१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

काँडे तारबार र ट्रेन्चले दुई वर्षदेखि जैविक मार्ग अवरुद्ध

सीमामा पर्ने अन्तर्राष्ट्रिय जैविक मार्गमा दुई वर्ष अघिदेखि लगाइरएकाे काँडेतार र खनिएकाे ट्रेन्च। तस्बिर: पुष्पराज जाेशी/ नागरिक

अन्तर्राष्ट्रिय जैविक मार्ग रहेको नेपाल–भारत सीमा गौरीफन्टा नाकामा भारतीय पक्षले एकलौटी रूपमा ट्रेन्च खनेर काँडे तारबार लगाएको माघ ११ गते दुई वर्ष बित्यो। तर अहिलेसम्म कूटनीतिक पहल हुन नसक्दा न त तारबार हटाइएको छ न त खनिएको ट्रेन्च नै पुरिएको छ। २०७५ माघ ११ गते भारतीय पक्षले गौरीफन्टा नाका, डोकेबजारको सीमा क्षेत्रमा करिब ३ किलोमिटर क्षेत्रमा गहिरो खाल्डो खनी माटोको अग्लो ट्रेन्च बनाएर त्यसमाथि काँडे तार लगाएको थियो।

नेपालको अनुमतिबिना एकलौटी रूपमा सीमामा ट्रेन्चमाथि काँडे तारबार गरिँदा अन्तर्राष्ट्रिय जैविक मार्ग अवरुद्ध हुनुका साथै माटोको ड्यामका कारण नेपाली भू–भागबाट वर्षाको पानी दक्षिणतिर बग्ने बाटो अवरुद्ध भएको छ। स्थानीय बासिन्दा, नेपाली सञ्चार माध्यम, स्थानीय प्रहरी प्रशासन, वन कार्यालय तथा वन्यजन्तुका क्षेत्रमा काम गरिरहेकाहरूले विरोध गरे पनि भारतीय पक्षले अटेर गर्दै तारबार लगाएको थियो।  

सर्वत्र विरोध हुँदा त्यसबेला सीमासम्बन्धी संयुक्त सर्भे टोलीको नेपालमा सम्पन्न बैठकमा सहभागी हुन आएका भारतको लखिमपुर जिल्लाका तत्कालीन डिएम शैलेन्द्र सिंहले सीमामा जैविक मार्ग अवरुद्ध हुनेगरी तारबार लगाएकोबारे आफूलाई जानकारी नभएको बताउनुका साथै दुवै देशबीच छलफल गरेर तारबारको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।  तर भारतीय पक्षसँग अहिलेसम्म तारबार हटाउनेबारे कुनै छलफल नै भएको छैन।  

सीमामै काँडे तारबार गरिँदा दुधुवा नेसनल पार्कबाट नेपालको मोहना–लालझाडीमा आउने वन्यजन्तुको अन्तर्राष्ट्रिय जैविक मार्ग थुनिएको भन्दै वन्यजन्तु संरक्षण कार्यमा संलग्न संरक्षणकर्मीहरूले विरोध जनाउँदै आएका छन्। अन्तर्राष्ट्रिय जैविक मार्गका रूपमा हेरिएको दुधुवा नेसनल पार्क र नेपालको मोहना–लालझाडी जोड्ने एक मात्रै वन क्षेत्रलाई भारतले एकलौटी रूपमा काँडेतार लगाउनु अन्तर्राष्ट्रिय जैविक मार्गको सन्धि सम्झौताविपरीत भएको वनविज्ञ तथा पूर्व डिएफओ रमेश चन्दले बताए।

उनले भने, ‘कन्चनपुरको डोकेबजारमा भारतले २ वर्षअघि आफूखुसी लगाएको काँडे तार अन्तर्राष्ट्रिय जैविक मार्गको सन्धि सम्झौताविपरीत कार्य हो, यसलाई अहिलेसम्म हटाउन पहल नहुनु सरकारले बेवास्ता गरेको महसुस भएको छ।’ उनले २ वर्षदेखि अवरुद्ध अन्तर्राष्ट्रिय जैविक मार्ग खुलाउन नेपालको कूटनीतिक नियोगबाट पहल गरिनुपर्ने बताए।  

जैविक मार्गमा काँडेतार लगाइँदा भारत–नेपाल ओहोर–दोहोर गर्ने वन्यजन्तु र मानवबीच द्वन्द्व बढ्दै गइरहेको बताउँदै स्थानीय भुलिया रानाले भनिन्, ‘अन्तर्राष्ट्रिय जैविक मार्ग अवरुद्ध हुँदा विगत २ वर्षदेखि नेपालबाट भारततर्फ जाने वन्यजन्तु बाटो नपाउँदा पुनः गाउँबस्तीमै फर्कने गरेका छन्, जसले गर्दा वन्यजन्तु र मानवबीच द्वन्द्व बढ्दै गएको छ।  

‘अन्तर्राष्ट्रिय जैविक मार्ग भएर भारतको दुधुवा नेसनल पार्क जाने वन्यजन्तु काँडेतारले छेकिँदा मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दै छ,’ उनले भने, ‘त्यो ठाउँमा कुनै पनि हालतमा तारबार गर्न पाइँदैन तर तारबार गरेको २ वर्ष बितिसक्दा पनि हटाउन पहल गरिएको छैन।’

प्रकाशित: १६ माघ २०७७ ०२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App