठमा हतौडा प्रहार गरी दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भयो। मामाघर आएका बेला नारायण भुलले घरमै हथौडा प्रहार महेशको गरेका थिए। 

कैलालीको टीकापुर नगरपालिका–१ का विवेक विष्ट सोमबार बिहान ११ बजे घरनजिकैबाट बेपत्ता भए। परिवारले प्रहरीलाई जानकारी गराएपछि खोजी गर्दा उनको बुधबार हत्या गरिएको अवस्थामा शव फेला पर्‍यो। शव झाडीमा अड्किएको अवस्थामा भेटिएको थियो। टीकापुर नगरपालिका–४ बाघमारास्थित जमरा कुलोमा शव भेटिएको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी प्रकाश सापकोटाले पुष्टि गरे।

यी उदाहरण कलिलो उमेरमै हत्याराको निसाना बनी ज्यान गुमाउनेहरूका हुन्। बालबालिका मात्रै होइन, पछिल्लो समय किशोरीहरूको पनि हत्या हुने क्रम बढेको छ। ललितपुरका प्रहरी प्रमुख किरण बज्राचार्यले सामान्य निहुँ तथा अपराध गर्न हिँडेका व्यक्तिले सानो अपराध लुकाउन ठूला अपराध गर्ने गरेको बताइन्। उनले पछिल्ला घटनाहरूलाई हेर्दा त्यसको निसाना बालबालिका पनि हुने गरेको जानकारी दिइन्। ‘अहिले हत्याका घटना बढिरहेका छन् तर ती हत्या कसरी भए भनेर अनुसन्धान गर्दा एउटा घटना लुकाउन अर्को घटना घटाइएको भेटिएको छ,’ उनले भनिन्, ‘चोरी गर्न हिडेकोेले हत्या नै गरेर फर्किएका घटना पनि छन्।’ उनका अनुसार यस्ता घटना ग्रामीण क्षेत्रमा बढ्न थालेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले सानो निहुँमा ठूल्ठूला हत्याका घट्ना हुने गरेको बताए। उनले भने, ‘कमजोर मानसिकता र आवेगले गर्दा हत्याका घटना भइरहेका छन्। बलात्कार, लुटपाट, चोरी, झैझगडाजस्ता अपराध लुकाउन अपराधीले हत्याको मानसिकता बनाउने गरेको पाइन्छ।’ उनले दुस्मनी साँध्दा र बदलाको भाव राख्दा जघन्य अपराधहरू बढिरहेका बताए।

हालै गृहमन्त्रीको पद सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले पनि पछिल्लो समय बालबालिका हत्या, महिला हिंसालगायत घटना बढिरहेकाले राज्यले यसको निराकरणमा चासो र चिन्ता राखेको बताए। उनले समाजसेवी, कर्मचारी, बालबालिका, सुरक्षा निकायका प्रमुखलगायतसँग अपराध न्यूनीकरण र रोकथामबारे छलफल गरेको जानकारी दिए। 

पछिल्लो समय ठाउँठाउँमा हुने हत्या र गम्भीर अपराधका घटनाले राज्यलाई नै कमजोर पारेकाले राज्यले त्यसबारे बढी चासो राख्ने गरेको बताए। उनले भने, ‘आपराधिक घटना बढिरहनु राम्रो होइन, यस्ता घटनाले समाजलाई झन् असुरक्षित बनाइरहेको हुन्छ, समाजमा सबै सुरक्षित साथ जिउन पाउनुपर्छ।’ उनले सामाजिक अपराध कम गर्न सबै प्रहरी एकाइहरूलाई निर्देशन दिइरहेको जानकारी दिए।

प्रकाशित: १० श्रावण २०७८ ०२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App