५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

कोरोना कहरमा सहयोगी बन्दै युवाहरु

यी युवाहरुका आफ्नै व्यवसाय छन्। कोही जागिरे छन् त कोही व्यापार व्यवसाय गर्छन्। यतिबेला उनीहरु आफ्ना पेशा व्यवसाय थाँती राखेर सेवामा जुटेका छन्।  

कोरोनाले स्थिति असामान्य बन्यो। अस्पतालमा बिरामीको घुँइचो लाग्यो। टाढाबाट आएका बिरामी र उनीहरुका आफन्त भोकभोकै बस्नुपर्ने बाध्यता भयो। अस्पताल आसपासका सबै होटल बन्द रहे।  

बिरामी र उनीहरुका आफन्तले भोगेको यही समस्यालाई मध्यनजर गरेर स्थानीय युवाहरु खानाको व्यवस्थापनमा जुटे। टीकापुर अस्पताल हाताभित्रै भान्सा तयार पारे। अहिले त्यही भान्सामा तयार पारेको खाना बिरामी र उनीहरुका आफन्तले खाइरहेका छन्।

युवाहरुले सुरुमा आफै पैसा जुटाए। युवा संघ नेपाल युवा शक्ति विभागका संयोजक अशोक रावल एक्लैले एक लाख रुपैयाँ दिए। उनकै नेतृत्वमा युवाहरु बिरामी र उनीहरुका आफन्तलाई खानाको व्यवस्थापनमा जुटेका छन् ।  

युवाहरुले खानाको व्यवस्थापन गरेसँगै सहयोगी हातहरुसमेत बढ्न थालेका छन्। केही व्यक्तिहरुले दाल चामल लगायतका खाद्यान्न सहयोग गरेका छन् भने कसैले उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन्।  

‘हामी आफैले रकम जम्मा गरेर सुरु गरेका हौं। अहिले अरुले पनि सहयोग गर्न थाल्नु भएको छ’ संयोजक रावलले भने, ‘सहयोगी हातहरु बढ्दै गएका छन्।’  

युवा संघमा आवद्ध युवाहरुले टीकापुर अस्पतालमा रहेका बिरामी र उनीहरुका आफन्तको बिहानको खाजा र साँझको खानाको व्यवस्थापन सम्हालेका छन्। बिहानको खाना भने मैनादेवी फाउण्डेशनले खुवाइरहेको छ। उसले विगत ११ दिनदेखि टीकापुर अस्पताल र सिटी हलमा रहेको अस्थायी कोभिड अस्पतालमा खाना उपलब्ध गराइरहेको छ। अध्यक्ष केपी खनालले कञ्चन खाद्य उद्योग अस्नेहरीले खाद्यान्न सहयोग गरिरहेको बताए।

उनले फाउण्डेशनले अक्सिजन लगायतका काममा समेत सघाइरहेको जानकारी दिए। ‘हामी टीकापुरमा मात्रै हैन अन्य ठाउँका अस्पतालहरुमा समेत सहयोग गर्ने तयारीमा छौं’, उनले भने, ‘सहयोगी हात बढेसँगै सेवा बिस्तार गर्छौं।’  

टीकापुर अस्पतालको प्रवेशद्वारकै छेउमा स्थानीय प्रयास युवा क्लबका युवाहरु सेवाका लागि बसेका छन्। उनीहरु विगत तीन दिनदेखि अस्पतालमा आउने बिरामी र उनीहरुका आफन्तलाई स्वास्थ्य सामग्री बाँड्न सक्रिय छन्। उनीहरुले दैनिक करिव १५० जनालाई मास्क, सेनिटाइजर, पञ्जा लगायतका स्वास्थ्य सामग्री वितरण गरिरहेका छन्। यसका साथै युवाहरुले पानी र अटो एम्बुलेन्स सेवासमेत प्रदान गर्दै आएको क्लबका उपाध्यक्ष उमेश नाथले जानकारी दिए।  

क्लबमा आवद्ध ९ जना युवाहरुले आफै रकम संकलन गरेर यस्तो सेवा सुरु गरेका हुन्। उनीहरुले प्रतिव्यक्ति एक हजारका दरले रकम संकलन गरेका थिए। क्लबमा आवद्ध अधिकांश युवाहरु विद्यार्थी छन्।

कोरोना कहरमा समस्यामा परेका सर्वसाधारणलाई सहयोग गर्ने उद्देश्यले स्थानीय ६ युवाहरुले सहारा अभियान सुरु गरेका छन्। उनीहरुले खाद्यान्न नभएका सर्वसाधारणका घरमै पुगेर खाद्य सामग्री उपलब्ध गराइ रहेका छन्। उनीहरुले पनि आफै रकम संकलन गरेर अभियान सुरु गरेका हुन्। ‘भोकभोकै बस्नुपर्ने अवस्थाका व्यक्तिहरुलाई मात्रै सहयोग गरिरहेका छौं’ चक्रचन्द सोडारीले भने, ‘घरमा पुगेर उनीहरुको अवस्था हेरेर मात्रै दिन्छौं।’ 

प्रकाशित: ७ जेष्ठ २०७८ ११:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App