९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

चरक मेमोरियलमा कोरोना संक्रमितको उपचार हुनथाल्यो

निजी स्वास्थ्य संस्थाले पनि कोरोना संक्रमितको उपचार गर्न थालेका छन्। पोखराको नागढुंगास्थित चरक मेमोरियल अस्पतालले अहिले कोरोना संक्रमितको उपचार गर्न थालेको हो। कोरोना संक्रमितको उपचार गर्नेमा चरक मेमोरियल गण्डकी प्रदेशभित्रकै पहिलो निजी स्वास्थ्य संस्था बनेको छ। निजीले उपचार थालेपछि बिरामीलाई केही सहज भएको छ।  

एकसय शैयाको यो अस्पताल हालै मात्र संचालनमा आएको हो। अस्पतालले पहिलो चरणमा १४ शैया कोरोना संक्रमितको उपचारका लागि आइसोलसनको रुपमा छुट्याएको अस्पतालका प्रशासन प्रमुख प्रदीप शर्माले बताए। उनका अनुसार अहिले १४ शैया छुट्याएको अस्पतालले बिरामीको चाँप बढ्दै गएमा आइसोलेसन क्षमता बढाएर ३० शैयासम्म पुर्या१उन सक्ने उनले बताए।  

अहिलेसम्म यो अस्पतालमा उपचारपछि दुईजना निको भएर घर फर्केका छन्। अहिले चारजना उपचाररत रहेको शर्माले बताए। ‘कोरोना संक्रमितका लागि आवश्यक पर्ने सबै सुविधा दिएर यहाँ उपचार गर्ने हो,’ उनले भने,‘साधन श्रोतले भरिपूर्ण पारेर उपचार थालेका छौ। भएभरको शक्ति लगाएर बिरामीको उपचार गर्छौं।’  

निजी क्षेत्रको अस्पताल भएको र सरकारले कुनैपनि अनुदान नदिएकोले यहाँ उपचारका लागि आएका कोरोनाका बिरामीले हालका लागि भने महंगो शुल्क तिर्नुपरेको छ। प्रशासन प्रमुख शर्माका अनुसार यहाँ उपचाररत बिरामीले एकदिनको १५ हजार रुपैयाँ तिर्नुपर्छ। भेन्टिलेटर प्रयोगको अवस्थामा त्यो शुल्क अझै महंगो पर्न जाने उनले बताए। ‘सरकारले कुनै सुविधा दिएको छैन। हामीले बिरामीसँगै शुल्क लिएरै स्वास्थ्यकर्मीलाई आवश्यक सामाग्रि (पीपीइ, मास्क) दिएर उपचारमा पठाउने हो,’ उनले भने, ‘बाहिरबाट हेर्दा महंगो देखिन्छ। तर, सरकारबाट कुनै छुट नपाएकोले त्यसको भार बिरामीलाई परेको हो।’  

उनका अनुसार अस्पतालमा कोरोनाका बिरामीका लागि उपचारमा खटिएको टिममा एकजना चिकित्सक सहित आठजनाको समूह खटिएको हुन्छ। त्यो समुहले नियमित १५ दिन काम गरेपछि उनीहरुको ठाउँमा नयाँ समूह आउँछ। नयाँ टिम आउँदा पुरानो टिम होम आइसोलेसनमा बस्ने र सातदिनपछि पिसिआर गरिन्छ। पिसिआर परीक्षणमा नेगेटिभ रिजल्ट आएपनि थप ७ दिन आराम गरेर बल्ल ड्यूटिमा फर्किने उनले बताए।  

 

प्रकाशित: २९ भाद्र २०७७ १०:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App