२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

अवैध अस्पतालको बिगबिगी, बिरामी मृत्यु हुने क्रम बढ्दो

लहान स्थित डिभाइन हेल्थकेयर अस्पतालमा चिकित्ककको लापर्बाहीले सुत्केरीको मृत्यु भएपछि तनाव । तस्बिरः मिथिलेश/नागरिक

सुत्केरी व्यथाले च्यापेपछि सुखीपुर नगरपालिका–९ बैसखाकी २७ वर्षीया आरती साहका परिवारले शनिबार एम्बुलेन्स चढाएर लहान स्थित डिभाइन हेल्थ केयर अस्पताल लगे। सोही साँझ उनलाई चिकित्सकले शल्यक्रियाबाट प्रसूतिका लागि शल्यक्रिया कक्षमा लगेको केहि घण्टामै मृत्यु भयो। चिकित्सक आत्तिएर शल्यक्रिया गरेको उनको पेट नसिलाइकनै फरार भए।

आरतीलाई उनको श्रीमान प्रमोदसहित परिवारका सदस्यले सुत्केरीका लागि डिभाइन अस्पतालमा ल्याएका थिए। केहि घण्टापछि चिकित्सक तथा नर्सहरुले उनको शल्यक्रिया गर्नुपर्ने भन्दै परिवारको मन्जुरी मागेका थिए। मेरो अभिभावक आउन्जेल पर्खिन आरतीले चिकित्सकसँग आग्रह गरिन्। तर ढिला गरे जेपनि हुन सक्छ भनेर अत्याएपछि जे गर्दा राम्रो हुन्छ त्यो गर्नुस भनेर आरतीका श्रीमान प्रमोदले चिकित्सकलाई हुन्छ भने। हामीले राम्रो गर्न भनेको थिए प्रमोद भक्कानिँदै भने,‘ज्यान बचाउन पो भनेको थिए, मारिदिन त मन्जुरी दिएको थिइन नि।’

सुरुदेखि नै हामीले बाहिर लग्नुपर्ने छ भने भन्नुस् भनिरहेका थियौं आरतीका दाइ राजेशकुमार साहले भने,‘ढुक्क हुनुस् केहि हुँदैन भन्दै डाक्टरले विश्वस्त बनाए। पेट खोलेर बच्चा निकाले केहि हुन्न भनेर अप्रेशन कक्षमा लगे। केहि बेरमै डाक्टर निस्केर बेपत्ता भए। उनले भने, ‘हेर्दाहेर्दै एक एक गरेर सबै स्वास्थ्यकर्मी र कर्मचारी भागे। दौडेर अप्रेशन कक्ष पुग्दा बाहिरबाट ताल्चा लागेको थियो उनी रुँदै भने,‘भित्र रगतमा लतपत बहिनीको लास बेडमा पल्टिरहेको थियो। रगतका टाटाहरु ढोका हुँदै बाहिरसम्म बगिरहेको देख्दा रिँगाटा चल्यो।’  

हामी सबै चिच्याउन थाल्यौ साहले भने,‘प्रहरीलाई गुहार लगायौ। प्रहरी आए तर दोषीलाई पक्राउ गरेर हामीलाई निसाफ दिलाउनलाई होइन रहेछ। उनले गुनासो पोखे,‘हाम्रो जाहेरी त दर्ता भयो तर दोषी कोही पनि पक्राउ परेको छैन। दोषी डाक्टरमाथि कारबाही, अवैध धन्दा चलाउने अस्पतालमाथि कार्बाही, पीडित परिवारलाई क्षतिपूर्तीलगायतको माग पीडित पक्षको छ।

लहान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवका अनुसार लहानमा संचालित निजी अस्पतालहरुमध्ये सप्तऋषी बाहेकको नवीकरण छैन। बाँकी कुनै निजी अस्पतालले स्वास्थ्य सम्बन्धी विवरण समेत बुझाउँदैनन्, उनले भने। सुत्केरीको मृत्यु भएको अस्पतालको पनि नवीकरण छैन।  

लहानमा संचालित डिभाइन, कामना, फ्रेन्ड्स अस्पताल वर्षौदेखि नवीकरण बिना नै सेवा संचालन गर्दै आएको छ। नियामक निकाय मौन बस्दा सिरहामा १५ बेडका ८ वटा अस्पताल बिना दर्ता अवैध रुपमा संचालन हुँदै आएका छन। यी अवैध अस्पतालहरु जिल्लाको गोलबजार, मिर्चैयामा संचालित छन्।  

स्थानीय तह र जिल्ला स्वास्थ्य कार्यालय एकले अर्कामाथि जिम्मेवारी पन्छाउँदै अनुगमन र नियमन रोकेपछि जिल्लामा स्वास्थ्यमा गैरकानुनी धन्दा फस्टाएको छ। जसका कारण सर्वसाधारणको ज्यान जोखिममा पर्दै आएको छ।

लहान नगरपालिका–३ स्थित सप्तऋषि अस्पतालमा गत पुस १८ गते तीन शिशुको मृत्यु भएको घटनामा डाक्टर र अस्पताल पक्षको लापर्बाही प्रशासनले गठन गरेको छानबिन समितिको प्रतिवेदनले ठहर गर्यो।

समितिले गरेको छानबिनबाट सो अस्पतालमा एकैरात तीन शिशुको मृत्यु भएको घटनामा चिकित्सकको चरम लापर्बाही देखिएको छ। सप्तरीको बलानबिहुल गाउँपालिका–३ की संगीता साह, सिरहाको औरही गाउँपालिका–१ दरहियाकी प्रमिला यादव र सखुवानन्कारकट्टी गाउँपालिका–३ दिनाजपुर घर भई लहान नगरपालिका–१९ स्थित माइत बस्दै आएकी जानकी यादवले चिकित्सकको लापर्बाहीका कारण आफ्ना शिशु (छोरा) गुमाएका थिए।

इलाका प्रशासन कार्यालय लहानका तत्कालिन प्रमुख कमलराज भण्डारीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो। समितिले प्रमुख जिल्ला अधिकारीलाई माघ २ गते छानबिन प्रतिवेदन बुझाएको थियो। सो प्रतिवेदन अनुसार शल्यक्रियामा संलग्न डा. सुनिल बिराजीले मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण नगरेको खुलाएका थिए।  

‘पीडित पक्षले दिएको जाहेरी अनुसार इलाका प्रहरी कार्यालय लहानले इलाजसम्बन्धी महलमा मुद्दा दर्ता गरी कार्बाही अघि बढायो। तर प्रहरीले अहिलेसम्म प्रतिवादीहरुलाई समेत पक्राउ गर्न सकेको छैन। पीडित पक्षले जाहेरी दिएलगत्तै डा. बिराजीफरार छन्। बाँकी प्रतिवादी लहानमै भएपछि पक्राउ परेनन्।

स्वास्थ्य क्षेत्रमा बढ्दो बेथितिका कारण जोखिममा पर्दै गएको मानव जीवनका यी दुई घटना प्रतिनिधि मात्र हुन्। नियामक निकायको फितलो नियमनको फाइदा उठाउँदै यहाँका निजी स्वास्थ्य संस्थाबाट यस्ता घटना पटकपटक दोहोरिएका छन्।

ज्यानै जाने घटनापछि निजी स्वास्थ्य संस्थाले पीडितपक्षलाई कानुनी कार्बाहीबाट रोक्न आर्थिक लेनदेन गरेर मिलाउने गरेको स्रोतको दाबी छ। आर्थिक लेनदेनका कारण निजी स्वास्थ्य संस्थाको लापर्बाही ढाकछोप हुँदै आएको छ। आफ्नो गल्ती लुकाउन निजी स्वास्थ्य संस्थाले घटनालगत्तै पीडित र उजुरी सुन्ने निकायलाई आर्थिक प्रलोभनमा पारेर मिलापत्र गराउने गरेको स्रोत बताउँछन्।

प्रकाशित: ९ मंसिर २०७७ ०८:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App