१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

विराटनगरमा पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु

कोरोना रिपोर्ट नेगेटिभ आएको दोस्रो दिनमा बिरामीको मृत्यु

पछिल्लो २४ घण्टामा विराटनगरमा कोरोनाबाट ११ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये विराटनगरको विभिन्न अस्पतालमा उपचारका क्रममा ९ र २ जनाको घरमै मृत्यु भएको हो। यो सँगै प्रदेश १ मा एकै दिन मृत्यु हुने अहिलेसम्मकै उच्च संख्या हो।  

पछिल्लो १२ घण्टाभित्र नोबेल शिक्षण अस्पतालमा ५, कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा ३, न्यूरो अस्पतालमा १ र होम आइसोलेसनमा २ जनाको मृत्यु भएको छ। मृतकमध्ये १ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको दोस्रो दिनमै मृत्यु भएको छ। उनीहरूमा ज्वरो, निमोनिया, स्वासप्रश्वास, उच्च रक्तचाप, फोक्सो, मिर्गौला र मुटु सम्बन्धी पुरानै समस्या रहेको अस्पतालहरुले जनाएका छन्।  

तेह्रथुमको म्याङ्लुङ–१० का ५७ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार बिहान ८ः२० बजेतिर मृत्यु भएको नोबेल अस्पतालले जनाएको छ। कात्तिक २२ गते आइसोलेसनमा भर्ना गरी उपचार भइरहेको थियो।  

झापा गौरादह–५ का ६५ वर्षीय वृद्ध पुरुषको मंगलबार बिहान ८ः२५ बजेतिर मृत्यु भएको नोबेलले जनाएको छ। कात्तिक १३ गते अस्पताल भर्ना गरी उपचार भइरहेको थियो। झापाको हल्दिबारी–४ का ७० वर्षीय वृद्ध पुरुषको मंगलबार बिहान ५ः४५ बजेतिर मृत्यु भएको नोबेलले जनाएको छ। कात्तिक १५ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

उदयपुरको त्रियुगा–३ का २१ वर्षीय युवकको मंगलबार बिहान ५ः३० बजेतिर नोबेलमै मृत्यु भएको छ। कात्तिक २२ गते अस्पताल भर्ना गरिएको थियो। मोरङको रतुवामाई नगरपालिका–९ का ७७ वर्षीय वृद्ध पुरुषको मंगलबार बिहान ६ः३० बजेतिर नोबेलमै मृत्यु भएको छ। कात्तिक २२ गते स्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरी गरिएको स्वाब पिसिआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको थियो।  

सुनसरी इटहरी–५ की ६९ वर्षीया वृद्धा महिलाको मंगलबार बिहान ८ बजेतिर मृत्यु भएको कोसी अस्पतालले जनाएको छ। कात्तिक १३ गते कोरोना पुष्टि भएपछि वृद्धालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

विराटनगर–३ का ७७ वर्षीय वृद्ध पुरुषको मंगलबार बिहान ७ः३० बजेतिर मृत्यु भएको कोसीले जनाएको छ। कात्तिक २२ गते अस्पताल भर्ना गरिएको थियो।

विराटनगर महानगरपालिका–१ का ३७ वर्षीय पुरुषको मंगलबार बिहान १०ः३० बजेतिर मृत्यु भएको कोसी अस्पतालले जनाएको छ। कोरोना पुष्टि भएपछि उपचारका लागि कात्तिक १९ गते अस्पताल भर्ना गरिएको थियो।

मोरङको कटहरी–२ का ५० वर्षीय पुरुषको सोमबार राति ९ः५० बजेतिर मृत्यु भएको न्यूरो अस्पतालले जनाएको छ। निमोनियाको समस्या रहेका पुरुषलाई कात्तिक २१ गते अस्पताल भर्ना गरिएको थियो। अस्पताल भर्नापछि गरिएको पिसिआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो।

मोरङकै सुन्दरहरैँचा–७ की ७७ वर्षीया वृद्धा महिलाको मंगलबार बिहान ७ः३० बजेतिर आफ्नै घरमा मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार मात्रै कोरोना पुष्टि भएको र वृद्धा होम आइसोलेसनमै बसेकी थिइन्।  

विराटनगर–३ का ८९ वर्षीय वृद्ध पुरुषको सोमबार राति ९ बजेतिर आफ्नै घरमा मृत्यु भएको परिवारले जनाएका छन्। वृद्धलाई १७ दिनअघि कोरोना पुष्टि भएको थियो। त्यसपछि होम आइसोलेसनमै बस्दै आएका र उनको पुनः परीक्षण गराउँदा आइतबार रिपोर्ट नेगेटिभ आएको दोस्रो दिनमै वृद्धको मृत्यु भएको परिवारका एक सदस्यले बताए।  

प्रदेश १ मा कोरोना संक्रमणबाट ७९ महिलार १ सय ७७ पुरुष गरी २ सय ५६ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: २५ कार्तिक २०७७ ०८:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App