५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

दुःखको पहाडले थिचिएकी मुना

मुना र उनकी छोरी । तस्बिर : योगेश रावल

मुना थापा (३०) को बाल्यकाल हाँसीखुशी नै थियो । बुवा प्रहरीको जागिरे । आमाले घरधन्दा सम्हालेकी थिइन् । दुईजना दाजुभाई थिए । कैलालीको चौमालास्थित राजीपुरमा रहेको सानो परिवारको दिनचर्या राम्रैसँगै बितिरहेको थियो ।  

बुवाको एउटा गल्तीले उनको परिवारको सबै हाँसोखुशी लुट्यो । बुवाले अर्को बिहे गरे । उनकी आमाका यातनाका दिन सुरु भए । त्यसको मारमा उनी लगायत दाजुभाई पनि परे । उनकी आमाले श्रीमानको यातना सहन सकिनन् । उनी छोराछोरी बोकेर माइती साविक मोहन्याल गाविसको पाल्सा पुगिन् ।  

माइतीको अवस्था पनि राम्रो थिएन । उनले जेनतेन छोराछोरीको पालनपोषण गरिन् । छोरा हुर्किएपछि पुख्र्यौली थलो प्यूठान फर्किए । उनीहरु दुवैजना अहिले प्यूठानको साविक बिजुली गाविस उदीमा घरजम गरेर बसेका छन । मुना आमासँगै थिईन । गाउँकै विद्यालयमा ५ कक्षासम्म पढिन । त्यो भन्दा माथि पढाउने सामथ्र्य उनकी आमासँग थिएन ।

मुना एकदिन घर छोडेर हिँडिन् । उनको भेट भारत खटिमा नानकमथ्था उद्यमनगरका दिनेश रानासँग कञ्चनपुरको महेन्द्रनगरमा भयो । उनीहरुबीचको चिनजान माया प्रेममा परिणत भयो । दुवैजनाले बिहे गरे । उनीहरुको वैवाहिक जीवन ५ वर्ष चल्यो । त्यतिञ्जेल मुना १ छोरी र १ छोराको आमा बनिसकेकी थिईन ।  

अचानक दिनेशको स्वभाव परिवर्तन भयो । उनले मुनालाई यातना दिन थाले । परदेशको ठाउँमा मुनाको आफ्नो भन्ने कोही थिएन । उनी छोरीलाई दिनेशकै घरमा छोडेर नाबालक छोरा बोकेर हिँडिन् ।  

उनको जाने ठाउँ आमा बाहेक कहिँ थिएन । आमासँगै एक दुई महिना बसिन् । वृद्ध आमाका लागि बोझ बन्नु भन्दा काम गरेर जीवनयापन गर्छु भनेर उनी भारत पसिन् । भारतको रत्नागिरीमा आँप टिप्ने काम पाईन । उनी त्यहाँ छ महिना बसिन् ।  

रत्नागिरी बसाईको क्रममा उनको भेट कैलालीको मसुरीयाका टेक कठायतसँग भयो । एक्लो जीवन बिताईरहेकी मुनालाई टेकले साथ दिने वाचा गरे । उनी टेकको मायामा परिन । उनीहरु दुवैजनाले बिहे गरे । उनीहरुको वैवाहिक जीवन डेढ वर्ष चल्यो । त्यो क्रममा घरमा आउजाउ भैरहन्थ्यो ।  

मुनाको पेटमा टेकको भ्रुण हुर्किँदै थियो । टेकले पनि दिनेशले झैं यातना दिन थाले । उनी टेकसँग पनि बस्न नसक्ने भईन् । गर्भमा हुर्किँदै गरेको टेकको चिनो बोकेर उनी अघिल्लो जेठमा फेरि आमाको घरमा फर्किइन् । त्यही उनले छोरीलाई जन्म दिईन् ।  

चिसापानीका हर्कबहादुर रोकामगर सडकमा काम गर्छन् । उनी कामको सिलसिलामा मोहन्याल पुगेका थिए । मुनाकी आमा र रोकामगरको चिनजान भयो । रोकामगरले मुनाकी आमासँग आफू बिहे गर्ने सोचमा रहेको बताए । मुनाकी आमालाई ‘ढुंगा खोज्दा देउता भेटिए’ जस्तै भयो । उनले आफ्नी छोरीसँग बिहे गर्न सुझाव दिईन् । रोकामगर सहमत भए । तर सुत्केरी अवस्थामा रहेकी मुना भने यस कुरामा सहमत भईनन् ।  

आमाले भनेको नमाने घरबाट निस्किन भन्दै दवाव दिईन् । मुनालाई दुई छोराछोरी बोकेर कता जाउँ भैरह्यो । उनी केही सोच्न सक्ने अवस्थामा थिईनन् । रोकामगरले मुनालाई काम खोजी दिने आश्वासन दिए । रोकामगरले फकाईफुलाइ गरेपछि मुना रोकामगरसँगै चिसापानी हिँडिन् ।  

मुनालाई लगेर रोकामगर घर पुगे । उनको घरमा पहिल्यै श्रीमती र छोराछोरी थिए । घरको अवस्था देखेपछि मुना ससंकित भईन् । केही दिनपछि रोकामगरले मुनालाई बिहेका लागि दवाव दिन थाले । उनले अस्विकार गरिन् ।  

यही क्रममा उनीहरुबीच झगडा भयो । उनले यातना दिन थाले । मुनाले आफ्नो सबै व्यथा स्थानीय एक युवालाई सुनाईन । तिनै युवाले मुनालाई सहारा घरको बाटो देखाए । सहारा घरका सञ्चालक बलबहादुर बिष्ट चिसापानी पुग्दा मुना विक्षिप्त अवस्थामा थिईन् ।  

उनले ३ वर्षको छोरा रोसनलाई सिक्रीले बाँधेर राखेकी थिईन् । रोसनलाई मानसिक समस्या छ । उनी बोल्न सक्दैनन् । उनी अस्वभाविक व्यवहार देखाउँछन् । मुनाले छोरालाई नियन्त्रणमा राख्न बाँधेर राखेकी थिईन् । यही क्रममा उनले छोरालाई शारीरिक यातना समेत दिईन् ।  

यतिबेला उनी मानसिक सन्तुलन गुमेका छोरा र छ महिनाकी छोरी अष्मितासहित बर्दगोरीयास्थित सहारा घरमा बसेकी छन् । सहारा घरमा उनलाई खान बस्न त कुनै समस्या छैन तर पनि उनी त्यहाँ धेरै दिन बस्न चाहेकी छैनन् । ‘यहाँ कुनै समस्या त छैन’, उनले भनिन्, ‘तर म छोराछोरीलाई आफै पाल्न चाहन्छु ।’  

उनीसँग छोराछोरीलाई कहाँ लगेर कसरी पाल्ने भन्ने प्रश्नको जवाफ भने छैन ।

प्रकाशित: १० जेष्ठ २०७८ ०७:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App