१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

कोरोना उपचारमा कर्णाली भरोसा

एक साताअघि हुम्लाका एक स्वास्थ्यकर्मीको स्वास्थ्य अवस्था कोरोना संक्रमणका कारण जटिल बन्दै गएपछि हेलिकप्टरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइयो । उनको अहिले उपचार भइराखेको छ । झण्डै एक महिना अघि सुर्खेतका ६ जना संक्रमित अस्पताल खोज्दै जुम्ला पुगे ।  

उनीहरुको उपचार कर्णालीमै भयो । कालिकोट तिलागुफा नगरपालिकाका दुई जना संक्रमितको अवस्था जटिल बनेपछि कोभिड अस्पताल कालिकोटले बिरामी जुम्ला पठायो । एक जनाको मृत्यु भइसकेको छ । एक जना उपचार गराइराखेका छन् । अहिले सम्मको अवस्था हेर्दा कर्णाली अस्पताल प्रति सबैको भरोसा छ । कर्णालीले स्वास्थ्य सेवा, जनशक्ति र स्वास्थ्य क्षेत्रको अनुसन्धान पनि गर्दछ भन्ने विश्वास गर्न थालिएको छ ।  

जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल कोरोना कहरमा सबैको आशा र भरोसाको केन्द्र बनेको छ । कर्णाली प्रतिष्ठानबाटै कोरोना संक्रमणका बिरामीको उपचार गर्न चिकित्सकहरु परिचालित छन् ।  

तत्कालिन कर्णालीको मुगु,कालिकोट, हुम्ला, डोल्पा, जुम्लाका सबै स्थानीय तह, पश्चिम रुकुम र बाँके जिल्लामा कर्णालीमा उत्पादित चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन भएका हुन् । उनीहरु दत्तचित्त भएर कार्यक्षेत्रमा कोरोना संग लडिरहेका बिरामीको उपचारमा संलग्न भइराखेका छन् ।  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका प्रवक्ता डा. रमेश भट्टराई कोरोनाविरुद्धको लडाईमा कर्णाली प्रतिष्ठानको झण्डै दुई दर्जन जनशक्ति परिचालन भएको बताउँछन । उनले भने,‘कर्णाली प्रतिष्ठानको जनशक्ति प्रति सबैको भरोसा छ । चिकित्सक तथा स्वास्थ्यकर्मी तत्कालिन कर्णाली र बाहिरका जिल्लामा खटिएर काम गरिराखेका छन् । कोरोना मैदानमा कर्णाली प्रतिष्ठानले खेलेको भूमिका सन्तोषजनक नै देखिएको छ । ’

उनका अनुसार कर्णालीको मुगुमा सहायक प्रध्यापक डा.सिद्धार्थ ध्वज खाती र मेडिकल अधिकृत डा. रेखा कार्की खटिएका छन् । कालिकोटमा सहायक प्रध्यापक डा. रिबिन खापुङ र डा.सुबि बस्न्यात,हुम्लामा सहायक प्रध्यापक डा.माणिक न्यौपाने र ओटि सहायक राजबहादुर खत्री, डोल्पामा लेक्चर डा. अभिसेक ठाकुर र सिनियर अहेब कर्मेन्द्र न्यौपाने खटिएका छन् ।  

यसैगरी पश्चिम रुकुममा सह प्रध्यापक डा.अनुप मंगल समाल र लेक्चर सिला थापा खटिएका छन् । बाँकेमा सह प्रध्यापक प्रविण गिरीको नेतृत्वमा ६ जनाको चिकित्सक टोली पठाइएको छ । प्रतिष्ठानले जुम्लाका सबै स्थानीय तहमा रहेका कोभिड अस्पतालमा एक एक जना चिकित्सक खटाएर उपचार सेवा प्रदान गरिरहेको छ ।  

पहिलो लहरको कोरोना नियन्त्रण र उपचारमा राम्रो भूमिका निर्वाह गरिरहेको कर्णाली प्रतिष्ठानले दोस्रो लहरमा पनि आफूलाई अब्बल सावित गर्न कसरत गरिरहेको छ ।  

प्रवक्ता डा. रमेश भट्टराईले कोरोना नियन्त्रण र उपचारमा कुनै कसुर बाँकी नरहेको बताए । उनले भने,‘पहिले सामान्य उपचारका लागि भौतारिने कर्णालीले अहिले कोरोना महामारीको समयमा राम्रो चिकित्सक र उपचार सेवा दिएर प्रशंसा बटुलिरहेको छ । यो भन्दा कर्णालीको लागि खुसीको कुरा के हुन सक्छ । ’

प्रतिष्ठानमा छातिरोग विशेषज्ञको नेतृत्वमा १२ बेडको आइसियु,२४ बेडको एचडियु,तथा ८४ शैया गरि १ सय २० बेड कोरोना उपचारका लागि व्यवस्थापन गरेको बताए । कर्णाली कोरोना मैदानमा अब्बलता प्रदर्शन गर्न चाहन्छ,उनले भने,‘त्यसका लागि कर्णालीवासीले स्वास्थ्य र सुरक्षा मापदण्डको परिपालना गर्न आवश्यक छ । ’

प्रवक्ता डा. रमेश भट्टराईले हाल अक्सिजन प्लान्टबाट र ११० अक्सिजन सिलिण्डरले अक्जिसनको व्यवस्थापन भइरहेको बताए । विरामीको चाप बढ्दो क्रममा छ,उनले भने,‘प्रदेश सरकार संग समन्वय गरेर थप ३६० सिलिण्डर खरिद प्रक्रिया सुरु भइसकेको छ । केन्द्र सरकारसंगको समन्वयमा थप अक्सिजन प्लान्ट र बुस्टर खरिद गरि अक्सिजनको व्यवस्थापन गर्न लागि परेको छ । ’

प्रतिष्ठानमा संक्रमित नमुनाको पिसिआर परीक्षणलाई निरन्तरता दिँदै आएको उनले बताए ।

प्रकाशित: ७ जेष्ठ २०७८ ११:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App