१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

काठमाडौंमा फेरि बर्ड फ्लु पुष्टि, १५ हजारभन्दा धेरै कुखुरा नष्ट गरियो

सांकेतिक तस्बिर।

काठमाडौंको तारकेश्वरमा फेरि बर्ड फ्लु देखिएको छ। तारकेश्वर नगरपालिकाको वडा नम्बर १ मा स्थानीय किसानले पालेका कुखुरामा बर्ड फ्लु देखिएको पशु सेवा विभागले जनाएको छ। विभागकी महानिर्देशक डा. दमयन्ती श्रेष्ठकाअनुसार तारकेश्वर नगरपालिका वडा नम्बर १ मा पालिएका कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आरटी पीसीआर विधिबाट परीक्षण गर्दा बुधबार बर्ड फ्लु पुष्टि भएको हो।

रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिसकिएको विभागले जनाएको छ। सो क्रममा १५ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ। विभागकाअनुसार ५६५७ लेयर्स कुखुरा, ७२३६ ब्रोइलर कुखुरा, २५०४ लोकल कुखुरा, ५० टर्की, १७ बट्टाई, ३५७० अण्डा र ३००० केजी दाना नष्ट गरी सुरक्षित तवरले तह लगाइसकिएको छ।  

यसअघि माघको दोस्रो सातातिर तारकेश्वर नगरपालिकाको वडा नम्बर ७ साङ्लेखोला, फुटुङका क्षेत्रका स्थानीय कृषकहरूले पालेका टर्की र हाँसमा बर्ड फ्लु देखिएको थियो।  

विभागले फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्न समेत आग्रह गरेको छ। 

विभागले जारी गरेको प्रेस विज्ञप्तिः

प्रकाशित: १४ फाल्गुन २०७७ ०७:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App