४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

पिसिआर रिपोर्ट नआउँदै गोरखामा दुई जनाको मृत्यु

पिसिआर रिपोर्ट नआउँदै दुई जनाको शुक्रबार मृत्यु भएको छ। पालुङटार नगरपालिका वडा नम्बर २ सिमपानीका ६५ वर्षीय रामचन्द्र बस्नेतको आँपपिपल अस्पतालमा आज दिउँसो २ः४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।  

छिमेकमा कोरोना संक्रमण देखिएपछि उनको वैशाख २७ गते उनको पिसिआर परीक्षणका लागि स्वाब लिइएको पालुङटार नगरपालिकाका स्वास्थ्य शाखाका दिपेन्द्र गिरीले बताए। स्वासप्रश्वासमा समस्या आएपछि उनलाई २ बजे आँपपिपल अस्पताल भर्ना गरिएको थियो। उच्च रक्तचाप र मधुमेहको बिरामी रहेका बस्नेतलाई केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए।  

यस्तै गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ४ का बाबुराम लामिछानेको उपचारको क्रममा मृत्यु भएको छ। वैशाख २८ गते घर नजिकै स्वास्थ्य संस्थामा कोरोना परीक्षणका लागि स्वाब दिएका उनको रिपोर्ट अझै नआएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले बताए।  

परिवारका सदस्यलाई कोरोना पोजेटिभ देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा उनी परेका थिए। २९ गते स्वास्थ्यमा थप समस्या भएपछि उपचारका लागि टेकु पुगेका उनको मृत्यु भएको अस्पतालले जनाएको छ। तर उनको पिसिआर रिपोर्ट भने अझै आएको छैन।  

मृतकको पिसिआर रिपोर्ट नआउँदा दाहसंस्कार गर्न परिवारलाई समस्या भएको छ। छिटो रिपोर्ट पठाउन गण्डकी प्रदेशको प्रयोगशालामा भनिएको स्वास्थ्य शाखाले जनाएको छ।

प्रकाशित: ३१ वैशाख २०७८ १०:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App