२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

भूकम्प पछिको पुननिर्माण : यसरी फेरिदैछ विद्यालयको स्वरुप

धादिङको ज्वालामुखी गाउँपालिकास्थित मैदीमा भूकम्पपछि निर्माण भएको विद्यालयको नयाँ भवन। तस्बिर : सरिता

२०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पबाट विद्यालय भत्किए।  शिक्षाको पहिलो मन्दिर नै भत्किएपछि पढाई प्रभावित बन्यो।  जिल्लामा भएका सरकारी विद्यालयको संरचना जिर्ण बन्दै गएको र भूकम्पले थप क्षति भएपछि सामुदायिक विद्यालयहरुले ठूलो भौतिक क्षति व्यहोर्नु पर्योि।  पुराना जिर्ण भवन र भूकम्पबाट प्रभावित बनेर क्षतिग्रस्त पूर्वाधारको सामना गरेका विद्यालयहरुले नियमित पठनपाठन सञ्चालनमा समेत समस्या खेप्न बाध्य भए।  बिस्तारै त्रिपाल र पूराना जस्ताको टहराको भरमा पढाई संचालन गरियो।  

बर्खामा बाढी पहिरो र हिउँदमा चिसो थेग्दै पढाई निरन्तर रुपमा संचालन भयो।  सरकार, दातृ निकाय, संघसंस्थाको पहल र लगानीमा विद्यालय निर्माण कार्य सुरु भए।  विद्यालयका भौतिक संरचना पुननिर्माणले तीव्रता पाएसँगै विद्यालयहरुको स्वरुप फेरिएको छ।  विद्यालयको स्वरुप फेरिएसँगै पठनपाठनमा सहज, विद्यार्थीहरुमा उत्साह आएको छ।  विद्यार्थी संख्या, विद्यालयको आवश्यकता अनुसार चारदेखि १२ कोठे भवन, शौचालय, पुस्तकालय भवनहरु निर्माण भएका छन्।  

भूकम्पले त्रिपूरासुन्दरी गाउँपालिका वडा नं ३ मूलपानीमा रहेको महेन्द्रोदय माध्यमिक विद्यालय तहसनहनस बने।  त्रिपाल र पूरानो जस्ता संकलन गरेर पढाई सूचारु गरे।  चार हिउँद र चार बर्खा अस्थायी टहरामा कठिनाईका साथ पठनपाठन सूचारु भए।  चार वर्ष अस्थायी टहराले थेगेको विद्यालयमा अहिले पक्की भवन निर्माण भएको छ।  पक्की भवन निर्माणपछि विद्यार्थीहरु खुसी भएका छन्।  ‘भूकम्पपछि अस्थायी टहरामा बसेर पढ्नु पर्दा डरैडरले पढाई पनि बिर्सने र विद्यालय आउन पनि मन लाग्दैनथ्यो’, कक्षा १० मा पढ्ने विद्यार्थी सनोज कडेलले भने, ‘नयाँ भवन पाएसँगै हामी उत्साहित भएका छौँ, अब पढाई प्रभावित हुँदैन।’

भूकम्पपछि दुईवटा कक्षाका विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउनु पर्ने बाध्यता थियो।  एउटै कक्षामा पढाउनु पर्दा विद्यार्थीको ध्यान पढाईमा भन्दा अन्यन्त्र जाने गर्दथ्यो।  अस्थायी टहरामा कष्टका साथ पढ्दै आइरहेका विद्यार्थीहरु पक्की भवन, शौचालय, ल्याबको सुविधासहितको सेवा पाएपछि फूरुङग छन्।  अब विद्यालयले खेलमैदान, खानेपानीको सुविधा तथा अन्य गतिविधिलाई नियमित रुपमा संचालन गर्न विद्यार्थीहरुले विद्यालयलाई आग्रह गरेका छन्।  विद्यालयका शिक्षक तथा अभिभावकहरुले पनि पढाईमा सुधार हुने अपेक्षा गरिएको छ।  

पक्की भवन बनेपछि बर्खामा घाम पानी तथा हावाहुरीको समस्या र जाडोमा कठ्याङिग्रनु पर्ने समस्या टरेको महेन्द्रोदय माध्यमिक विद्यालयका प्रधानाध्यपक कुमार नेपालीले बताए।  ‘भूकम्पले विद्यालय भत्कियो, चारवर्षसम्म कष्टका साथ टहरामा पढायौँ, भवन नहुदाँ कतिपय बालबालिकाहरु विद्यालय आउनै छाडेसकेका थिए’, प्रधानाध्यपक नेपालीले भने, ‘अहिले २० कोठे विद्यालय भवन निर्माण भएको छ,, ‘विद्यालय निर्माणसँगै शिक्षक, विद्यार्थी र अभिभावकमा खुसी थपिएको छ।’ विद्यालयमा विज्ञान प्रयोगशाला, कम्प्यूटर ल्यावको समेत निर्माण गरिएको छ।  फर्निचरका सामग्री सहित भ्याट बाहेक ७ करोड ३१ लाख लागतमा भवन निर्माण गरिएको हो।  

निर्माण गरिएको विद्यालय भूकम्प प्रतिरोधी छ भने छात्र, छात्रा र अपांगमैत्री शौचालयको पनि निर्माण गरिएको छ।  विद्यार्थीमैत्री खानेपानीको धारा पनि निर्माण गरिएको छ।  ह्विलचियर गुड्ने गरी विद्यालय तथा शौचालयहरुको संरचना निर्माण गरिएको छ।  नयाँ भवनले शिक्षक तथा विद्यार्थी पनि फूरुङग छन् भने पठनपाठनमा पनि सहज भएको छ।  भवन नहुदाँ सबै कक्षाका विद्यार्थीलाई एउटै कक्षामा पढाउनु पर्ने अवस्था थियो अहिले त्यो हटेको छ शिक्षकहरुको भनाई छ।  

भूकम्प गएको साढे चार वर्ष बितिसक्दा पनि भत्किएका विद्यालयहरुको पुनर्निर्माण पूर्ण रुपमा सम्पन्न हुन भने सकेको छैन।  २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पले धादिङ जिल्लामा ५ सय ८१ विद्यालयका ४ हजार ४ सय ३८ कक्षाकोठामा क्षति पुगेको थियो।  भूकम्प प्रभावित जिल्लाहरुमा नीजि आवाससँगै विद्यालयको पुननिर्माण पनि भइरहेको छ।  धादिङ जिल्लामा पनि क्षतिग्रस्त संरचना पुननिर्माण भइरहेको छ, पुननिर्माण कार्य अन्तिम चरणमा पुगेको छ।  निर्माण सम्पन्न गरिएको विद्यालयमा पठनपाठन समेत सूचारु भइरहेको छ।  

भूकम्प गइसकेपछि क्षतिग्रस्त विद्यालयमा त्रिपाल र अस्थायी टहरा बनाई पढाई सुचारु गरेका विद्यालयहरुमा विभिन्न संघसंस्था तथा विद्यालय आफैले पनि विद्यालय भवन निर्माण गरेका छन्।  विद्यालय निर्माणमा ढिलाई भएका कारण विद्यार्थीहरु अझैसम्म पनि अस्थायी टहरामा नै बसेर पढिरहेका छन्।  पुननिर्माण कार्य प्रभावकारी नहुँदा विद्यार्थीहरू हिउँदमा चिसो र बर्खामा घाम, पानीको कष्टप्रद अवस्थामा पढ्न बाध्य छन्।  विद्यालय नहुदाँ आफूले पढ्न नपाएको दुखेसो पोख्ने विद्यार्थीहरु भवन पाएपछि खुसी देखिन्छन्।  

भूकम्पपछि ध्वस्त भएका विद्यालयको संरचना निर्माणका लागि जिल्ला कार्यान्वयन ईकाई धादिङको सहयोगमा मात्र नभएर विद्यालयमा अध्ययन गरेर रोजगारको शिलशिलामा विभिन्न मुलुकमा रहेको भुतपुर्व विद्यार्थीले पनि सहयोग गरेका छन्।  आफुले पढेको विद्यालयमा भवन निर्माण, फर्निचर आधुनिक प्रविधिको उपयोगका लागि कम्प्युटर कक्षा र ई लाईबेरी स्थापनामा सहयोग उपलब्धताले पनि जिल्लाको विद्यालयको भौतिक संरचनामा स्वरुप फेरिदै आएको छ।  

जिल्ला कार्यान्वयन ईकाई धादिङको कार्यालयका अनुसार संघसंस्था, विद्यालय व्यवस्थापन समिति र ठेक्का गरी तीन किसिमिले विद्यालय निर्माण भइरहेको छ।  विद्यालय व्यवस्थापन समितिबाट आर्थिक वर्ष २०७३/०७४ र २०७४/०७५ मा दुई सय १६ बटा निर्माण सम्पन्न भइसकेको छ।  २०७५/०७६ मा पहिलो चरणमा ४५ र दोस्रो चरणमा ५९ गरी एक सय ४ वटा मध्ये ५५ वटा भवन निर्माणाधिन छ।  त्यसै २०७६/०७७ मा ५५ वटा विद्यालय निर्माणाधिन अवस्थामा रहेको कार्यालयका सव इन्जिनियर शेरबहादुर खातीले बताए।  

खुल्ला चौर र भूकम्पले भत्काएको विद्यालय भवनमा कठिनपूर्ण रुपमा पढ्दै आइरहेका विद्यार्थीलाई मध्यनजर गरेर पक्की भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।  उत्तरी क्षेत्रका विकट बस्तीहरुमा खच्चडमा बोकाएर सामान पुर्यारउँदै विद्यालय निर्माण गरिएको छ।  सडक सञ्जाल र हिड्ने बाटो समेत नभएका ठाउँहरुमा पनि पक्की भवन बन्दा विद्यार्थीहरुको खुसीको सिमा छैन।  भूकम्पपछि अस्थायी टहरामा नै डराई डराई पढिरहेका खनियाबास गाउँपालिका –२, झार्लाङका पेमा तामाङ अहिले पक्की भवनमा पढ्न पाउदाँ फूरुङग छिन्।  

विद्यालय पुनर्निर्माणको काम सम्पन्न भएपछि विद्यार्थी, शिक्षक तथा अभिभावकहरु खुशी भएका छन्।  खुल्ला चौरमा पढ्नु पर्दा बिरामी भएका ती दिनहरु सम्झदै तामाङले अब ती बाध्यता हटेको बताइन्।  ‘विद्यालय भवन नहुदाँ हावाहुरी चलेको बेला र पानी परेको समयमा पढाई प्रभावित हुने गथ्यो’ उनले भनिन्, ‘पक्की भवन बन्यो, डर हटेको छ भने खुसी पनि छौँ। ’ जिल्लाको उत्तरी क्षेत्रका विद्यालय निर्माणमा निकै कठिनाई छ।  भौगोलिक विकटता, सडक संजालको विस्तार नहुनाले निर्माण सामग्री लैजान समस्या हुने गरेको छ।  जसका कारण समयमा नै भवन निर्माण हुन सकेको छैन।  

विद्यालय बालबालिकाको दोस्रो घरको रुपमा मानिन्छन् तर ती घर नै सुरक्षित नहुदाँ कतिपय बालबालिकाहरुले विद्यालय नै आउन छाड्ने गरेको शिक्षकहरुको भनाई छ।  भूकम्पपछिका अधिकांश दिनहरु अस्थायी सिकाइ केन्द्रमा बसेर अध्ययन गरे।  तर अहिले अवस्था फेरिएको छ।  ढिलै भएपनि भूकम्पपछि विद्यालयको पुनर्निर्माण पूरा हुँदै गएको छ।  टहराका विद्यार्थी अहिले आधुनिक प्रविधिसँग जोडिएका छन्, भूकम्प प्रतिरोधात्मक भवनमा बसेर पढ्ने वातावरण तयार भएपछि विद्यार्थी, अभिभावक अहिले खुसी भएका छन्।  

हाल निर्माण गरिदै गरेका विद्यालयको काम छिटो र गुणस्तरीय बनाउन बेलाबेलामा अनुगमनको काम गरिरहेको छ।  निर्माण सामग्रीको अभाव, ढुवानीको समस्या, कामदारको कमी जस्ता कारणले विद्यालय पुनर्निर्माणमा ढिलाई भइरहेको कार्यान्वयन इकाई धादिङले बताएको छ।  त्यस्तै ठेक्कामार्फत ६२ वटा विद्यालयहरु निर्माणका क्रममा छन्।  संघसंस्था मार्फत ६३ वटा विद्यालय निर्माण भएको छ।  

केन्द्रीय आयोजना अन्तर्गत जापानी सहयोग नियोग (जाइका) को ऋण सहयोग, एसियाली विकास बैक (एडीबी) र भारत सरकारको अनुदान तथा ऋण सहयोगमा विद्यालय पुननिर्माणको क्रममा छन्।  एसियाली विकास बैकले बनाउने ६ वटा विद्यालय मध्ये सदरमुकामको नीलकण्ठ मावि नमुना विद्यालयको रुपमा निर्माण गरिसकेको छ भने अन्य ठेक्का प्रक्रियामा छन्।  त्यस्तै जापानी सहयोग नियोग (जाइका) को ऋण सहयोगमा निर्माण हुने ४९ विद्यालय मध्ये ६ वटा मात्र निर्माण सम्पन्न भएको छ भने भारत सरकारको अनुदान तथा ऋण सहयोगमा निर्माण हुने १० वटा विद्यालय पनि निर्माणाधिन छ।  

 

 

 

प्रकाशित: २७ पुस २०७७ ०९:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App