४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

चितवनमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

चितवनमा कोरोना संक्रमण (कोभिड १९) बाट थप दुई जनाको मृत्यु भएको छ। चितवन मेडिकल कलेज र पुष्पाञ्जली हस्पिटल प्रा लिमा मृत्यु भएको हो। चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा उपमहानगरपालिका–१९ की ७१ वर्षीया महिलाको शुक्रबार बिहान ६:५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।  

अस्पतालका निर्देशक डा.दयाराम लम्सालका अनुसार श्वासप्रश्वासको समस्या भइ जटिल अवस्थामा भदौं ७ गते विहान चितवन मेडिकल कलेजको इमरजेन्सी विभागमा उपचारका लागि ल्याइएको थियो। सोही बेला कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि उनलाई अस्पतालको सघन कक्षमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।  

त्यस्तै भरतपुर–१० स्थित श्री पुष्पाञ्जली अस्पतालमा उपचाररत संक्रमितको पनि मृत्यु भएको अस्पतालले जनाएको छ। भरतपुर महानगरपालिका–२ का ५१ वर्षीय पुरुषको शुक्रबार विहान १० बजे मृत्यु भएको अस्पतालका फिजिसियन तथा कोभिड–१९ फोकल पर्सन डा.सन्दिप पाण्डेले जानकारी दिए। डा.पाण्डेका अनुसार ती पुरुष लामो समयदेखि फोक्सोको दमको बिरामी रहेको र अस्पतालमा भर्ना हुने समयमा पनि दुवै फोक्सोमा गम्भिर निमोनिया देखिएको कारणले भेन्टिलेटरमा राखी उपचार गराइएको थियो।  

भदौ ५ गते बिहान श्वासप्रश्वासमा गम्भीर समस्या भएपछि अस्पताल भर्ना भएका ती पुरुषको भदौं ८ गते राति भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो। भेन्टिलेटरमा उपचार गर्दागर्दै बिरामीको मृत्यु भएको अस्पतालले जनाएको छ।

 

प्रकाशित: १२ भाद्र २०७७ ०७:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App