२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बलात्कार काण्डः सिद्दबाबालाई १५ दिनभित्र झिकाउन आदेश

आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग मुद्दामा जिल्ला अदालत सुनसरीबाट सफाइ पाएका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीलाईं उच्च अदालत विराटनगरले १५ दिन भित्र झिकाउने आदेश दिएको छ।  

जिल्ला अदालत सुनसरीले सफाइ दिएको विषयमा उच्च सरकारी वकिल कार्यालयले फैसला उपर पुनरावेदन गरेपछि गिरीलाई झिकाउने आदेश दिएको हो। न्यायाधीस प्रेमराज ढकाल र रेणुका शाहको इजलासले गिरीलाई झिकाउने आदेश दिएको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले बताए।

जिल्ला अदालत सुनसरीले गिरीलाई सफाइ दिएपछि उच्च सरकारी वकिलको कार्यालयले फागुन २८ गते उच्च अदालतमा पुनरावलोकनका लागि निवेदन दर्ता गराएको थियो। गिरीलाई मंसिर २२ गते जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाइ दिएको थियो। त्यतिबेला जिल्ला सरकारी वकिल कार्यालयले केही दिन पेसी सार्न माग गर्दै निवेदन दिएपनि आरोपित पक्षको मात्र बयान सुनेर एकतर्फी सुनुवाईकै आधारमा फैसला गरेपछि पुनरावेदन गरेको जनायो।

गिरीको जिल्ला अदालतको न्यायप्रति महान्यायाधिवक्ता कार्यालयले पनि गम्भीर आपत्ति जनाएको थियो। त्यतिबेलाका महान्यायाधिवक्ता अग्नि खरेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई भेटेर आपत्ति जनाएका थिए। पीडित महिलाले पनि प्रधानन्यायाधीसको सचिवालयमा पुगेर न्यायका लागि याचना गरेकी थिइन्।  

गिरीले आफ्नै अनुयायीलाई आश्रममा बोलाएर बलात्कार गरेको घटनामा शुरुमा २०७६ कार्तिकमा काठमाडौं प्रहरी परिसरमा उजुरी परेको थियो।  त्यसपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइभी) ले घटनाबारे अनुसन्धान गरेर जिल्ला प्रहरी कार्यालय सुनसरीलाई जिम्मा दिएको थियो। प्रहरीले कृष्णदासलाई पक्राउ गरेर अनुसन्धान थालेपनि बिरामी भएको बहाना गरेर विराट नर्सिङ्होम विराटनगरमा भर्ना भए।  

उनी अस्पतालमै भएका बेला अघिल्लो वर्ष (२०७६) को पुस दोस्रो साता तत्कालिन जिल्ला अदालत सुनसरीका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीले तीन लाख धरौटीमा रिहा गर्न आदेश दिए। त्यस आदेशउपर जिल्ला सरकारी वकिलको कार्यालयले अघिल्लो वर्षको पुस २२ गते उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको थियो। जसमा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको संयुक्त इजलासले कृष्णदासलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो। उच्च अदालतले गर्ने आदेशकै दिन उनी आफ्नो सुरक्षा गार्डलाई जोगवनी छेउमा छाडेर भारत भागेका थिए। पछि अदालतमा हाजिर भएर क्षेत्रीय कारागार झुम्कामा चलान गरिएको थियो। कारागार चलान भएपछि शुरुवातमै गिरीले सर्वोच्च अदालतमा आफूलाई छाड्नुपर्ने माग राखेर निवेदन दिएकोमा थुनामै राख्न आदेश दिएको थियो।  

बराहक्षेत्रलाई धार्मिक तीर्थस्थलको रुपमा विकास गर्दै हरित क्रान्ति, आयुर्वेद, गौपालन, आयुर्वेद विश्वविद्यालय, योग केन्द्र, जडिबुटी प्रशोधन र उत्पादन गर्ने बहानामा चतरामा आश्रममा बस्दै आएका गिरीको बलात्कार काण्ड मात्र पहिलो होइन। यसअघि थुप्रै विवादमा पर्दै आएका थिए।

प्रकाशित: १३ चैत्र २०७७ १४:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App