१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

मृत्यु हुनेमध्ये १८ प्रतिशत उपत्यकामा

कोरोना कहर

कोरोनाबाट मृत्यु हुनेमध्ये १८ प्रतिशतको मृत्यु काठमाडौं उपत्यकामा भएको छ। उपत्यकाका तीन जिल्लामा मंगलबारसम्म ५७ जनाको मृत्यु भएको छ। ती मध्येमा ३४ जना पुरुष र २३ जना महिला छन्। तीमध्ये काठमाडौंमा ४०, ललितपुरमा ७ जना र भक्तपुरमा १० जना छन्।

मृत्यु हुनेमा ६० वर्षमाथिका ४० र ६० वर्षमुनिका १७ जना छन्। १७ जना ६० वर्षमुनिको समूहमा २२ देखि ५७ वर्षभित्रका छन्। ६० वर्षमाथिकामा धेरै जसो ६५ वर्षमाथिका छन्। उपत्यकामा कोरोनाबाट बालबालिकाको मृत्यु भएको तथ्यांकमा उल्लेख छैन।

बिबरणमा उल्लेख भए अनुसार ६० वर्षदेखि ९९ वर्षभित्रका वृद्धाहरुको संख्या बढी देखिन्छ। उपत्यकामा हालसम्म ८ हजार ९ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये काठमाडांैमा ७ हजार २ सय १७, ललितपुरमा ९ सय ७७ र भक्तपुरमा ७ सय ८२ जना छन्। संक्रमितमध्येमा ६० देखि ६५ प्रतिशत २० देखि ५० वर्षभित्रका रहेको र ७२ प्रतिशत २० देखि ५० वर्षभित्रका रहेको राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। कुल संक्रमितमध्ये ६० देखि ६५ प्रतिशत पुरुष र ३० देखि ३५ प्रतिशत महिला रहेको महाशाखाले जनाएको छ।

मृत्यु हुनुको कारणमा धेरै जसो दम, उच्चरक्तचाप, मधुमेह, मिर्गौलाका बिरामी र क्यान्सरका दीर्घरोगी रहेको विवरणमा उल्लेख छ। उपत्यकामा कोरोनाबाट पहिलो मृत्यु जेठ १० गतेदेखि सुरु भएको देखिन्छ। तर उल्लेखनीय संख्यामा मृत्यु हुन थालेको भने साउनको दोस्रो सातादेखि हो। पहिलो लकडाउन खुलेलगत्तै उपत्यका भित्रकै संक्रमितको मृत्युदर बढ्न थालेको हो।

काठमाडौंमा एक महिनाको अवधिभित्र धेरेको संख्यामा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पहिलो चरणको संक्रमणमा बैदेशिक रोजगारीबाट फर्केकाहरुमा मात्र संक्रमण भएकोले कम मृत्यु भएको र दोस्रो चरणमा समुदायमै संक्रमण फैलिएका कारण उपत्यकामा संक्रमण बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन्।

सरकारले समुदायमा कोरोना संक्रमण नियन्त्रण प्रयास–गर्दा–गर्दै भएको १८ प्रतिशत मृत्यु दुःखदायी भएको अधिकारीले बताए। उपत्यकामा दोस्रो लकडाउन नभएको भए यो संक्रमण चौगुणा बढेर मृत्युदर थप बढ्ने स्थिति थियो। ‘दोस्रो कलडाउन नभएको भए उपत्यकामा चौगुणा संक्रमण र दोब्बर मृत्यु हुन्थ्यो,’ उनले भने।

मन्त्रालयका विज्ञ महेन्द्रप्रसाद श्रेष्ठका अनुसार दोस्रो चरणको संक्रमण ९० प्रतिशत समुदायका स्थानीय व्यक्तिको छ। उनीहरुमा संक्रमण फैलिएकै कारण छोंटो अवधिमा दीर्घरोगी, बृद्ध–बृद्धाको बढी मृत्यु हुन गएको हो। विकसित देशमा समेत कोरोना भाइरसले जोखिम समूहको धेरै प्रतिशतमा मृत्यु भएको अवस्थामा नेपालमा समेत त्यसको प्रभाव परेको श्रेष्ठको तर्क छ। ‘अमेरिका जस्ता शक्तिशाली राष्ट्रहरुले रोक्न सकेनन्, हामीले प्रयास गरेका हौं,’ श्रेष्ठले भने।

संक्रमितभन्दा निको हुने दोब्बर
गत शनिवारदेखि यता नेपालमा नयाँ संक्रमितको संख्या भन्दा निको हुनेको संख्या दोब्बर हुन थालेको छ। तथ्यांकअनुसार शनिबार निको हुनेको संख्या १५ सय ६६ यियो भने नयाँ संक्रमित १ हजार ४१ थियो। त्यसैगरी आइतबार यो संख्या १८ सय १४ जना थिए भने नयाँ संक्रमित ९ सय ८० जना छन्। सोमवार निको हुने संख्या १७ सय ३६ जना छन् भने नयाँ संक्रमित ९ सय ७९ जना छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार ६ दिनको अवधिमा निको दर १२ प्रतिशत बढेको छ। भदौ १८ गते निको हुने दर ५६ थियो भने मंगलबारसम्म आइपुग्दा ६८ प्रतिशत पुगेको छ।

यसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सकारात्मक सुधार भएको बताएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले भने, ‘संक्रमित हुने दरको तुलनामा निको हुनेको संख्या केही दिनदेखि बढिरहेको छ, यो सुधार भएको स्थिति हो’। छिमेकी राष्ट्र तथा अन्य राष्ट्रको तुलनामा नेपालमा अहिले पनि मृत्यु हुने दर कम रहेकोले निको हुनेको दर बढिरहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए। तथ्यांकअनुसार अन्य देशमा मृत्यु हुनेको दर २ देखि ४ प्रतिशतसम्म छ भने नेपालमा ०.६ प्रतिशत छ।

थप ६ जनाको मृत्यु
गत २४ घण्टामा थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। थपसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ६ पुगेको छ। त्यस्तै थप ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थपसहित नेपालमा कुल संक्रमित संख्या ४८ हजार १ सय ३८ पुगेको छ। नयाँ संक्रमित हुनेमा काठमाडौं उपत्यकामा ३ सय ९६, कैलालीका ७७, मोरङका ५१, सुनसरीमा ३८ र धनुषामा ३३ जना छन्। कुल संक्रमितमध्ये गत २४ घण्टामा थप २२ सय ८७ जना जना निको भएका छन्। योसहित नेपालमा निको हुनेको संख्या ३२ हजार ९ सय ६४ पुगेको छ।

प्रकाशित: २४ भाद्र २०७७ ०१:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App