कोशी टप्पु वन्य जन्तु आरक्ष तथा आसपासका क्षेत्रको पाँच सयभन्दा बढी हेक्टर जग्गा अतिक्रमण गरि बग्रेल्ती घर निर्माण भएका छन्। सुनसरी, सप्तरी र उदयपुर क्षेत्रको जग्गा अतिक्रमण गरि क्रंक्रिट र फुसका छानाका घर निर्माण भएका हुन्।
कोशी टप्पु वन्य जन्तु आरक्ष प्रशासनको रेकर्ड अनुसार कोशी नदीले कटान गरेपछि र २०६३ साल आसपास बढी जग्गा अतिक्रमण गरेको उल्लेख छ। रेन्जर जयराम न्यौपाने नेतृत्व टोलीले तयार गरेको रेकर्डमा सवैभन्दा बढी सप्तरी क्षेत्रमा जग्गा अक्रिमण गरिएको छ। जसमा मध्यवर्ती क्षेत्र अन्तर्गत डुबान क्षेत्रमा तीन सय ५० हेक्टर जग्गा अक्रिमण गरिएको छ। यो जग्गा मध्यवर्ती क्षेत्र घोषणा हुनु पूर्व नै अतिक्रमण गरिएको हो। यहाँ अतिक्रमण गरि निर्माण गरिएका थुप्रै घर–टहरा प्रशासनले आगो लगाएर नष्ट गरेतापनि आरक्षले आफ्नो जग्गालाईं भने सुरक्षित गर्न सकेको छैन।
सप्तरीकै कमलपुर, ओद्राहा, बोची र पथरी क्षेत्रमा पनि झन्डै ४० हेक्टर जग्गा अतिक्रमण भएको छ। नदीले बालुवा थुपारेपछि २०६३ सालताका कमलपुर, ओद्राहा, बोची र पथरी क्षेत्रको जग्गा अक्रिमण भएको हो। सरकारले विसं २०६१ मा आरक्ष वरिपरिका २१५ वस्तीलाई समेटी एक सय ७३.५० वर्ग किलोमिटर क्षेत्रलाई कोशीटप्पु वन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्र घोषणा थियो।
जग्गा अतिक्रमण हुने क्रममै सप्तरीको वदगामामा दुई हेक्टर भएको छ। यहाँ २०६३ सालमा अतिक्रमण गरिएको जग्गामा अहिले वस्ती बसेको छ।
यता सुनसरी र उदयपुरको झन्डै २० प्रतिशत जुन उत्तरी डुबान (श्रीलंका टापु) को नामले चिनिने क्षेत्रमा एक सय ५० हेक्टरसम्म जग्गा अतिक्रमण भएको छ। उत्तरी डुबान क्षेत्रमा कोशी कटानपछि वस्ती सरेको हो। अहिलेको कोशी बगेको क्षेत्रको जग्गा नम्बरी हो। कोशीले कटान गरेपछि अहिलेको सप्तकोशी पूर्वी तटवन्ध प्रकाशपुरबाट कोशीको मुख्य भँगालो पार गरेर पश्चिमतर्फ रहेको ठूलो भूभाग खाली जग्गा र मूख्य भंगालोबाट तीन किलोमिटर पश्चिम दुरीमा रहेको वस्तीका बासीन्दा पनि सरकारी जग्गामै बसेका छन्।
सप्तकोशीको पूर्वी र पश्चिमी भँगालाको बिचमा अवस्थित रहेको श्रीलंका टापु वस्ती अहिले बराहक्षेत्र वडा नं. ६ र ९ मा पर्छ।
पाँच दशक अघि कोशीका दुबै किनारामा तटबन्ध थिएनन्। कोशी पश्चिमबाट बग्थ्यो। त्यसबेला श्रीलंका टापु थिएन। अहिले कोशी पूर्वी र पश्चिम भँगालो भएर बग्न थालेपछि बिचमा टापु बन्न पुगेको हो। चन्द्रवशी, उराउ, थारु, यादव, कविरत, मुसहर, कोइरी, खत्वे, सार्की, राई, लिम्बु, वाहुन, क्षेत्री सबै खालेको घर बनेको छ, सरकारी जग्गा टापुमा।
कोशीटप्पु वन्यजन्तु आरक्ष नेपालको पूर्वी तराईको जैविक विविधता प्रतिनिधित्व गर्ने कोशी नदी तटिय क्षेत्रमा अवस्थित एकमात्र संरक्षित क्षेत्र हो। यो आरक्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को प्रावधान अनुरुप नेपालमा हालसम्म रहेका अर्नाहरुको एकमात्र बासस्थान संरक्षण गर्ने मूल उद्धेश्य राखी पूर्वी तराईका उदयपुर, सप्तरी र सुनसरी जिल्लाका केही भागलाई समेटेर वन्यजन्तु आरक्षको वि.सं. २०३२ मा स्थापना गरिएको हो। क्षेत्रफलको आधारमा यो नै नेपालको सबैभन्दा सानो आरक्ष हो। क्षेत्रफलमा सानो भएतापनि जैविक विविधताको हिसावले यो आरक्ष अत्यन्तै महत्वपूर्ण छ। जसले गर्दा अतिक्रमण भएको जग्गा संरक्षण गरिनु आवश्यक छ।
आरक्षका वार्डेन अशोक रामले अहिले नयाँ अक्रिमण हुन नदिनएपनि पूरानोलाईं संरक्षण गर्न विशेष नीति आवश्यक भएको बताए। ‘नयाँ अतिक्रमण गर्न दिएका छैनौ, पुरानोलाई सवैको सहयोग बिना सम्भव हुँदैन,’ रामले भने। उनका अनुसार पछिल्लो समय मकुना हात्तीले मानवीय क्षती गरेपछि त्यसको व्यवस्थापनमा ध्यान गएकाले गर्दा पनि अन्य कामको योजना बनाएर अघि बढ्न समस्या भइरहेको छ।
यस आरक्षमा पर्याप्त संख्यामा सिमसार रहेकाले ‘चराको स्वर्ग’ भूमि नामले चिनिदै आएको छ। यसैका आधारमा यो क्षेत्रलाई नेपालको पहिलो रामसार क्षेत्रका रुपमा वि.सं. २०४४ मा सूचीकृत गरिएको हो।
जग्गा अक्रिमण गरि बग्रेल्ती घर बनाएसँगै मानव–वन्यजन्तुबीच द्वन्द्व पनि बढ्दो नै छ। मुख्यतयः हात्ती र अर्ना जस्ता ठूला वन्यजन्तुहरुका लागि हालको आरक्ष क्षेत्र आवश्यक वासस्थानका लागि प्रयाप्त नहुँदा यी जनावरहरुबाट स्थानीय जनताको वालिनाली नास, धनजनमा पार्ने असरका कारणले मानव वन्यजन्तुबीचको द्वन्द्व अप्रत्यासित रुपमा बृद्धि भएको छ। यसका कारण वन्यजन्तु र स्थानीय समुदाय दुवै जोखिममा रहेका छन्। जसले गर्दा आरक्ष क्षेत्र आसपासका बासीन्दा र आरक्षका रैथाने जनावर दुवैका लागि क्षेत्र विस्तार उत्तम विकल्प मानिदै आएको छ।
क्षेत्र विस्तार गर्नका लागि सरकारी अध्ययन टोलीले २०७१ फागुन ८ गते राष्ट्रिय निकुन्ज तथा वन्य जन्तु संरक्षण विभाग ववरमहलमा प्रतिवेदन बुझाई सकेको छ। तर, अझैसम्म निर्णय भएको छैन्। कोशी टप्पु वन्य जन्तु आरक्ष तीन जिल्लामा एक सय ७५ वर्ग किलोमिटर फैलिएको छ।
प्रकाशित: १२ माघ २०७७ १३:०१ सोमबार