१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अघोषित बहिष्कारमा परेका टंकप्रसादलाई न्याय देऊ : आयोग

सहभोजमा सहभागी भएकामा नगरसभामा सम्मान थाप्दै टंकप्रसाद आचार्य।फाइल तस्बिर : नागरिक

राष्ट्रिय मानव अधिकार आयोगले दलितले छोएको दही खाएको निहुँमा अघोषित रूपमा सामाजिक बहिष्कारमा पारिएका खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ७७ वर्षीय टंकप्रसाद आचार्यलाई न्याय र सुरक्षाको प्रत्याभूति दिलाउन प्रशासन र स्थानीय सरकारलाई आग्रह गरेको छ। 

छुवाछुतमुक्त समाज निर्माणका लागि १ नम्बर प्रदेशको अभियानअन्तर्गत जिल्ला समन्वय समितिले २०७६ साल जेठ १८ गते आयोजना गरेको सहभोजमा सहभागी हुनेक्रममा दलित युवतीको हातबाट दही खाएको निहुँमा सामाजिक बहिष्कारमा परेका आचार्यलाई मानसिक पीडाबाट मुक्ति दिन र आवश्यक सुरक्षाको प्रत्याभूति गराउन आयोगको प्रदेश शाखा कार्यालय खोटाङले जिल्ला प्रशासन कार्यालय र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई शुक्रबार इमेलमार्फत पत्राचार गरेको हो। दलितले छोएको खाएको निहुँमा आफन्तबाटै अघोषित रूपमा बहिस्कार गरिएको घट्नाका विषयमा सुक्ष्म अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन प्रशासन र नगरपालिकालाई भनिएको आयोगको प्रदेश शाखा कार्यालय खोटाङका प्रमुख उपसचिव श्यामबाबु काफ्लेले बताए।  

दलित किशोरीको हातबाट दही खाएको निहुमा आचार्य परिवार बहिस्कारमा परेको विषयमा आयोगका सचिव वेद भट्टराई तथा अधिकृत संलग्न उच्चस्तरीय टोलीले घरैमा पुगेर अनुगमन गरेलगत्तै आयोगको प्रदेश शाखा कार्यालयले शनिबार विज्ञप्ति जारी गर्दै पीडितले न्याय पाउनुपर्ने पक्षमा धारणा सार्वजनिक गरेको हो। जातीय भेदभावविरुद्धको सहभोजमा सहभागी भएको अवस्थामा दलितले छोएको दही खाएको आरोपमा आचार्यलाई आफन्त तथा छिमेकीबाट निरन्तर सामाजिक बहिष्करण हुँदै आएको प्रारम्भिक अनुगमनबाट देखिएको आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ।

‘जातीय भेदभावजस्तो अमानवीय र आपराधिक कार्यविरुद्धको अभियानमा संलग्न ज्येष्ठ नागरिक तथा अभियान्तालाई समाजले गौरवको रूपमा लिनुपर्नेमा सामाजिक बहिष्कार गर्नु निन्दनीय हो,’ आयोगको विज्ञप्तिमा भनिएको छ, ‘जातीय छुवाछुत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८ ले पनि यस्तो कार्यलाई दण्डनीय मानेको आयोग स्मरण गराउँदछ। घटनाका सम्बन्धमा सुक्ष्म अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन, पीडितलाई मानसिक पीडाबाट मुक्त गर्न तथा आवश्यक सुरक्षाको प्रत्याभूति गराउन आयोगले जिल्ला प्रशासन कार्यालय र नगरपालिकालाई पत्राचार गरेको छ।’ आयोगले सामाजिक कुरिती तथा विभेदविरुद्धको अभियानमा लागेका ज्येष्ठ नागरिकमाथि कानुनद्वारा दण्डनीय हुनसक्ने कुनैपनि कार्य नगर्न÷नगराउन स्थानीयवासी एवं राजनीतिक दललाई समेत आग्रह गरेको छ।  

धार्मिक तथा सांस्कृतिक संस्कारका क्रममा विभेद  

दलितले छोएको दही खाएको आरोपमा अघोषित सामाजिक बहिस्कारको सामना गरिरहेका आचार्यमाथि विभिन्न धार्मिक तथा सांस्कृतिक संस्कारका क्रममा विभेद गर्ने गरिएको छ। आचार्यले श्राद्ध, कुशे औंशीलगायतका समयमा आफूमाथि विभेद भइरहेको गुनासो गरेका छन्। घटनाको केही समयपछि बाबुको श्राद्धका लागि बोलाइएको आफ्नो पुरोहित नआएपछि आचार्यले अर्कै पुरोहित बोलाएर श्राद्ध टारेको थिए। घरमा कुशेऔंशीका दिन पनि पुरोहितले कुश नल्याएको आचार्यको गुनासो छ। आचार्यलाई गाउँघरमा हुने कतिपय धार्मिक तथा सांस्कृतिक कार्यक्रममा प्रत्यक्षरूपमा बोलाउन छाडिएको छ। टंकप्रसादको घरमा गएर धार्मिक तथा सांस्कृतिक कार्य गरे आफूमाथि पनि बहिष्कार हुने त्रासमा पुरोहित उनको घरमा जान हिच्किचाएको अनुमान गरिएको छ। सहभोजमा सहभागी भएपछि गाउँकै कतिपय दाजुभाईले अप्रत्यक्षरूपमा बहिष्कार गर्दै लगेपछि आचार्य अप्ठ्यारोमा परेका हुन्। दलितको हातबाट दही पिएको भनेर कुरा काट्ने र नबोलाउने गरेको सुनिएको स्थानीय युवा नेता गोपालचन्द्र आचार्यले बताए।  

समाजमै अघोषित बहिस्कारको शिकार बनाइएको भन्दै आचार्य न्यायको याचना सहित २०७६ साल भदौ ३ गते १ नम्बर प्रदेशका मूख्यामन्त्री शेरधन राईलाई गुहार्न पुगेका थिए। सामाजिक बहिस्कारमा परेको भन्दै आचार्यले ‘न्याय दिन वा फाँसीको सजाय दिन’ भनेपछि मुख्यामन्त्री राईले तत्काल खोटाङका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर सहज वातावरण बनाउन निर्देशन दिए पनि उनी झमेलामुक्त हुन सकेका छैनन्।  

दलितले छोएको ‘खान हुन्न’ भन्ने अन्धविश्वासकाबीचमा जन्मे, हुर्किएका आचार्यले पृथ्वीमा मानवको महिला र पुरुषभन्दा अन्य जात नभएको भन्दै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा आयोजित सहभोजमा उत्साहकासाथ सहभागी भएका थिए। उनले स्थानीय किशोरी रचना सुनारको हातबाट दही पिए। दलितले दलितकै घरमा तयार पारेको दाल, भात, खसीको मासु, तरकारी, अचारलगायतका परिकार खाए। ‘यो दही घाँटीमा अड्केको भए मैले खान हुन्नथ्यो,’ दही पिउँदै आचार्यले भनेका थिए, ‘मेटासिटले मरिन्छ, दलितले छोएको खानेकुराले मरिन्न। हामी सबै मानव एउटै हौँ।’ तर, त्यही सहभागिता उनका लागि झमेलाको कारण बन्न पुगेको छ। पुरातन सोच भएका समाजमा जन्मिए पनि सहभोजमा सहभागी भएकामा आचार्यको तारिफ मात्र भएन। आलोचना र सामाजिक दमनको सामना पनि गर्न परिरहेको आचार्यले बताए।

प्रकाशित: १६ फाल्गुन २०७७ ०२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App