१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

'किनभने बाँच्न जरुरी छ'

सामाजिक सञ्जालमा आफ्नो पीडा पोख्दै किशोर ।

नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमणले मिर्गौला पीडितलाई अझ समस्या भएको भन्दै सामाजिक सञ्जाल इन्टाग्राममा एक युवाले आक्रोस पोखेका छन्।

मिर्गौला रोगबाट समस्याबाट विगत ४ वर्षदेखि समस्यामा रहेका आफ्नो बुवालाई नियमित गराउनुपर्ने डायलासिसको क्रममा भोगेको पीडा उनले बताएका छन्। पछिल्लो समयमा प्रहरी, प्रशासन, अस्पताललगायतले दिएको सास्तीबारे इन्टाग्राममा टिपिकल नेपाली नामक एक युवाले आफ्नो लागि मात्र नभएर अन्य व्यक्तिका लागि पनि ती विषय उठाएको बताए। ‘मेरो ड्याडको लागि सेल्फिस भएर मात्र हैन,’ उनले भनेका छन,‘मैले ४/५ जना भेटेँ जसको ममी बाबाको डायलासिस पनि भइरहेको छैन।’  

ती युवाले बुवाको डायलासिस नेसनल मेडिकल कलेज वीरगञ्जमा भइरहे सुनाए। कोभिड संक्रमित भएपश्चात नेसनल मेडिकल कलेजले ‘तपाईंको बाबाको अक्सिजन स्याचुरेसन कम छ, त्यही भएर कोभिडको टेस्ट गराउनु’ भन्दै अस्पताल डायलासिसका लागि पन्छिएको उनको गुनासो छ। त्यसका लागि हजार बिन्ति गर्दा पनि अस्पताल नमानेको यसरी भने, ‘हामीले कोभिड रिपोर्ट दिन्छौं, कृपया डायलासिस गरिदिनुस् भनेँ, उनले थपे, ‘उहाँहरुले कोभिडको डायलासिस गर्ने कुनै सुविधा छैन, उहाँहरुले हामीलाई लाचार बनाएर मंगलबारको दिन निकालियो।’

हस्पिटलले बिरामीलाई गल हत्याएर निकालेका छन्। मान्छेलाई मान्छेको व्यवहार गरिरहेका छैनन्। ‘समस्या देखाउँदै उनले मिडियाप्रति पनि ठूलो आक्रोस पोखेका छन्। उनी भन्छन्, ‘सरकार त छैन तर कहाँ छ मिडिया? 

बुवामाथि अस्पतालको त्यो व्यवहारबाट उनीमात्र हैन, अरु ५ जना बिरामी र उनीहरुका आफन्तहरु पनि निराश भएर अस्पतालबाट निस्केपछि अब कहाँ जाने भन्ने समस्याले सताएको उनी बताउँछन्।

उनी अगाडि भन्छन्, ‘त्यसपछि के गर्ने, कहाँ जाने, कसलाई गुहार्ने, नो आइडिया!’

नेसनल मेडिकल कलेजले ‘हामी कोभिड डायलिसिस गर्दै गर्दैैनौं’ भनेपछि उनीहरु नारायणी अस्पताल गए। नारायणी अस्पतालले पनि कहाँ सजिलै मान्यो र? उनले सुनाए, ‘नारायणीमा जसोतसो कुरा गर्दागर्दा, रिक्वेस्ट गर्दागर्दा बल्लतल्ल डायलासिस भयो।’  

नियमित गराउनुपर्ने डायलासिसपछि बाबाले मात्र हैन, उनले पनि थोरै हल्का महसुस गरे, तर त्यसको महसुस भित्रैबाट गर्न नपाउँदै उनीहरुसमक्ष अर्को समस्या लहरै आयो, ‘अब त्यसपछि डायलासिस कसरी हुन्छ थाहा छैन।’

कारण, ‘नारायणी हस्पिटलको मेसुले मिडियामा गएर के भन्नु भा’रहेछ भने प्रदेश नं. २ को जति पनि कोभिड बिरामी, किड्नी बिरामी हुनुहुन्छ, हामी नारायणीमा गर्छौं। नारायणीमा डायलासिस गर्ने जम्मा एउटा मेसिन छ। स्टाफ पनि एउटा छ। कसरी त्यतिले प्रदेश नं. २ को डायलासिस हुन्छ। किड्नी पेसेन्टहरु के गरुन् त अब? एक त कोभिड, त्यसमाथि किड्नी पेसेन्ट’ ती युवाको चिन्ता नै यही छ, ‘मेरो बाबाको नेक्स्ट डायलासिस हुन्छ कि हुँदैन? थाहा छैन। उहाँ बल्लतल्ल कोभिडबाट रिकभर हुनुभयो। तर डायलासिसको ठेगान छैन। यस्तो छ हालत।’  

समस्या यतिमा सकिँदैन, उनले आफू सोसल मिडियामा आएर भन्न सक्नेमा परेको बताउँदै मिडियाको पहुँचमा नभएका लाखौं जनताले के गर्ला? के होला ? भन्ने चासो पनि दिएका छन्।

‘हामीकहाँ यस्ता पनि मान्छे पनि छन्, जोसँग मोबाइल छैन, टिकटिके मोबाइल बोकेर आउनेहरु छन्। तिनीहरुको कसैले नि सुनेको छैन, तिनीहरुलाई हस्पिटलले हप्काएर पठाएका छन्।’ यो समस्या देखाउँदै उनले मिडियाप्रति ठूलो आक्रोस पोखेका छन्, उनी भन्छन्, ‘कहाँ छ मिडिया ? हस्पिटलले गलहत्याएर निकालेका छन्। मान्छेलाई मान्छेको व्यवहार गरिरहेका छैनन्।कि नेताजीले चामल धान बोराहरु बाँड्दाखेरि मात्रै आउने हो, फोटो खिच्न आउने हुन्, खादा ओढाएको फोटो खिच्न, सडक उद्घाटनको फोटोमात्र खिच्न आउने हो?’

उनले स्थानीय तहअन्तर्गत नगरपालिकाहरुको पनि विषय उत्थान गरेका छन्। ‘जीतपुर नगरपालिका बेस्ट नगरपालिका अफ द वर्ल्ड, बाटो बनिरहेको छैन, अक्सिजनको आशा छ कत्ति पनि छैन। चारवटा एक्सिडेन्ट भइसक्यो, यो हप्ताभित्र, मेरै आँखा अगाडि। यो बाटोमा पेसेन्टहरुलाई लिएर वीरगन्जमा लैजानु परेको छ।’

अन्तिमतिर उनले नारायणी अस्पतालमा ध्यान दिनुपर्ने, अनुगमन गर्नुपर्नेमा जोड दिएका छन्। यसरी जोड दिनुको कारण छ। त्यो कारण उनी यसरी बताउँछन्, ‘कोही हुनुहुन्छ भने आँखा उठाएर नारायणी अस्पतालतिर हेर्दिनुस्, त्यहाँ मेसिनहरु बिग्रेर बसेको छ, त्यो मेसिन बनाउने कोही टीम काठमाडौंबाट पठाएर हुन्छ कि, के गरेर हुन्छ, त्यो गरौं केही । किनभने मान्छे बाँच्न जरुरी छ।’

उनले योसँगै वीरगन्जलाई ग्रीनसिटी बनाउँछु भन्नेहरुलाई पनि प्रश्न गरेका छन्, वीरगन्जलाई ग्रीनसिटी बनाउँछु भन्ने मान्छेहरु कहाँ गए? कहाँ छन्? यति मात्र नभएर अहिले जारी निषेधाज्ञामा सानालाई ऐन ठूलालाई चेन भएको दृष्टान्त दिएर उनी यसरी सञ्जालबाट यसरी बिदा भएका छन्।‘ पुलिसले माइस्थान चोकमा अक्सिजन लिएर फर्कंदा, ओए, कता छस् उता जा, प्रहरीको बोल्ने शैली प्रहरी मेरो साथी, मित्र, हप्काउने गाउँको मान्छेलाई। बाइकमा छ भने हप्काउने, साइकलमा छ भने कुट्ने, गाडीमा छ भने सलाम सर!’

प्रकाशित: ३१ वैशाख २०७८ ०८:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App