२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

१० रोपनी जग्गामा लगाइएको गाँजा प्रहरीद्वारा नष्ट

प्रहरीले खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा अवैध रुपमा लगाइएको गाँजा फँडानी गरेको छ। ईलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक दिनेशप्रसाद खरेलको कमाण्डमा खटिएका ११ जनाको प्रहरी टोलीले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको ऐसेलुखर्क, गुराँसे लगायतका स्थानमा लगाइएको ६ सय बोट गाँजा नष्ट गरेको हो। करिब १० रोपनी जग्गामा लगाइएको गाँजा सोमबार फँडानी गरिएको प्रहरीले जनाएको छ।  

कोरोना भाइरसको महामारीका बेला हुन सक्ने घरेलु हिंसा लगायतका सामाजिक अपराधलाई निस्तेज पार्नका लागि परिचालन भएका क्रममा प्रहरीले गाँजा फेला पारेर फँडानी गरेर नष्ट गरेको हो। कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि जनचेतना फैलाउनका लागि समेत नगरपालिकामा गस्ती बाक्लो बनाइएको प्रहरी निरीक्षक खरेलले जानकारी दिए।  

जिल्ला प्रहरी कार्यालयले केही वर्ष यता जिल्लामा गाँजा फँडानी अभियानलाई जारी राखेको छ। विगतका वर्ष हलेसी तुवाचुङ नगरपालिकाको हलेसी, दुर्छिम, डिकुवा, बडहरे, बाहुनीडाँडा, मंगलटार, च्यास्मीटार लगायतका ठाउँमा गाँजा खेती लगाउने गरिएकामा प्रहरीले नष्ट पार्न थालेपछि पछिल्लो समय गाँजा खेतीमा केही कमी आएको छ।  

प्रतिकेजी कम्तीमा पाँच हजार रुपैयाँमा घरैबाट बिक्री हुने तथा ठेकेदारले ५० हजारदेखि एक लाखसम्म अग्रिम पेश्की दिने गरेकाले किसानले अवैध गाँजाको खेतीमा जोखिम मोल्ने गरेका छन्। उदयपुरबाट आउने ठेकेदारले अग्रिम भुक्तानी दिएर किसानलाई गाँजाको खेतीतर्फ उक्साउने गरेका थिए। सुक्खाग्रस्त क्षेत्रमा पर्ने र अन्यबाली कम उव्जाउ हुने सो क्षेत्रका किसानले व्यवसायीक रुपमा गाँजा खेती गर्ने गरेका छन्।

प्रकाशित: ९ भाद्र २०७७ ११:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App