१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नयाँ घर पाउँदा नेपाली परिवार दंग

क्याप्शन

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका वडाध्यक्ष किशोर बस्नेतको पहलमा एक विपन्न परिवारका लागि घर निर्माण गरिएको छ। विगत ६/७ वर्ष अघिदेखि बडहरेको तल्लो खोक्सेलीमा टहरा बनाएर बसिरहेका काशी नेपालीका लागि नयाँ घर निर्माण गरिएको हो। 

श्रीमती, ४ छोरा र ३ छोरीसहित बसिरहेका काशीका लागि आफैले पारिश्रमिक उपलव्ध गराउने गरी सिकर्मी र डकर्मी लगाएर नयाँ घर निर्माण गरिदिएको वडाध्यक्ष बस्नेतले बताए। नेपाली परिवार दशैंअघि निलो जस्ताको छाना हालिएको दुई कोठे घरमा ब्राह्मण पढाएर पूजापाठ गर्दै सरेका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकै मापदण्ड अनुसार बनाइएको घरमा सर्दा नेपाली परिवार दंग छन्।  

नेपालीको नयाँ घर निर्माणकाक्रममा छाना बाहेक अन्य काममा २ लाख ७० हजार खर्च भएको छ। आफै घर निर्माण गरिरहेका वडाध्यक्ष बस्नेतले नेपालीको घर निर्माणका लागि सिमेन्ट र रड उपलव्ध गराएका छन्। वडाध्यक्ष बस्नेतले नै पारिश्रमिक उपलव्ध गराउने शर्तमा लेवर र मिस्त्री घर निर्माणमा जुटेका थिए। नेपालीको नयाँ आवास निर्माणका क्रममा ट्याक्टर व्यवसायीबाट बालुवा निःशुल्क जुटाइएको छ। आवश्यक ढुंगा भने नेपाली आफैले व्यवस्था गरेको वडाध्यक्ष बस्नेतले बताए। ‘काशीलाई परिवार नै चलाउन गार्‍हो छ। घर बनाउँदा लागेको खर्च तिर्न सक्ने अवस्था पनि छैन,’ वडाध्यक्ष बस्नेतले भने, ‘लेवर र मिस्त्रीले त्यो पैसा काशीलाई होईन मलाई माग्छ। त्यसको जिम्मेवारी म आफैले लिएको छु।’  

महाभूकम्पपछि गाउँमा पुनर्निर्माण अभियान चले/चलाइए। भत्केका र चर्केका घरका ठाउँमा निलो जस्ता हालिएको घर ठडिए। तर, पुनर्निर्माण अभियानले नेपाली परिवारलाई छोएन। कारण थियो उनको ओत लाग्ने सानो छाप्रो। छाप्रोलाई भूकम्पले क्षति पुर्‍याएको देखाउन नसकिने भएपछि उनको घर पुनर्निर्माणको सूचीमा समावेस भएन। पुनर्निर्माण अभियानमा नसमेटिएका नेपाली परिवारको पुनर्वास गराउने प्रयासमा वडाध्यक्ष बस्नेतले नयाँ घर निर्माणमा अग्रसरता दिएका हुन्। करिब तीन महिनामा घर ठडिएपछि छाना भने बडहरेमा सञ्चालित ‘एक घर एक छानो’ कार्यक्रमबाट हालिएको वडाध्यक्ष बस्नेतले बताए। ‘घरको पर्खाल ठडिए पनि छाना हाल्ने काम बाँकी रह्यो,’ बस्नेतले भने, ‘एक घर एक छानो कार्यक्रमका लागि वडाबाट ५ लाख विनियोजन गरेका थियौँ। त्यही कार्यक्रमबाट सम्बोधन हुने गरी छानो हालिदिएका हौँ।’  

काशी हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा बयाक्ताका हुन्। तर विवाहपछि ससुराली गाउँकै तल्लो खोक्सेलीमा करिब एक रोपनी जग्गा किनेर झुपडी बनाएर बस्दै आएका थिए। विपन्न परिवारका नेपालीले ज्यालामजदुरीको काम गर्दै परिवारको भरनपोषण गर्दै आएका छन्। घर पुनर्निर्माण प्राधिकरणको मापदण्ड अनुसार बनाइएकाले आवास अनुदानका लागि पुनरावेदन गर्न लगाइएको वडाध्यक्ष बस्नेतले बताए।

प्रकाशित: २० कार्तिक २०७७ ०९:३८ बिहीबार

घर निर्माण