२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

बारपाकीले बन्द सडक खोलिदिए, भूकम्पको केन्द्रबिन्दु बिवाद टुंगिएन

भूकम्पको केन्द्रबिन्दुको विषयालाई लिएर गोरखाको बारपाक सुलिकोट गाउँपालिका र धार्चे गाउँपालिकाबीचको एक सातादेखिको बिवाद अझै मत्थर भएको छैन। बिवाद बढ्दै जाँदा बारपाकबासीले लाप्राक जाने सडक पाँच दिन अवरुद्ध गरे। सडक अवरुद्ध गरेर बिवाद समाधान नहुने भन्दै आईतबार सडकको अवरोध हटाईदिएका स्थानीय जित घलेले बताए।  

गाउँपालिकाका प्रमुखहरुले बिवाद समाधान गर्नमा चासो नदिएको भन्दै स्थानीयले अवरुद्ध सडक खोलेका हुन्। केन्द्रबिन्दुको विषयमा भने दुबै पालिकाबीच औपचारीक छलफल र विबाद समाधान हुन भनेको सकेको छैन।

२०७२ बैशाख १२ गतेको भूकम्पको केन्द्रबिन्दु बारपाक हो भन्ने राष्ट्रिय अन्तराष्ट्रिय रुपमा स्थापित विषयलाई धार्चे गाउँपालिकाले वडा नम्बर ४ को भिरकोट चुङ्गङडाँडा केन्द्रबिन्दु हो भन्दै तोडमोड गर्न खाजेको बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु भट्टले बताए। ‘त्यती ठूलो विषय थिएन, तर धार्चे गाउँपालिकाले सच्याउनु पर्ने विषय छ’ उनले भने ‘जिल्ला समन्वय, जिल्ला प्रशासनलाई पनि सहजिकरणका लागि अनुरोध गरेको छु।’ केन्द्रबिन्दु बारपाक नै भएको भन्दै गाउँपालिकाले धार्चेको निर्णय मान्यन हुने भन्दै बारपाक सुलिकोट गाउँपालिकाले बिज्ञप्ती निकालेको छ।  

कार्तिक १५ गते गण्डकी प्रदेशका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री विकास लम्सालले धार्चे गाउँपालिकामा ४ भिरकोटमा राखिएको ‘इपिसेन्टर’ लेखिएको बोर्ड अनावरण गरे। सोही ठाउँमा धार्चे गाउँपालिकाले ‘इपिसेन्टर ट्रेल’पनि निर्माण गर्यो । यस बारेको खबर सञ्चार माध्याम र ‘इपिसेन्टर’ लेखिएको बोर्ड सहितको तस्विर सामाजिक सञ्जालमा आउन थालेपछि बारपाकका स्थानीय आक्रोशित भए। वडा नम्बर १ र २ का स्थानीयले इपिसेन्टरको विषयमा धार्चे गाउँपालिकाले भ्रम सिर्जना गरेको वडा नम्बर २ का अध्यक्ष लालबहादुर गुरुङले बताए।  

‘पाँच दिन सडक बन्द हुँदा स्थानीयले ल्याएका दैनिक उपभोग्य सामग्री र निर्माण सामग्री बाटोमै झार्नु परेको थियो’ धार्चे ४ लाप्राकका वडा अध्यक्ष राज गुरुङले भने।  अन्यत्रबाट लाप्राक जाने सहज सडक छैन। सवारी अवरुद्ध हुँदा आउजाउ गर्न, गैरअवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गरेको गुप्सिपाखाको बस्तीको बाँकी काम सिध्याउन, खाद्यान्न ढुवानी लगायतमा समस्या भएको थियो। धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले केन्द्रबिन्दु धार्चेमा पर्छ भन्ने दावी नगरेको बताउँदै पर्यटन प्रर्वद्धन गर्न पदमार्ग निर्माण गरेर प्रचार प्रसार गरेको बताए। ‘बारपाक सुलिकोट गाउँपालिकालाई यसबारे प्रष्ट्याउँदै पठाएको छु’ अध्यक्ष गुरुङले भने।

स्थानीय जनप्रतिनिधि, गाउँपालिकाका प्रमुखलाई विवाद समाधान गर्न पटक–पटक अनुरोध गरिरहेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ देवी पाण्डे खत्रीले बताईन।  यी दुई गाउँबीचको बिवाद पहिलो भने होईन। यस अघि पनि बन क्षेत्र, पालिकाबीचको सिमानालाई लिएर बिवाद भएको थियो। जिल्ला समन्वय समितिले दुबै पक्षलाई छलफल गराएर बिज्ञ बोलाई समस्या हल गर्ने बताए पनि अहिलेसम्म कुनै काम अघि बढेको छैन। ‘विवाद यस अघि पनि सिमानाको विषयमा थियो, अहिले केन्द्रबिन्दु सहितअन्य कुरा उठेको छ’ समन्वय प्रमुख अशोककुमार गुरुङले भने ‘दुबै पालिकासँग समस्या टुङ्ग्याउने गरी छलफल गर्छौँ।’

 

 

 

 

प्रकाशित: २४ कार्तिक २०७७ ११:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App